पञ्चकन्यालाई पब्लिकमा रुपान्तरण प्राथमिकता हो, प्रवन्ध निर्देशक श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ भदौ ८ गते ००:०० | Aug 24, 2014
पञ्चकन्यालाई पब्लिकमा रुपान्तरण प्राथमिकता हो, प्रवन्ध निर्देशक श्रेष्ठको अन्तर्वार्ता
क्लिंकर खानी सहितको परियोजनाको कुल लागत तीन/चार अर्ब रुपैयाँ हुन्छ । हामी पञ्चकन्यासँग मात्र त्यत्रो पैसा छैन । आँट र बुद्धि चाहिँ छ । त्यसकै आधारमा यहाँ सम्मको यात्रा तय गरेका हौं । हामीले सिमेन्ट परियोजनाका लागि पब्लिकमा गएर रकम उठाउने सोंच बनाएका छौं । आम जनतालाई आबद्ध गराएर म्यानुफ्याक्चरिङ उद्योग चलाउने हाम्रो सपना पनि हो ।

जलविद्युतमा आँट पनि चाहिँछ, गाँठ पनि चाहिन्छ । कता हो कता धेरै गाँठ चाहिन्छ भन्ने पनि होइन । हाम्रो सन्दर्भमा कुरा गर्दा बैंकसँगको पञ्चकन्याको गुडविलले सघाएको छ । बैंकहरुले फाइनान्स गर्ने बताएपछि आँट आयो । तर, सबै साथीहरुको सन्दर्भमा त्यो नहुन सक्छ । धेरै साथीहरु जोखिम उठाउन चाहनुहुन्न । वास्तवमा विजनेश भनेको केहि न केहि जोखिम त अनिवार्य हुन्छ

सँधैं एक कदम अगाडी, भन्ने हाम्रो मन्त्र छ । यो मन्त्र सार्थक पार्न नयाँ प्रविधि भित्र्याउँदा हामी बजारमा रिसर्च गर्छौं । जोखिम उठाउँछौं । त्यसपछि अरुले त्यहि बाटो पछ्याउँछन् । पायोनियर भनेको पायोनिरयनै हो । त्यसमा ‘पेन’ पनि छ । ‘प्लेजर’ पनि छ, । अहिले पनि मेरो दिमागमा दुई/चारवटा साँच्चिकै आकर्षक परियोजना छन् । जुन हामीले गर्यौं भने पहिलो नै हुन्छौं र केहि समयमा गर्न सक्छौं भन्ने विश्वास पनि छ


म एउटा यस्तो उद्योगी हुँ जसले सबै जना निराश भएको बेला समेत आश जगाउने काम गरें । अहिले कसले कसरी सम्झन्छ थाहा छैन तर सबै हतास भएको बेला पनि पञ्चकन्या सिथिल बनेन । मैले नचाहिँदो काम गरें भने पो डराउने त । तर, विना कारण कसैले मेरो उद्योगमा हड्ताल गर्छ वा काम गर्न रोक्छ भने विनाकारण म किन सहन्छु र ? म पनि नेपाली नागरिक हो । मैले कहिल्यै पनि नेपाल गरिब छ भनेको छैन । गरिबी हाम्रा नेताहरुको सोचमा छ


पञ्चकन्या समूहका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ उत्पादनमूलक उद्योगमा नयाँ सोंच राख्छन् । जसका कारण स्थापनाको चार दशकमा पञ्चकन्याले तिव्र वृद्धि गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र प्रभात भट्टराईले सोधे, के पञ्चकन्याको आक्रमक विस्तार योजना सुस्ताएका हो ?

