राष्ट्र बैंकले भन्यो दीर्घकालिन लगानीकाे सेयर किन्न रोकिएको छैन, ठूला लगानीकर्ताले चलखेल गरे

बिजमाण्डू
२०७१ भदौ ९ गते ००:०० | Aug 25, 2014
काठमाडौं। बैंक तथा वित्तीय संस्थालाई दीर्घकालिन लगानीका रुपमा सेयर लगानी गर्न नरोकिएको भन्दै नेपाल राष्ट्र बैंकले बजार घट्नमा आफूले ल्याएको निर्देशन कारक नभएको जनाएको छ। 
 
निर्देशन आएपछि सेयर बजार दैनिक रुपमा उच्च अंकले घट्न थालेको छ। राष्ट्र बैंकका अधिकारीहरुले भने साना लगानीकर्ताले निर्देशनको आसय नबुझी ठूला लगानीकर्ताको जालझेलमा पर्दा बजार घटेको बताएका छन्।
 
'हामीले स्पष्ट रुपमा भनिसकेका छौं दीर्घकालिन लगानीका रुपमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्मै लगानी गर्न सकिन्छ,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले सोमबार बिजमाण्डूसँग भने, 'हामीले भनेको कुरालाई गलत व्याख्या गरेर बजारमा चलखेल गरिँदैछ।'

Tata
GBIME
Nepal Life

 

एक प्रतिशत व्यापारिक प्रयोजन र बाँकी २९ प्रतिशत दीर्घकालिन लगानीका लागि सेयर खरीद गर्दा राष्ट्र बैंकलाई कुनै आपत्ति छैन । हामीले भनेको कुरालाई गलत व्याख्या गरेर बजारमा चलखेल गरिँदैछ।

 
उनले दैनिक रुपमा गरिने कारोबार मात्र प्राथमिक पुँजीको एक प्रतिशतभित्र रहेर गर्न निर्देशन दिइएको बताए। 

राष्ट्र बैंकको एकिकृत निर्देशिका–२०७१ को लगानी सम्बन्धि नीतिअन्तर्गत भुक्तानी मितिसम्म धारण गर्ने लगानी (हेल्ड फर म्याचुरिटी) भित्र रहेर ३० प्रतिशतसम्म दीर्घकालिन लगानी गर्न सकिन्छ। 

 
'भुक्तानी मितिसम्म धारण गर्ने सकारात्मक मनसाय (पोजिटिभ इन्टेन) र भुक्तानी मितिसम्म धारण गर्न सक्ने क्षमता ( एबिलिटी टु होल्ड टिल म्याचुरिटी) भई गरिएको लगानी ३० प्रतिशतसम्म गर्न सकिन्छ,' प्रवक्ता श्रेष्ठले भने। 
 
उनले एक प्रतिशत व्यापारिक प्रयोजन र बाँकी २९ प्रतिशत दीर्घकालिन लगानीका लागि सेयर खरीद गर्दा राष्ट्र बैंकलाई कुनै आपत्ति नहुने जानकारी दिए।
 
सेयर बजारसँग सम्बन्धित सरोकारवालाहरुले पनि राष्ट्र बैंकको नीतिकै कारण सेयर बजार घट्नु पर्ने कारण नरहेको बताएका छन्।

 

निर्देशनको कारण बजार घटेपनि जलविद्युत् वा बिमा कम्पनीका सेयरमा असर पर्नु पर्ने हो, बैंक तथा वित्तीय संस्थाका सेयरहरु पनि घटिरहेको छ। बजार तार्किक हिसाबले घटेको छैन।

नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले निर्देशनकै कारण बजार घट्नु पर्ने अवस्था नरहेको बताए।
 
'निर्देशनको कारण बजार घटेपनि जलविद्युत् वा बिमा कम्पनीका सेयरमा असर पर्नु पर्ने हो,' उनले भने, 'बैंक तथा वित्तीय संस्थाका सेयरहरु पनि घटिरहेको छ। बजार तार्किक हिसाबले घटेको छैन।'
 
सेयर ब्रोकरहरुका अनुसार, सानो सानो कित्ता बिक्री गरेर बजार घटिरहेको छ। 'बजार घट्नुमा ठूला लगानीकर्ताको चलखेल वढी देखिन्छ,' एक ब्रोकर कम्पनीका प्रबन्ध निर्देशकले भने, 'ठूला लगानीकर्ताले मूल्य घटाएर सानो सानो कित्ता सेयर बिक्री गरिरहेका छन्। उनीहरुले मूल्य घटाएर सेयर उठाउनका लागि राष्ट्र बैंकको निर्देशनलाई गलत रुपमा प्रयोग गरिरहेको देखिन्छ।'
 
सेयर ब्रोकरहरुका अनुसार, अहिले बिक्री गर्नेमा साना र नयाँ लगानीकर्ताहरु वढी रहेको छ। 'अहिले बिक्री गर्ने अधिकांस साना र नयाँ लगानीकर्ताहरु छन्,' सेयर ब्रोकर कम्पनी श्रीइन्भेष्टमेन्टका सन्दिप जलानले भने। 
 
बजार घट्दो अवस्थामा जाँदा सेयर खरीद गर्नेमा ठूला लगानीकर्ता र बिमा कम्पनीहरु बढी छन्। बिमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीको सेयर किनिरहेका छन्।
 
'अहिले कम्पनीहरुको लाभांस नजिक आइसकेको अवस्थामा मूल्य घट्नु पर्ने कारण देखिन्न,' पराजुलीले भने, 'केही न केही गढवढी गरेर बजार घटिरहेको छ।' नेपाल स्टक एक्सचेन्जका अधिकारीहरुका अनुसार, सानो सानो कित्ता कारोबारबाट मूल्य घट्न थालेको छ। मूल्य कम भएपछि ठूलो कित्ता सेयर किनबेच हुने गरेको छ।