राष्ट्र बैंकको नीतिमा लगानीकर्ताको ब्याख्या, वलराम रिमालको विश्लेषण

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014
राष्ट्र बैंकको नीतिमा लगानीकर्ताको ब्याख्या, वलराम रिमालको विश्लेषण
हाम्रा नियामक निकायहरुले बजारको मूल्याङ्कन, विश्लेषण नगरिकनै हतारमा नीति नियम जारी गरको पाइन्छ। उनीहरुले जारी गर्ने निर्देशन र दिशाबाट धेरै हदसम्म सेयर बजार प्रत्यक्ष प्रभावित हुने गरेको छ। 
 
नेपाल राष्ट्र बैंकले पनि गत साता यस्तै एउटा निर्देशन जारी गर्‍यो, बैंक तथा वित्तीय संस्थाले व्यापारिक हिसाबले कुल प्राथमिक पुँजीको एक प्रतिशतसम्म मात्र सेयर खरीद गर्न पाउँछन् भनेर। 
 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा व्यापारिक प्रयोजनका हिसाबले खरीद गरिएका सेयरबाट वित्तीय जोखिम आउन सक्ने तर्कसहित निर्देशन जारी गरेको छ। बजारका लगानीकर्ताले भने राष्ट्र बैंकको निर्देशनलाई आफ्नै हिसाबले ब्याख्या गरिरहेका छन्। फलस्वरुप बजारमा निर्देशनको मनोवैज्ञानिक असर परेको छ। 
 
राष्ट्र बैंकको निर्देशन प्रस्टसँग नआउँदा धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएका छन्। बियरिस अवस्थामा देखिएको बजारमा धेरैको मनोवल कमजोर हुनु स्वभाविक हो। उत्साह र निरासामध्ये जसको पल्लाभारी हुन्छ उतैतिर आमलगानीकर्ता दौडन्छन्। अहिले निरासाको पल्ला भारी भएकाले लगानीकर्ताको मनोविज्ञान कमजोर भएर बजार फराकिलो अन्तरले घट्न थालेको छ।
 
बजार घटेका बेला कतिपयले फाइदामा भएको केही सेयर बेचेर आफू सुरक्षित हुन चाहन्छन्। बजारको गिर्दो गति अझ कायम रहन्छ भन्ने त्रासले आफ्नो सेयर धमाधम बिक्री गर्दा बजार ठूलो अन्तरले घटेको हो। अर्को तर्फबाट हेर्ने हो भने, घट्दो बजारमा निराशा पैदा भएको छ, अझै सामान्य राजनीतिक अस्थिरताले पनि हलचल बनाउँछ।

Tata
GBIME
Nepal Life

तर, बुलिस चक्रमा भने सामान्य राजनीतिक अस्थिरतालाई नेप्सेले वेवास्ता गरेको थियो। सेयर बजारमा धेरै कुरा मूल्यांकन गरेर निर्णय लिनु पर्छ, तर लगानीकर्ताहरुले सुचना र विश्लेषणभन्दा पनि हल्लालाई आधार मानेर सेयर बिक्री गरेको देखिन्छ।

 
अन्य कुराहरुलाई थाँती राखी राष्ट्र बैंकको नीतिलाई मात्र हेर्दा मनोवैज्ञानिक त्रास निम्न अनुसार परेको देखिन्छ :-
 
१) बैंक तथा वित्तीय संस्थालाई दिइएको निर्देशनलाई समग्र सेयर लगानीमा नै अंकुश लगाएको हो भन्ने बुझाइ।
२) बजारमा बैंक तथा वित्तीय संस्थाले ठूलो लगानी रहेको छ भन्ने आशंका र बैंकका सेयर बजारमा आउँदाको असर कस्तो हुन्छ भनेर अनविज्ञता
३) बजारमा बैंक तथा वित्तीय संस्थाको वास्तविक लगानी कति छ भन्ने तथ्याङ्क सार्वजनिक छैन, यदि बजारमा ठूलो मात्रामा लगानी रहेछ भने, आपूर्ति बढ्नेछ भन्ने अनुमान।  
४) अहिलेको नेप्सेको उचाई धेरै भएको मान्नु तथा केही विश्लेषक तथा सरोकारवालाबाट नेप्से ९०० अंक कै हाराहारीमा आइपुग्छ भन्ने तर्क सार्वजनिक हुनु। 