Tata
GBIME
Nepal Life

पञ्चकन्या समुहको आधार भनेको उत्पादनमुलक उद्योग हुन्, तर सुरुमा जसरी एकपछि अर्को उद्योग ल्याएर आक्रामक विस्तार गर्नु भयो अहिले त्यसमा सुस्तता देखियो ?
हाम्रो चार दशकको इतिहासमा म्यानुफ्याक्चरिङ ग्रुपको रुपमा नै चिनिएको हो । त्यसमा पनि निर्माण सामग्री उत्पादनमा हाम्रो विषेश पहिचान छ । कुनै देशको विकास तब झल्किन्छ जब व्यक्ति÷व्यक्ति निर्माण सामग्री खपत बढ्न थाल्छ । जुनसुकै सरकार आए पनि समानता देखिने भनेको विकासकै एजेन्डामा हो । कसैले पनि विकासलाई नकार्न सक्दैनन् । यस्तो अवस्थामा पनि आफ्नै ग्रोथको एउटा फेजमा हामी छौं । पछिल्लो चार/पाँच बर्षमा पनि हाम्रो नयाँ उद्योग नआएको त होइन । वर्षेनी वा एक बर्ष विराएर एक/एक वटा उद्योग थप्ने मेरो भिजन नै थियो । त्यस अनुरुप दुई बर्ष अघि पनि नयाँ उद्योग ल्यायौं । सन् १९९० देखि २०१४ को बिचमा हामीले जति पनि उद्योग ल्यायौं त्यसलाई संख्यामा हेर्ने हो भने सन्तोषजनक छ पनि । त्यसैले अहिले हामीले हाम्रोे म्यानुफ्याक्चरिङ क्षेत्रमा संख्या भन्दा पनि क्षमता विस्तारलाई प्राथमिकता राखेका छौं ।
अर्कोतिर पछिल्ला केहि बर्षदेखि जलविद्युतमा लगानी गर्न थालेका छौं र यसमा नै हाम्रो मुख्य फोकस छ । इलाममा माथिल्लो माइ जलविद्युत परियोजना आउँदो आठ/नौ महिना भित्रै सञ्चालनमा ल्याउने तयारी गरेका छौं । १० मेगावाटको यो परियोजना बने लगत्तै थप ६/७ मेगावाटको त्यसको क्यासकेड परियोजना सुरु गर्छौं । यसरी १६÷१७ मेगावाटको परियोजना अघि बढाएका छौं । जलविद्युत नेपालको आर्थिक विकासको इन्जिन देखिएको हुँदा पनि हामीले यसतर्फ ध्यान दिएका हौं । यसबाट लगानीकर्तालाई पनि दिगो र भरपर्दो प्रतिफल प्राप्त हुन्छ । त्यसैले पनि क्षेत्रमा आक्रामक ढंगले नआएको देखिएको हुन सक्छ । तर, मैले हाम्रो ग्रोथ प्याटर्न हेर्दा, विकास र लगानीको विविधिकरण हेर्दा उत्साहवद्र्धक छ ।

बुटवल पावर (बिपिसी)को सेयरहोल्डर बनि सके पछि तपाइँलाई हाइड्रोपावरले तानेको हो ?
हो । झन्डै १२/१५ बर्ष अगाडी हाइड्रोपावर क्षेत्र नबुझे पनि बिपिसीसँग जोडिन पुगियो । अहिले पनि विपिसीसँगको सम्बन्ध हाम्रो एउटा ‘स्टेपिङ सोर्स’ भएको छ । बिपिसीको निजीकरण हुँदा हामी पाँच÷सात जना नेपाली व्यवसायी आवद्ध भयौं । हामी दुई÷चार प्रतिशत सेयरको सानो टोकन लिएर छिर्न चाहन्थ्यौं । तर, सरकारले निर्णय गर्न ढिला गर्दा ९० प्रतिशत लगानी गर्ने भनेका विदेशी पछि परे । हामीले ९० प्रतिशत सेयर लिनु पर्यो । यसले जलविद्युत प्रतिको चाख बढायो ।
परियोजना सञ्चालनमा आएपछि प्रकृतिले साथ दियो भने राम्रो प्रतिफल आउँछ भन्ने थाहा भयो । अब हामी पूर्वमा जन्मिएको र त्यहिँबाट व्यवसाय सुरु गरेको मान्छे । त्यो नाताले पनि पूर्वका लागि केहि गरौं, त्यहाँको अँध्यारोमा उज्यालोपन ल्याउन केहि न केहि योगदान दिउँ भनेर इलाममा परियोजना सुरु गरेका हौं ।
यो परियोजनाबाट त्यहाँका स्थानियबासीले समेत केहि न केहि फाइदा पाउन् भन्ने हाम्रो ध्येय हो । त्यसका लागि कम्पनीलाई पब्लिकमा रुपान्तरण गरेर उनीहरु सहित सर्वसाधारणलाई सेयर दिने हाम्रो योजना छ । वास्तवमा अहिलेका खासै नामै नसुनिएका हाइड्रोपावर प्रोजेक्टको समेत सेयर मुल्य चार÷पाँच सय पुगि रहेको छ । यस्तोमा पञ्चकन्याको गुडविलको सहायताले समेत त्यहाँका जनताले एक कित्ता सय रुपैयाँको सेयर पाँच÷छ सयमा बेच्न सके भने त्यो भन्दा खुसीको कुरा के हुन सक्ला ?

