काठमाडौं-हेटौडा सुरुङ मार्गलार्इ तीन क्यानेडियन कम्पनीको २७ अर्ब ऋण, तीन महिनामा निर्माण सुरु

बिजमाण्डू
२०७१ भदौ ७ गते ००:०० | Aug 23, 2014
काठमाडौं-हेटौडा सुरुङ मार्गलार्इ तीन क्यानेडियन कम्पनीको २७ अर्ब ऋण,  तीन महिनामा निर्माण सुरु


काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी र क्यानेडियन कम्पनीबीच काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको लागि ऋण लिने  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Tata
GBIME
Nepal Life

नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र इन्फ्राब्याङ्क्स् कर्पोरेसन, सेज ग्लोबल क्यानडा र ग्लोबल फिनान्सियल एसोसिएट्स् क्यानडाका प्रतिनिधिबीच शनिबार राजधानीमा आयोजित कार्यक्रममा २८ करोड अमेरिकी डलर (करिव २७ अर्ब रुपैयाँ) बराबरको ऋण लिनेदिने सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपाली कम्पनीले यो ऋण १५ वर्ष भित्र तिर्ने गरि लिएको हो । तर पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीका अनुसार नेपाली कम्पनीले साढे आठ वर्षमा भित्र नै लिइएको ऋण तिर्ने लक्ष्य लिएको जानकारी दिए । यसको व्याजदर भने जोशीले खुलाउन चाहेनन् ।

उनले लण्डन इन्टरब्याङ्क अफर्ड रेट अनुसार ऋणको व्याजदर तोकिने बताए । उनले भने, 'योजना सम्‍पन्न भएको साढे आठ वर्षमा सबै ऋण चुक्ता गर्ने योजना राखेको जानकारी दिए । तर सकिएन भने पनि १५ वर्षसम्ममा सबै ऋण तिरिसक्छौँ ।' स्थानीय तथा अन्य लगानीकर्ताले गरेको लगानीबाट उठेको मुनाफाबाट ऋण तिर्ने जोशीले जानकारी दिए ।

आयोजना ८० प्रतिशत ऋण र २० प्रतिशत नेपाली लगानीकर्ताबाट उठेको रकमबाट आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जोशीले जानकारी दिए ।   नेपालमा पहिलोपटक लगानी गर्न आएको क्यानेडियन कम्पनीहरुले नेपालमा लगानीको सुरुवात मात्रै भएको बताए ।

अन्य क्षेत्रमा पनि यसैगरि लगानी बढाउँदै जाने उनीहरुले जानकारी दिए । सेज ग्लोबल क्यानडाका अध्यक्ष तथा प्रमुख कार्यकारी इन्भर सेजले नेपालमा लगानी गर्नु सुखद भएको बताए । उनले भने, 'नेपालमा लगानी गरेको यो सुरुवात मात्रै पनि होइन र अन्त्य पनि होइन । अरु क्षेत्रमा पनि लगानी गर्दै जानेछौँ ।'

क्यानेडियन तीन कम्पनीले विभिन्न देशमा भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा लगायतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । नेपालमा लगानीको धेरै सम्भावना भएकोले  नेपाललाई लगानीको नयाँ गन्तव्यको रुपमा छनौट गरेको ग्लोबल फिनान्सियल क्यानडाका अध्यक्ष साम बाउजीले बताए ।

उनले भने, 'हामीले धेरै देशमा लगानी गरेका छौँ । अनुभव र कामको दक्षतालाई नेपालमा प्रयोग गरौँ भनेर अगाडि बढेका हौँ । नेपालमा राम्रो काम हुनुपर्‍यो हामी जुनसुकै क्षेत्रमा लगानी गर्न तयार छौँ, सहकार्य गर्न तयार छौँ, उनले भने ।

अहिलेसम्म लगानी नजुटेको भन्दै धेरैले यो आयोजना अन्योल र असम्‍भव देखिएको बताउँदै आएका थिए । तर ऋण सम्झौतामा हस्ताक्षर भएपछि आयोजना बन्नेमा आफूहरु शतप्रतिशत विश्वस्त भएको जोशीले बताए । उनले भने, 'अब आयोजना नबन्ने प्रश्न नै आउँदैन । यो सम्झौतासँगै आयोजना सुरु भयो भने पनि हुन्छ ।'  

आयोजनाको काम तीन महिनाभित्र सुरु गर्ने जोशीले जानकारी दिए । उनका अनुसार सम्झौतापछि सरकारी कागजात तयार पार्न, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लगायतका काम सल्टाउन तीन महिना लाग्ने र त्यसपछि काम नै सुरु गर्ने योजना छ,  उनले भने  । हामी तीन महिनाभित्र कागजी काम सकाएर ६ महिनापछि काम नै सुरु गर्छौं ।

काम सुरु गरेको तीन वर्ष भित्र आयोजना पुरा हुने दाबी जोशीले गरेका छन् । काममा सरकार, स्थानीय र सबै नेपालीको साथ पाइएकोले काममा कुनै अवरोध हुनेछैन, ' उनले भने, 'यसरी सरासर काम गर्दा तीन वर्षमा हामी काम सक्छौँ । त्यसपछि सबैले यो बाटो प्रयोग गर्न सक्छन् ।'

काठमाडौंबाट कुलेखानी हुँदै हेटौडा निकाल्न लागिएको सुरुङ मार्ग ५८ किलोमिटर लामो छ । यो मार्ग प्रयोग गरेर हेटौडा पुग्न प्रतिकिलोमिटर ६० किलोमिटर प्रतिघण्टाको दरले सावारीसाधन चलाए मात्रै पनि एक घण्टा भन्दा बढी समय लाग्दैन । अहिले काठमाडौंबाट हेटौडा पुग्न तीनदेखि सात घण्टासम्म लाग्छ ।