तर डर यस कारण मान्नु पर्दैन
१) विश्वव्यापी रुपमै देशको अर्थतन्त्रको मूलसूचक पूँजी बजारलाई मानिन्छ। पहिले नेप्से न्यूनतम विन्दुमा आउँदा नियामक निकायहरुले सुधारका लागि निकै पहल गरेका थिए। त्यसैले अहिलेको निर्देशन बजार केही सच्चिँदै कम जोखिम लिएर अगाडि बढोस् भन्ने सन्देश पनि हो। वित्तीय जोखिमसँग जोडेर हेर्दा यसलाई हामीले गलत भन्न मिल्दैन। 
 
२) राष्ट्र बैंकको निर्देशनको सार यस्तो छ :  बैंक तथा वित्तीय संस्थाहरुले गर्ने लगानी मध्ये (Trading Book Activities) मा हुने लगानी बढ्दै गएको र यसले संस्थाको लगानीमा निहित जोखम बढाउने देखिएकोले सम्बन्धित संस्थाले त्यस्ता कार्याहरुबाट हुनसक्ने जोखिमको न्यूनीकरणका लागि आवश्यक उपायहरु अवलम्बन गरेर मात्र लगानी गर्नुपर्ने छ। साथै बैंक तथा वित्तीय संस्थाले व्यापारिक लगानीमा (Held for Trading) आफ्नो प्राथमिक पूँजीको एक प्रतिशतसम्म मात्र लगानी गर्न सक्नेछन 
 
कुरा स्पष्टै छ। व्याख्या जरुरी छैन, नरम नीतिकै रुपमा बुझ्दा हुन्छ। निर्देशन पुँजी बजारको स्थायित्वका लागि सकारात्म छ। र, पनि झट्ट हेर्दा बैंक तथा वित्तीय संस्थाहरुले किनेको सेयर समग्र नेप्सेलाई असर पुग्नेगरी भोली आपूर्ति हुन्छ कि भन्ने शंका उब्जनु स्वभाविक हो।
 
३)  बैंक तथा वित्तीय संस्थाहरुको जलविद्युत्, होटल, बिमा कम्पनीलगायतमा लगानी गर्न पाउँछन् तर अर्को बैंक तथा वित्तीय संस्थाको सेयर किन्न पाउँदैनन्। जलविद्युत्मा बढी राम्रो मानिएको संस्था चिलिमे भएकाले बैंकको लगानी त्यसमा बढी भएको अनुमान गर्न सकिन्छ। चिलिमे आफैमा राम्रो संस्था छ र राम्रो प्रतिफल दिने भएकोले जति सेयर आएपनि सजिलै खपत हुनेछ। 
 
बैंकहरुले लगानी गरेको अर्को क्षेत्र बिमा कम्पनी हुन्। त्यसमा पनि प्रतिफल र सुरक्षाका हिसाबले जीवन बिमा कम्पनीमा लगानी बढी हुन सक्छ। गैरजीवन बिमा कम्पनीको चुक्ता पुँजी नै कम हुने भएकाले उनीहरुको सेयर बजारमा धेरै छैन। कतिले त तोकेको पूँजी पुर्‍याउन बोनस र हकप्रद सेयर जारी गरेका छन्, कतिको जारी हुँदै छ। 
 