जतिबेला बिपिसीको निजीकरण गरियो त्यसबेला उक्त सेयर किन्न लिने व्यवसायीक घरानाहरु त्यसपछि भने हाइड्रोपावर क्षेत्रमा चुपचाप छन्, तपाइँ त एफएनसिसिआईको पूर्व अध्यक्ष समेत, नेपालको निजी क्षेत्रले ठुला हाइड्रो परियोजना लिड गरेर बनाउन के ले छेकेको हो ?
यसमा आँट पनि चाहिँछ, गाँठ पनि चाहिन्छ । कता हो कता धेरै गाँठ चाहिन्छ भन्ने पनि होइन । हाम्रो सन्दर्भमा कुरा गर्दा बैंकसँगको पञ्चकन्याको गुडविलले सघाएको छ । बैंकहरुले फाइनान्स गर्ने बताएपछि आँट आयो । तर, सबै साथीहरुको सन्दर्भमा त्यो नहुन सक्छ । धेरै साथीहरु जोखिम उठाउन चाहनुहुन्न । वास्तवमा विजनेश भनेको केहि न केहि जोखिम त अनिवार्य हुन्छ । भोलि दुख पाइयो भने कमाएको पैसा गुमाउनु पर्ला । तर, जुवा त खेलेको होइन नि । भोली त्यहाँ प्रकृतिले साथ दियो भने एकको दश हुन्छ भने एकको दुई पोइन्ट पाँच हुन्छ ।

तपाइँहरुले डन्डीदेखि तयारी कंक्रिटसम्म धेरै जसो निर्माण सामग्री उत्पादन गर्नु भयो, तर मुख्य कम्पोनेन्टको रुपमा रहने सिमेन्ट उद्योगमा किन जानु भएन ?
होइन । हामीले सिमेन्ट उद्योग खोल्ने प्रकृया अघि बढाइ सकेका छौं । त्यसका लागि जमिन अधिग्रहण निकै अगाडी बढेको छ । परियोजनाको सर्भे सकिएको छ । परियोजनाको भुगोल बारे धेरै भन्दिन । यतिमात्र भन्छु यो काठमाडौंबाट त्यति धेरै टाढा छैन र संयोगले उक्त गाउँको नाम पनि पन्चकन्या नै परेको छ । क्लिंकर खानी सहितको परियोजनाको कुल लागत तीन÷चार अर्ब रुपैयाँ हुन्छ । हामी पञ्चकन्यासँग मात्र त्यत्रो पैसा छैन । आँट र बुद्धि चाहिँ छ । त्यसकै आधारमा यहाँ सम्मको यात्रा तय गरेका हौं । हामीले सिमेन्ट परियोजनाका लागि पब्लिकमा गएर रकम उठाउने सोंच बनाएका छौं । आम जनतालाई आबद्ध गराएर म्यानुफ्याक्चरिङ उद्योग चलाउने हाम्रो सपना पनि हो ।

