बर्षौदेखि आइपिओ अनुमति मागेका पाँचमध्ये चारले स्वीकृति नपाउने, एनआइडिसीलाई अर्थले रोक्याे

बिजमाण्डू
२०७१ भदौ ७ गते ००:०० | Aug 23, 2014
बर्षौदेखि आइपिओ अनुमति मागेका पाँचमध्ये चारले स्वीकृति नपाउने, एनआइडिसीलाई अर्थले रोक्याे
विजयराज खनाल/बिजमाण्डू 
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा पाँच बर्षदेखि पाँच वटा कम्पनीले प्राथमिक सेयर निष्कासनको अनुमती माग्दै आवेदन दिएका छन् । आवेदन दिएका पाँच मध्ये चारले सेयर निस्कासनको अनुमति नपाउने पक्का भइसकेको छ ।
 
वोर्डमा इन्भेष्टा फाइनान्स, सिटी होम्स्, राजधानी इन्भेष्टमेन्ट फण्ड, नेपाल इन्डष्ट्रियल डेभलपमेन्ट (एनआइडिसी डेभलपमेन्ट बैंक) ले बिसं २०६६ देखि सेयर निष्कासनको अनुमती माग गरेका हुन् । मर्कन्टाइल फाइनान्सले पनि २०६७ देखि सेयर निष्कासन अनुमती मागे गरेको छ । यसमध्ये एनआइडिसीले सेयर निस्कासनको अनुमति पाउने सम्भावना भएपनि बाँकीले नपाउने निश्चित भइसकेको छ । 

 
किन अनुमति नदिइएको ?
अनुमति माग गरेका इन्भेष्टा फाइनान्स, सिटी होम्स्, राजधानी इन्भेष्टमेन्ट फण्ड र मर्कन्टाइल फाइनान्सलाई वोर्डले अनुमति नदिने पक्का भइसकेको छ ।
 
सिटी होम्सको अस्तिवत्व अहिले सकिसकेको छ भने इन्भेष्टा फाइनान्स बन्द नै भइसकेको छ । यसैगरी राजधानी इन्भेष्टमेन्ट फन्ड केही व्यक्तिहरुको समूहले सञ्चालन गरेको भन्दै वोर्डले उसको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । मर्कन्टाइल फाइनान्स पनि स्वेक्षिक खारेजीमा गइसकेकाले उसको अस्तित्व समाप्त भइसकेको छ ।
 
सिटी होम्स् लिमिटेड
धितोपत्र बजारमा बास्तविक क्षेत्रको उल्लेख्य उपस्थिति बढ्न नसकेको गुनासो आइरहदा बिसं २०६६ बैसाख २१ गते प्रारम्भिक निष्काशन (आइपीओ) का लागि सिटी होम्स्ले निवेदन दिएको थियो । रियल स्टेट क्षेत्रबाट पहिलो प्रतिनिधिका रुपमा वोर्डमा निवेदन दिएको कम्पनीको अहिले लगभग अस्तित्व समाप्त भइसकेको छ । 
 
कम्पनीको मुख्य लगानीकर्ताको रुपमा इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक रहेको थियो । त्यो समय इन्फ्रास्ट्रक्चरको सेयर नेप्सेमा सूचीकृत नभएकोले बैंकले आफ्नो स्वामित्व हटाउनु पर्ने भयो । कम्पनीले जारी गर्न लागेको चार करोड ५० लाख रुपैयाँको सेयर बिक्री नभएमा प्रत्याभुती गरिदिने अण्डरराइटर भेटिएको थिएन । 
 
इन्फ्रास्ट्रक्चरमा रहेको सेयर डेढ दर्जन सहकारीले खरिद गरे । सगरमाथा सहकारी, नागरिक बचत तथा ऋण सहकारी, सस्टेनेबल इन्भेष्टमेन्ट लगायतका केही सङ्स्थागत सहित कुल ४८ जना सङ्स्थापक सेयर सदस्य रहेका थिए । कम्पनीको मुख्य लगानीकर्ता इच्छाबहादुर वाग्ले हुन् । 
 
एक अर्ब २५ करोड रकमको लगानी सहित सिटी होम्स्ले हात्तिवनमा रहेको ४० रोपनी जग्गामा तीन अर्पाटमेन्ट र ८० हाउजिङ् निर्माण गर्ने लक्ष्य लिएको थियो । तर त्यो सफल नभएपछि होम्स्ले अपार्टमेन्ट निर्माणको कामपछि सारेर हाउजीङ्लाई प्राथमिकता दिएको थियो । होम्स्ले सेटलाइट सिटी नाम दिएको यो योजनाको अधिकृत पूजी एक अर्ब, जारीपूजी १५ करोड र चुक्तापूजी १० करोड ५० लाख हुने भनिएको थियो । 
 