बैंक तथा वित्तीय संस्थाले सीमित संस्थाहरुको सेयर मात्र खरीद गर्न पाउँछन्। साधारणतया कुल चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा हुन्छ। ३० प्रतिशत सेयर जम्मै बैंक तथा वित्तीय संस्थाले किनेका हुँदैनन्। ती सेयरमध्ये केही सर्वसाधारण लगानीकर्तासँग हुन्छ, सामूहिक लगानी कोष कम्पनीले पनि खरीद गरेका छन्। अन्य बजार निर्माता कम्पनीहरुसँग पनि सेयर हुन्छ। बैंक तथा वित्तीय संस्थाहरुसँग सीमित सेयर हुने भएकाले ती सेयर बजारमा आउँदा ठूलो भूँइचालो आउँछ भनेर सोच्नु गलत हुन जान्छ। 
 
राष्ट्र बैंकले भनेअनुसार नै बैंक तथा वित्तीय संस्थाहरुले गरे भने पनि उनीहरुलाई सेयर घटाउन २०७२ असार मसान्तसम्मको समय दिइएको छ। समय बाँकी भएकाले अहिलेनै उनीहरुको सेयर बजारमा आइहाल्छ भन्ने छैन। 
 
सबैले सेयरमा प्रतिफलकै लागि लगानी गर्ने हुन्, कम्पनीहरुले लाभांस घोषणा तथा वितरण गर्ने समय भर्खर सुरु भएकाले आजको भोली नै उनीहरुले बढी भएको सेयर बिक्री गर्दैनन्। बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा लगानी गर्न पाइदैन भनिएको पनि छैन। राष्ट्र बैंकका अख्तियार प्राप्त अधिकारीहरुले दीर्घकालिन लगानीका लागि ३० प्रतिशत नै सेयर किन्न पाउने बताइरहेका बेला डराउनु पर्ने अवस्था छैन। 
 
 
४) अर्को तर्फ राष्ट्र बैंकको निर्देशनले सामूहिक लगानी कोषबाट बढी लगानी होस भन्न खोजेको पनि हो। अब यस्ता कोषबाट लगानी अवश्य बढ्ने छ। नयाँ नयाँ कोष पनि आउने तरखरमा छन्। 
 
समय अनुसार बजारमा पर्ने प्रभाव फरक हुन्छ। अहिले बजार तल आउनुमा राष्ट्र बैंकको निर्देशन मात्र होइन, ब्रोकरहरुले समयमै राफसाफ गर्न नसकेर पनि हो। निर्देशनलाई विर्शिएर बजारका प्राविधिक तथा अन्य समस्या समाधान गर्नतिर लागिए नेप्सेले सकारात्मक दिशा समात्छ। धमाधम सेयर बेचेकाहरुले पनि लगानी बढाउने छन्। किनभने अहिले हरेक संस्थाहरुले प्रतिफल दिने समय हो, छोटो समयमा फाइदा लिन सकिन्छ। लगानीकर्तासँग बैंकमा पैसा राखेर सीमित ब्याज खानुभन्दा अन्य लगानीका विकल्प छैनन्। अन्य क्षेत्रमा लगानी नहुँदा बैंकमा पनि तरलता बढिरहेको छ।
 
बजार धेरै तल आउँछ, पहिला पनि यसरीनै क्र्यास भएको थियो भन्ने विश्लेषकहरु पनि छन्। तर होइन, पहिला किन बजार अति न्यूनतम बिन्दुमा आयो? त्यतिबेलाको स्थितिलाई विष्लेषण गर्दा हुन्छ। त्यतिबेला र अहिलेको अवस्था धेरै फरक छ। सुझबुझ भएका लगानीकर्ता, सामुहिक लगानी कोष, देशको राजनीतिक अवस्था, बैंकिङ तरलता, घट्दो ब्याज दरलगायतका पक्षहरुलाई अध्ययन र विश्लेषण गर्ने हो भने यसपाली आत्तिनु पर्ने अवस्था छैन।