पञ्चकन्या भन्ने वित्तिकै डन्डि र पाइपको सम्झना आउँछ, तपाइँहरुले सुरु देखिनै नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन गर्ने बताउँदै आउनु भयो, अहिले धेरै कम्पनीले प्रविधि र गुणस्तरमै जोड दिने बताउन थालि सकेका छन्, यस्तोमा तपाइँहरु नयाँपनका लागि के गर्नु हुन्छ ?
सँधैं एक कदम अगाडी, भन्ने हाम्रो मन्त्र छ । यो मन्त्र सार्थक पार्न नयाँ प्रविधि भित्र्याउँदा हामी बजारमा रिसर्च गर्छौं । जोखिम उठाउँछौं । त्यसपछि अरुले त्यहि बाटो पछ्याउँछन् । पायोनियर भनेको पायोनिरयनै हो । त्यसमा ‘पेन’ पनि छ । ‘प्लेजर’ पनि छ । ए यो त पञ्चकन्याले भित्र्याएको हो नि भनेर जनताले सम्झन्छन् । हेरौं न के चिज नयाँ ल्याएनौं हामिले, टिएमटी छड, पिपिआर पाइप, सिभिपिभी पाइप लगायत सबैमा हामी पहिलो हौं । धातुको पानी ट्याङ्की हामीले पहिले ल्यायौं । आरएमसी हामीले सुरु गरेको हो ।
त्यसैले केहि पाउन केहि न केहि मेहनत गर्नै पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा प्रविधिको कुरा आफ्नो ठाउँमा छँदैछ । सधैं एक कदम अगाडीको मन्त्रलाई सार्थक पार्नुछ भन्ने तथ्य म कहिल्यै भुल्दिँन । अहिले पनि मेरो दिमागमा दुई÷चारवटा साँच्चिकै आकर्षक परियोजना छन् । जुन हामीले गर्यौं भने पहिलो नै हुन्छौं र केहि समयमा गर्न सक्छौं भन्ने विश्वास पनि छ । केहि समय त लाग्ला । धेरै ठाउँमा लगानी छ । हामीसँग भएको पुँजी असिमित होइन । सबै बैंकको विश्वासले हासिल गर्दै आएका छौं । विश्वास अहिलेसम्म हार्नु परेको छैन । ग्राहकको होस् यो बैंकको, त्यहि विश्वासले हामीले अटल बनाइ रहेको छ ।

यो प्रतिश्पर्धामा बजार हिस्सा टिकाइ रहन कति सजिलो छ ?
मेरो अनुभवमा प्रतिश्पर्धाले मान्छेलाई अझ तिखार्छ । मान्छे थप कन्सियस हुँदै जान्छ । लागतका दृष्टिले, प्रविधिका दृष्टिले कन्सियस हुने त छ नै कच्चा पदार्थको प्लानिङ गर्ने, व्यवस्थापनमा अझ चनाखो बन्ने हुँदो रहेछ । हिजो हामी एक्लै हुँदा एक रुपैयाँको उत्पादनलाई दुई रुपैयाँ लिँदा पनि कसैसँग डराउनु पर्थेन । तर, अहिले १० पैसा मूल्य बढाउँदा पनि धेरै पटक सोच्नु पर्छ । त्यसैले यो प्रतिश्पर्धा राम्रो कुरा पनि हो । यसमा सर्भाइभल अफ द फिटेस्ट अर्थात जो सक्छ उ बच्छ ।
 हिजोको दिनमा संरक्षित अर्थतन्त्रमा लाइसेन्स पाउनेहरु लखपति÷करोडपति हुन्थे भने अहिले सबैका लागि बाटो खुला छ । कसले कसरी ड्राइभिङ गर्छ भन्ने मात्र हो । त्यसैले यो प्रतिश्पर्धालाई पञ्चकन्याले कसरि हेरेको छ भने हामीले तीन÷चार दशकमा जुन इमेज आर्जन गरेका छौं । त्यो रातारात कसैको आउँदैन र कसैको जाँदैन पनि । त्यसैले आज पञ्चकन्याको ब्रान्डिङमा कुनै प्रोडक्ट ल्याउँदा सजिलै बजार लिन सक्छ । दोस्रो पक्ष भनेको हाम्रो नेटवर्किङ देशव्यापि छ । अर्को तथ्य पञ्चकन्याले गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दैन भन्ने आम उपभोक्ताको विश्वास छ । यो नै प्रतिश्पर्धामा अब्बल बन्ने हाम्रा आधारहरु हुन् । हामी हाम्रा कष्टमरलाई छोड्दैनौं र उनीहरुले पनि हामीलाई छोड्दैनन् ।

पछिल्लो एक दशकलाई आधार मानेर हेर्दा मुलुकका अधिकांश ठुला लगानीकर्ता सेवा क्षेत्रमा केन्द्रित भएका छन्, त्यहाँबाट छिटो पैसा कमाइ भएको पनि देखिन्छ, उत्पादनमुलुक उद्योगमा रहने ट्रेडिङमा केन्द्रित भएका छन्, पञ्चाकन्या किन नगएको ?

