पाइलटकी आमाको निधन भएपछि एमए ६० उड्न सकेन, लाओसबाट आएका आइपीले सोमबारदेखि उडाउने

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014
पाइलटकी आमाको निधन भएपछि एमए ६० उड्न सकेन, लाओसबाट आएका आइपीले सोमबारदेखि उडाउने

काठमाडौं । नेपाल वायु सेवा निगमको एमए ६० जहाज तेस्रोपटक ग्राउण्डेड भएको १० दिन भन्दा बढी भएपनि अहिलेसम्म उड्न सकेको छैन । यसरी जहाज नउड्नुमा निगमले प्राविधिक समस्या भएको बताएपनि इन्स्ट्रक्टर पाइलट (आइपी) को आमाको निधन भएर चीन फर्केपछि अर्को इन्स्ट्रक्टर पाइलट नहुँदा नडाउन नसकेको निगम स्रोतले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life

निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको ५६ सिट क्षमताको यो चिनियाँ जहाजमा प्राविधिक समस्या आएपछि साउन ३० गतेदेखि ग्राउन्डेड छ ।
एमए ६० मा प्राविधिक समस्या भने समाधान भइसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङले जहाजमा अहिले समस्या के भएको हो भनेर निगमलाई भनेको छैन । स्रोत भन्छ, 'हामीलाई चिनियाँले के भएर ग्राउन्डेड भयो भनेका छैनन् । के भयो पनि भन्दैनन् ।' स्रोतका अनुसार एमए ६० को हाइड्रोलिक ब्रेकमा समस्या आएपछि जहाज ग्राउन्डेड गरिएको हो । गत वैशाख १४ गते काठमाडौं भित्र्याइएको थियो।

हाइड्रोलिकब्रेकको समस्या समाधान भएपनि अहिले एमए ६० को चीनबाट आएका आइपीको आमाको निधन भएपछि निगमसँग अर्को आइपी नहुँदा जहाज ग्राउन्डेड गर्नु परेको छ। 'आमाको मृत्यु भएपछि ती  आइपी चीन गएकोले अर्को आइपी आउन ढिला हुँदा ग्राउन्डेड गर्नुपरेको हो,' स्रोतले भन्यो ।
स्रोतका अनुसार अहिले लाओसबाट उक्त जहाजका लागि आइपी झिकाइसकिएको छ । गएको आइतबार लाओसबाट विकल्पको रुपमा आर्को आइपी आएका छन् । 'उसले नेपालको आकाश, धावनमार्ग लगायत विषयमा अध्ययन गरिरहेका छन् । आउँदो आइतबारसम्म सबै प्रक्रिया पुर्‍याएर जहाज उड्छ ।'

ती आइपीले सोमबारदेखि एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) को कक्षा लिइरहेका छन् । नेपालका एयरपोर्ट, यहाँका नियमहरु केके हुन् र कसरी जहाज उडाउने, पूर्व जाँदा के गर्ने, पश्चिम जाँदा के गर्ने लगायतका हवाइ नियमहरुको कक्षा लिनु नै एआइपी कक्षा हो ।

लाओसबाट आएका ती आइपीले कक्षा लिएर पास भएपछि आइतबार वा सोमबारदेखि जहाज उडाउने तयारीमा निगम छ । एमए ६० यसरी लामो समयसम्म ग्राउन्डेड हुँदा २० लाख रुपैयाँ भन्दा बढी निगमलाई घाटा परिसकेको छ । स्रोतका अनुसार निगमले एमए ६० को इन्स्योरेन्सको लागि दिनको दुई लाख ४६ हजार रुपैयाँ बराबरको इन्स्योरेन्स तिर्नुपर्छ । यसमा दैनिक उडानबाट हुने नाफा भने जोडिएको छैन ।

स्रोत भन्छ, 'यसरी लगातार एमए ६० ग्राउन्डेड हुँदा अब साँच्चै नकारात्मक सन्देश जान्छ भनेर ग्राउन्डेड भएको कुरा निगमले लुकाउन खोजेको छ।'
एमए ६० ग्राउन्डेड भएको यो तेस्रोपटक हो । पहिलोपटक काठमाडौबाट विराटनगर जाने क्रममा पखेँटामा चरा ठोक्किएर ग्राउन्डेड भएको थियो भने दोस्रोपटक राडारमा खराबी आएपछि ग्राउन्डेड भएको थियो ।