धापाखेलमा खरिद गरेको जग्गामा कम्पनीको पूँजी फसेपछि अहिले कम्पनीले केही गर्न सक्ने अवस्था छैन । हाल कम्पनीसँग हेटौडामा केही रोपनी जग्गा रहेको छ । अहिले कम्पनीको नाममा भएको सम्पत्ती त्यतिनै हो । वाग्ले विरुद्ध अदालतमा मुद्धा परेको छ भने सिटी होम्सले आफ्ना कर्मचारीलाई समेत तलब दिन सकेको छैन ।
इन्भेष्टा फाइनान्स 
इन्भेष्टा फाइनान्सले बिसं २०६६ साउन ३२ गते एक करोड ६० लाख रुपैयाँको प्राथमिक सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बीरगन्ज आर्दशनगरमा मुख्य कार्यालय राखेर सञ्चालनमा आएको फाइनान्स अहिले बन्द भइसकेको छ । 
 
२४ करोड चुक्तापूँजी रहेको कम्पनीले आर्थिक बर्ष २०६४/६५ को दोस्रो त्रैमाशमा छ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले १६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ८४ करोड कर्जा लगानी गरेको थियो । कम्पनी स्वेक्षिक खारेजीमा गएकाले सेयर निस्कासनको बिषय त्यही टुङ्गिएको हो ।
 
राजधानी इन्भेष्टमेन्ट फण्ड 
ठूला सेयर खेलाडीको रुपमा चर्चित निर्मल प्रधानको कम्पनी हो, राजधानी इन्भेष्टमेन्ट फण्ड । फण्डले बिसं २०६६ फागुनमा नै सेयर निष्कासनको अनुमती मागेको थियो । १२ करोड ३२ लाख रुपैयाँ सेयर निष्कासनको अनुमती माग गरेको फण्डलाई धितोपत्र बोर्डले नै निष्कासन अनुमती नदिने निर्णय गरिसकेको छ । 
 
केही व्यक्ति मिलेर बनाइएको फण्डलाई सेयर निष्कासन अनुमती दिन नमिल्ने, यसले सर्वसाधारणको पूँजी जोखिममा पर्न सक्ने तर्क दिँदै बोर्डले निस्कास अनुमति नदिएको हो । बोर्डले म्युचुअल फण्डको रुपमा काम गर्दै सर्वसाधारणबाट रकम संकलन गरेको आरोपमा समेत कम्पनीलाई कारवाही गरेको थियो । 
 
पछिल्लो समय निर्मल प्रधान र लक्ष्मीबहादुर श्रेष्ठबीच भएको नेपाल बंगलादेश बैंकको सेयर सम्वन्धि व्यक्तिगत करोबारमा समेत कम्पनी मुछिएको थियो । 
 
मर्कन्टाइल फाइनान्स
मर्कन्टाइल फाइनान्सले बिसं २०६७ साउनमा एक करोड ८० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बोर्डमा अनुमती मागेको थियो । बिरगन्जमा मुख्य कार्यालय राखेर सञ्चालनमा आएको फाइनान्सको आर्थिक बर्ष २०६४/६५ को दोस्रो त्रैमाशमा १८ करोड चुक्तापूँजी थियो । 
 
कम्पनीले त्यतिखेर छ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ३७ करोड कर्जा लगानी गरेको थियो । यो कम्पनी पनि स्वेक्षिक अवकाशमा गइसकेको छ ।
 
एनआइडीसी डेभलपमेन्ट बैंक
एनआइडीसी डेभलपमेन्ट बैंकले १८ करोड ४१ लाख ७६ हजार छ सय रुपैयाँको फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन गर्ने जनाएको छ । बैंकले बिसं २०६६ साल चैतमा नै धितोपत्र बोर्डमा अनुमती माग गरेको हो । सरकारी स्वमित्वको बैंकले एफपिओको स्वीकृतीका लागि अर्थमन्त्रालयमा समेत आवेदन दिएको छ ।

Tata
GBIME
Nepal Life

हालसम्म बैंकले मन्त्रालयबाट यसको स्वीकृती पाएको छैन, यही कारणले वोर्डबाट  स्वीकृति नपाएको हो । ‘ख’ वर्गको विकास बैंकको रुपमा सञ्चालनमा रहेको एनआइडिसीले आन्तरिक प्रकृया सकेमा वोर्डबाट स्वीकृति पाउने सम्भावना छ ।