हामी पनि म्यानुफ्याक्चरिङ मात्रै भन्ने त होइन । हाम्रो लगानी स्वास्थ्य, बैंकिङ, आईटि, रियलस्टेट लगायत क्षेत्रमा पनि छ । त्यस बाहेक मोटरसाइकल जस्ता उपकरणको ट्रेडिङ पनि गरेका छौं । २० औं लाख रुपैयाँ मुल्य पर्ने डुकाटी मोटरसाइकल हामी नै नेपालमा बिक्री गर्छौं । तर, जुन तरिकाबाट हामी देखिनु पर्ने त्यो नदेखिएको अवश्य हो । किनभने हाम्रो प्राथमिकता म्यानुफ्याक्चरिङ नै हो । त्यसमा केहि विविधता थप्न पर्यटनमा एउटा नौलो परियोजना अघि बढाउने प्रयास हामीले गर्दै छौं ।

द्वन्दकालमा धेरै व्यवसायीको आकार खुम्चियो तर त्यसमा तपाइँहरुले धेरै सम्झौता गर्नु परेको हामीले देखेनौं, साविक रुपमै व्यवसाय चलेको हाम्रो अनुभव छ, अब त झन् शान्ति बहाली भएको छ, तपाइँहरुको योजना पनि त्यस अनुरुप होला ?
अवश्य छ । मैले भनें नि हिजोको दिनमा हामी एक करोड लगानीको कुरा गथ्र्यौं भने आज ५० करोड लगानीबारे चर्चा गर्न थालि सकेका छौं । हाइड्रोपावर भनेको ओभरनाइट नतिजा देखिने होइन । सिमेन्ट पनि त्यस्तै हो । समय त अवश्य लाग्छ ।

भनेपछि अब निजी क्षेत्रले तिब्र लगानीको चरण सुरु गर्यो भन्न सकिन्छ ?
म त त्यहि देख्छु । म एउटा यस्तो उद्योगी हुँ जसले सबै जना निराश भएको बेला समेत आश जगाउने काम गरें । अहिले कसले कसरी सम्झन्छ थाहा छैन तर सबै हतास भएको बेला पनि पञ्चकन्या सिथिल बनेन । मैले नचाहिँदो काम गरें भने पो डराउने त । तर, विना कारण कसैले मेरो उद्योगमा हड्ताल गर्छ वा काम गर्न रोक्छ भने विनाकारण म किन सहन्छु र ? म पनि नेपाली नागरिक हो । यहि मान्यता अनुरुप मैले निराशालाई चिर्ने प्रयास गरें ।
अहिले त झनै आशाबादी भएको छु । मैले कहिल्यै पनि नेपाल गरिब छ भनेको छैन । गरिबी हाम्रा नेताहरुको सोच होला तर यो भुमीमा प्रकृतिले अथाह अवसर पनि दिएको छ । बाढी ल्याउने पानीले पैसा आर्जन गर्ने बाटो पनि देखाइ रहेको छ । हो हामी भूपरिवेष्ठित छौं । तर, ६० किलोमिटर उत्तर दक्षिणमा संसारको सबै भन्दा चिसोदेखि अत्यधिक गर्मी ठाउँ विश्वको अरु कुन मुलुकमा प्राप्त हुन्छ ? हो हामीकहाँ आधारभुत पुर्वाधारको अभाव छ । त्यो आर्थिक पुर्वाधार मात्र होइन राजनीतिक र सामाजिक पुर्वाधारको पनि अभाव हो । तर, हामीले अझै पनि दोषारोपणमा अलमलिनु भन्दा आ–आफ्ना जिम्मेवारीलाई राष्ट्रसँग जोडेर अघि बढ्ने बेला आएको छ ।
अब राजनीतिक नेताले पार्टी मात्र होइन देशको लागि गर्ने साहस गर्नु पर्यो । हामी व्यापारी पनि संकुचित सोचाइ लिएर यस्तै हो, देशै गरिब छ, केहि गर्न सकिन्न भनेर बस्ने हो भने केहि पनि हुँदैन । धान रोप्न जाँदा हिलोमा हात खुट्टा त डुबाउनु पर्यो नि । हो यो यथार्थ स्विकार्ने वित्तिकै अब लगानी विस्तारमा केहिले पनि अवरोध ल्याउन सक्दैन ।

