व्यवसायी र सिटिसी मल व्यवस्थापनको विवादले मोवाइल एक्स्पो स्थगित, नयाँ मितिको टुङ्गो छैन

बिजमाण्डू
२०७१ भदौ ६ गते ००:०० | Aug 22, 2014

 काठमाडौं । न्यू मोबाइल मार्केट समूह र सिभिल ट्रेड सेन्टर (सिटिसी) मल बीच विवाद उत्पन्न भएपछि १२ गतेदेखि हुन लागेको मोबाइल एक्स्पो केही समयको लागि रोकिएको छ । सिटिसीले आफ्नो भवनको तेस्रो तलामा न्यू मोबाइल मार्केट समूह भन्दा अर्कै समूहलाई मोबाइल पसल सञ्चालन गर्न दिएपछि विवाद सुरु भएको हो ।
सिटिसीले चौथो र पाँचौ तलामा न्यू मोबाइल मार्केटलाई दिए पछि अरु फ्ल्याटमा मोबाइल पसल खोल्न नदिने सम्झौता तोडेको समूहका अध्यक्ष पुरुषोत्तम बस्नेतले दाबी गरे । सिटिसीले अहिले एक्कासी तेस्रो तलामा आफ्नो समूहबाहेक अरुलाई मोबाइल पसल चलाउन दिएको उनले बताए ।
'सुरुमा हामीसँग एग्रिमेन्ट गर्दा यो भवनमा अरु कसैलाई मोबाइल पसल चलाउन दिँदैनौँ भनेर भनेका थिए, तर पछि हामीलाई थाहै नदिइ तेस्रो तलामा मोबाइल बजार खोल्न दिइएछ' बस्नेतको भनाइ छ ।
बस्नेत समूह चौथो र पाँचौ तलामा मोबाइल पसल तथा सर्भिस सेन्टर खोल्ने अन्तिम तयारीमा छ । यिनै दुई तलामा १२ भदौ देखि मोबाइल एक्स्पो आयोजनाको तयारी गरिएको थियो । आफ्नो समूह भन्दा अर्कै समूह सिटिसीमा छिरेपछि बस्नेत समूहका व्यापारी आफ्नो भाग अरुले लैजाने भो भनेर आत्तिएका हुन सक्ने न्युरोडका एक मोबाइल व्यापारीले बताए ।
तर, अध्यक्ष बस्नेत भने अर्को समूहले मोबाइल पसल चलाएपनि आफूलाई केही फरक नपर्ने बताउँछन् । 'प्रतिस्पर्धात्मक व्यवसायको जमानामा अरु पनि व्यवियामा आए हामी स्वागत गर्छौँ तर सिटिसी मलले सम्झौता तोडेकोमा हाम्रो आपत्ती छ' उनले बिजमाण्डूसँग भने ।
उनले सिटिसीले अर्को समूहलाई पसल चलाउन दिएपछि आफूहरुले आयोजना गर्न लागेको एक्स्पोको तयारी गर्न समय नपुगेकोले एक्स्पो सार्नु परेको बताए । उनले भने, 'दुईतीन दिन एक्स्पोको तयारी गर्न हामीले पाएनौँ, जसले गर्दा १२ गते भित्र सबै तयारी पूरा गर्न असम्भव देखियो र यही महिना भित्र एक्स्पो गर्ने गरि स्थगित गरेका छौँ।'
उनले कति गतेदेखि एक्स्पो सुरु हुने यकिन मिति तय नभए पनि भदौको तेस्रो सातादेखि गर्ने गरि तयारीमा आफू लागेको बताए । समूहले नेपाली हिन्दू महिलाहरुको तीज पर्वको अवसर पारेर भदौ १२ देखि २१ गतेदेखि एक्स्पो गर्न लागेको थियो ।
एक्स्पोमा उपभोक्ताहरुले ७ देखि ७० प्रतिशतसम्म छुट दिइने बताइएको थियो । एक्स्पोमा सामसुङ, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, अल्काटेल, आइफोन, स्पाइस, यसुदा, मोटोरोला, एचटिसी, जी फाइभ, एचटिसी, फ्लाइ, इन्टेक्स र वीम्पकम लगायतका कम्पनीबाट उत्पादित मोबाइलको एक्स्पो हुँदै थियो ।
 

Tata
GBIME
Nepal Life