ऋषि धमलालाई सभासद् सिफारिश? थरुहट भन्छ- हामीले होइन, बन्ने/नबन्ने निर्णय गरेकाे छैन: धमला

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014
ऋषि धमलालाई सभासद् सिफारिश? थरुहट भन्छ- हामीले होइन, बन्ने/नबन्ने निर्णय गरेकाे छैन: धमला
काठमाडौँ : संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासद्मा आफूहरुको तर्फबाट ऋषि धमलाको नाम सिफारिस गरेको भन्ने खबरको थरुहट तराई पार्टी नेपालले खण्डन गरेको छ। प्रधानमन्त्रीका प्रेस संयोजकले पनि यसबारे आफूलाई जानकारी नभएको बताएकाे पहिलाेपाेष्टले जनाएकाे छ । 
 
थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले आफ्नो पार्टीबाट २६ सभासद मनोनयनमा पत्रकार ऋषि धमलालाई सिफारिस गरिएको बारे आफूलाई थाहा नभएको बताए।
 
'मोर्चाले नै निर्णय गरेको भएपनि हाम्रो पार्टीलाई त जानकारी दिनुपर्ने हो', थारुले पहिलोपोस्टसँग भने, 'यो समाचार सुनाउनुभएकोमा धन्यवाद। हाम्रा तर्फबाट अरुलाई नै सिफारिस गरेका छौं।'

उनले आफ्नो पार्टीको तर्फबाट बलराम चौधरीलाई सिफारिश गरिएको जानकारी दिए। 
 
पार्टीका वरिष्ठ नेता गोपाल दहितले पनि पहिलोपोस्टसँग कुरा गर्दै ऋषि धमलाको नाम सिफारिस नगरिएको बताए। उनले भने, '२६ सभासद मनोनयनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल हुँदा राष्ट्रिय रुपमा योगदान गरेका र पत्रकारितामा पनि चलेका भएकाले उनको बारेमा कुरा भएको चाहिँ हो तर नामै सिफारिस गरेका छैनौं।'

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीलाई यसबारे सोध्दा उनले भने, 'होइन होला, यो कुरा मलाई जानकारी छैन।' 
  
यसअघि रिपोर्टस क्लब नेपालले विभिन्न सञ्चार माध्यमहरुलाई इमेलबाट पठाएको समाचारमा १२ दलका अध्यक्षहरुले आज संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरेको दावी गरिएको थियो।

समाचारमा १२ दल उल्लेख भए पनि ६ दलको मात्र नाम उल्लेख छ।

२६ सभासदका मनोनयनका सम्बन्धमा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नभएका, समानुपातिकको मनोनयनमा नपरेका, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका विशिष्ट व्यक्तिहरूलाई मनोनयन गर्नुपर्ने प्रावधान छ।

निर्णय गरिसकेको छैन : धमला
यसबारे ऋषि धमलालाई सोध्दा सभासद् बन्ने/नबन्ने निर्णय आफूले गरिनसकेको बताए। पहिलोपोस्टसित कुरा गर्दै उनले भने, ‘१२ दलको कुरा बाहिर आइरहेको छ, मैले पनि समाचारमा सुनिरहेको छु।‘
 
  
यस्तो थियो रिपोर्टस क्लबले पठाएको समाचार (सम्पादन नगरिएको)
 
छब्बिसमा १२ दलका साझा उम्मेदवार ऋषि धमला,
सरकार गम्भिर नभए समर्थन फिर्ता लिन्छौं
 
काठमाडौ, १० भदौ। संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेका छन्।
 
दलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले आज संयूक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरेका हुन।
उनीहरुले राजाको शासनमा लोकतन्त्रको लागि सडक संसद चलाएर आन्दोलन चलाएको, सबैको साझा फोरमको रुपमा सहमतिको लागि भूमिका निर्वाह गरेको भन्दै धमलाको नाम सिफारिस गरेका हुन।
 
प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले धमलाको नाम आफूहरुले सिफारिस गरेको जानकारी दिएका हुन।
 
पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुको तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै सभासदकोलागि नाम सिफारिस गरेको जानकारी दिदै संविधान निर्माणको कार्यतालिका अनुसार संविधान निर्माणलाई अघि बढाउन धमलाले बाहिर जस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे।
 
उनले आफूहरुले प्रधानमन्त्रीलाई सरकारलाई समर्थन गरेका सानादलहरुको तर्फबाट सभासद मनोनयन गर्नु पर्ने र सरकारमा समेत सहभागि गराउनु पर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको बताए।
 
दहितले प्रधानमन्त्रीले चुनाव हारेका र समानुपातिकको सूचिमा परेकाहरुलाई २६ मा मनोनित नगर्ने स्पष्ट पारेको जानकारी समेत दिए।
 
खुम्बुवान राष्ट्रिय मोर्चा का अध्यक्ष रामकुमार खुम्बुले पत्रकारहरुको प्रतिनिधित्व गराउन धमलाको नाम सिफारिस गरेको भन्दै उनले लोकतन्त्र कठिन अवस्थामा रहेको बेला खेलेको भूमिका र सहमतिको लागि गरेको कामको सम्मान गर्दै ठूला दलहरुले पनि समर्थन गर्नु पर्ने सुझाव दिए।
 
उनले संघीय पहिचानसहितको संविधान बनाउनु पर्नेमा जोड दिए।
 
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ऋषि धमला जस्तो सबैलाई समेट्न सक्ने ब्यक्तित्वको संविधानसभामा आवश्यकता महसुस गरेर उनको नाम सिफारिस गरेको बताए। उनीहरुले प्रधानमन्त्रीसंगको भेटमा आफूहरुको तर्फबाट पनि राजदुत नियुक्ती गर्नुपर्ने माग राखेको प्रष्ट पारेका छन्।

Tata
GBIME
Nepal Life