राष्ट्र बैंकको निर्देशनले सेयर बजार ओरालो लागेको सरोकारवालाको आरोप, तुरुन्त सच्याउन माग

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014
काठमाडौं। सेयर लगानीकर्ता एबं ब्रोकरले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारि गरेको सेयरमा लगानी सम्बन्धि निर्देशनका कारण बजार घटेको भन्दै तुरुन्त सच्याउन माग गरेका छन्। रिपोर्टर्स क्लव नेपालमा मंगलबार आयोजित अन्तरकृयामा सरोकारवालाले राष्ट्र बैंकको अस्पष्ट नीतिकै कारण बजार ओरालो लागेको बताएका हुन्। 

Tata
GBIME
Nepal Life


 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले एक बर्ष अघिसम्म बैंक तथा वित्तिय संस्थालाई प्राथमिक पुँजीको ३० प्रतिशतसम्म सेयरमा लगानी छुट दिने राष्ट्र बैंकले एकाएक एक प्रतिशतमा झारेको आरोप लगाए। 'नियमित कारोवार गर्दा प्राथमिक पुँजीको एक प्रतिशत मात्र लगानी गर्न पाउनु पर्छ भन्ने वाक्यांशले यहि अर्थ दिन्छ' उनले भने 'त्यसैले बजार घटेको हो।' 
 
राष्ट्र बैंकले कसैको स्वार्थ पुर्ती गर्न  निर्देशन ल्याएको हुन सक्ने उनले आशंका गरे। 'राष्ट्र बैंकका पदाधिकारी आफैंले निर्देशनको अपब्याख्या गरि ठुला लगानीकर्ताले चलखेल गरेको हुन सक्ने बताएको छ' उनले भने 'यसबाट उनीहरुले भन्न खोजेका ठुला लगानीकर्तासँग साँठगाँठ गरेर यो निर्देशन ल्याइएको हुन सक्ने आशंका समेत उब्जिएको छ।'
 
नियामक संस्थामा एकले अर्काको कार्यक्षेत्र हस्तक्षेप नगर्ने सहमति भए पनि राष्ट्र बैंकले सेयर बजारलाई सधैं प्रभावित गर्ने गरेको उनले आरोप लगाए। 'राष्ट्र बैंकको दादागिरीमा पुँजी बजारको नियामक धितोपत्र बोर्ड निरिह देखिँदै आएको छ' उनले भने। 
 
राष्ट्र बैंकको निर्देशन पछि बोर्ड र नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई सम्बोधन गरेर कुनै सन्देश प्रवाह नगरेकोमा समेत उनले खेद व्यक्त गरे। एक हजार ८५ अंकमा पुगेको सेयर बजार १५ प्रतिशत घटि सक्दा समेत बोर्डले एक शब्द नबोल्नु गैर जिम्मेवारीको पराकाष्टा भएको उनले बताए।
 
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्र सिजापतीले आफुलाई नियामक ठान्नेहरुको सोच बदलिनु पर्ने बताए। '२० बर्ष अघि सेयरमा एक सय रुपैयाँ लगानी गर्नेको मुल्य अहिले नौ सय ५० रुपैयाँ हाराहारी पुग्नु कुनै अतिशयोक्ति होइन' उनले भने 'तर, यसलाई आधार मानेर सेयर बजार घटाउन नियामकहरुले अनेक प्रपञ्च गरेका छन्।' आम नेपालीको आम्दानीको स्तरमा सुधार आएको कारण नै केहि समय देखि सेयर बजारमा पनि उत्साह देखिएको उनले बताए। 
 
नेपाल राष्ट्र बैंकको निर्देशनले साना लगानीकर्ताको रगत चुसिएको हुनाले तुरुन्त सच्याउन उनले माग गरे। 'ठुला भनिएकाले त तुरुन्त सुचना पाउँछन्' उनले भने। नेप्से परिसुचक सात सय ५० अंक भन्दा माथि लागे पछि खरिद गर्नेले अहिलेको ह्रासमा घाटा खाइ सकेको उनको भनाइ छ। नेप्से चारवटा अंक भन्दा तल आउँदैन भनेर आफुले सोचे पनि त्यस विपरित भएको उनले बताए। बजार कसैले अफबाह फैलाए पनि सेयर बेच्न लगानीकर्तालाई हतार नगर्न उनले आग्रह गरे।
 
नेपाल राष्ट्र बैंकको पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले नेपालको बैंक तथा वित्तिय संस्थाहरुको स्वास्थ्य नबिग्रियोस भनेर केन्द्रिय बैंकले निर्देशन दिँदा सेयर बजार प्रभावित भएको हुन सक्ने बताए। तर, उक्त निर्देशनको सार उध्येश्य बजारलाई असर पार्ने नरहेको हुँदा हतोत्साहित भए सेयर बेच्न नहतारिन उनले लगानीकर्तालाई आग्रह गरे। 
 
अर्थ  मन्त्रालयका सह सचिव कृष्णप्रसाद देवकोटाले सरकार नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड नियमित सम्पर्कमा रहेको र बजार क्र्यास हुन नदिने प्रतिबद्धता ब्यक्त गरे। 'बजारमा संकट आउन नदिन सरकार प्रतिबद्ध छ' उनले भने। निरन्तर घट्न थालेमा सम्बोधन गर्ने बारे समेत अर्थमन्त्रालयमा छलफल भइ सकेको उनले जानकारी दिए। धेरै तिरबाटो चासो उत्पन्न भएको हुँदा नेपाल राष्ट्र बैंकले समेत निर्देशनबारे थप प्रष्ट पार्ने अपेक्षा लिएको उनले बताए। 'बजारलाई प्रभावित पार्ने उध्येश्य केन्द्रिय बैंक लगायत कसैको होइन, त्यसैले सेयर बेच्न लगानीकर्ताले हतार गर्न आवश्यक छैन' उनले भने।