सार्क चेम्बर, एसिया प्यासिफिक चेम्बरको आबद्धताले तपाइँको विदेशी लगानीकर्ता पनि राम्रै उठबस हुन्छ, उनीहरुलाई जोइन्ट भेञ्जरमा नेपाल ल्याउन तपाइँले प्रयास गर्नु भएन ?
बुटबल पावर कम्पनीमा हामीले विदेशी साझेदार ल्यायौं पनि । तर, पञ्चकन्याको आफ्नै साइजमा विदेशी लगानीकर्ता भित्र्याएर १५/२० करोडको पार्टनर बनाउन मैले उचित देखिँन । तर, अहिले सुरु भएका हाइड्रोपावर, सिमेन्ट लगायत ठुला परियोजनामा भने विदेशीलगानीकर्तालाई हामीले निम्त्याउनै पर्छ । अर्को तिर नेपालको संबिधान लेखि नसकुन्जेलसम्म विदेशीलगानीकर्तालाई आश्वस्त पारि हाल्ने अवस्था छैन । तर, त्यसो भन्दैमा हामीले आफ्नो सोच मारेका छैनौं । परियोजना पहिचान गरेका छौं र गम्भिर रुपले निर्माण लाग्ने अठोट पनि पालेका छौं ।

तपाईँहरुले सरकारी कम्पनी बिटुमिन एन्ड ब्यारल निजीकरण प्रकृया मार्फत लिएर राम्रोसँग चलाइ रहनु भएको छ, जहाँ पब्लिकको पनि सेयर छ, यो अनुभवको आधारमा पञ्चकन्याका अरु कम्पनीमा पनि सर्वसाधारणलाई सेयर दिँदा विश्वास अझ बढ्थ्यो, पुँजी पनि आउँथ्यो ?
हो हाम्रो सोचाइ छ । अहिले सम्म पञ्चकन्याको जुन इमेज जनतामा बनेको छ । त्यो क्यास गर्नु पर्छ भन्ने हामीलाई लागेको छ । त्यसबारे छलफल पनि गर्न थालि सकेका छौं । तर, मुख्यकुरा लगानीको आकार हो । सानो तिनो लगानीका लागि होइन बृहत लगानीको ठुलो परियोजना ल्याएर सर्वसाधारणलाई समेट्न सकिन्छ कि भनेर हेरि रहेका छौं । त्यसैले हाइड्रो, सिमेन्ट जस्ता परियोजनामा आम जनतासँग सहकार्यको कुरा गरेका हौं । किनभने हिजाको दिनमा फेमिली म्यानेज्ड व्यवसायको रुपमा पञ्चकन्या चल्यो भने भोली यसलाई प्रोफेसनल्ली म्यानेज्ड गर्ने तर्फ लाग्नु पर्छ । आज संसारका प्रतिष्ठित एबं बहुराष्ट्रिय कम्पनीहरु प्रबद्र्धकबाट म्यानेज्ड भएका छैनन् । व्यवसायीक व्यवस्थापनले चलेका छन् ।
नेपालकै बैंक हेरौंन । तर, नेपालका उद्योग लगायत अरु क्षेत्रमा यो संस्कार विकास भएको छैन । त्यसैले नेपालमा कार्यान्वयन गर्न सजिलो छैन । तर, हामी यसलाई अघि बढाउनु पर्छ भन्नेमा छौं । यसले नयाँ अध्यायको सुरुवात गर्छ । सर्वसाधारणलाई समेटेर बृहत लगानीमा पञ्चकन्याले प्रबद्र्धन गरेका परियोजनालाई स्वतन्त्र व्यवस्थापनबाट म्यानेज्ड गरेर नयाँ इतिहास रच्न सकिन्छ भन्ने मेरो विश्वास हो ।