गोलभेंडाको भाउ अस्वभाविक बढ्यो, खुद्रा मूल्य किलोको सय पुग्यो, पञ्चमीको भोलिपल्टबाट भाउ घट्ने

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
गोलभेंडाको भाउ अस्वभाविक बढ्यो, खुद्रा मूल्य किलोको सय पुग्यो, पञ्चमीको भोलिपल्टबाट भाउ घट्ने


काठमाडौं। बजार मुल्य निकै कम भएर घाटा खानु परेको दावी गर्दै व्यवसायिहरुले सडकमा फालेको महिना दिन पनि नपुग्दै काठमाडौंमा गोलभेडाको भाउ प्रतिकिलो एक सय रुपैयाँ नजिक पुगेको छ। एक महिनाअघि प्रतिकिलो सात रुपैयाँमा किसानले थोक बजारमा बेच्नु परेको भन्दै कालिमाटी बजार अगाडी सडकमा गोलभेडा फालेका थिए।
 
पछिल्लो एक हप्तामा मात्रै गोलभेंडाको भाउ झण्डै दोब्बरले बढेको छ। अघिल्लो विहीबार औषतमा ४३ रुपैयाँ रहेको गोलभेंडाको थोक मूल्य यो विहिबार ६८ रुपैयाँ पुगेको छ।
काठमाडौंको प्रमुख तरकारी बजार कालीमाटी तथा बल्खुमा थोक मूल्य ७० रुपैयाँको हाराहारीमा भएपनि खुद्रा ब्यापारीहरुले भने प्रतिकिलो एकसय रुपैयाँसम्म लिइरहेका छन्। बजारमा गोलभेंडाको भाउ अस्वभाविक रुपमा बढेको ग्राहकहरुले गुनासो गरेका छन्। 
 
व्यवसायीहरुले भने गोलभेंडाको धेरै खपत भएकाले भाउ बढेको बताएका छन्। 'चाडवाडमा अरु तरकारी पनि भाउ बढ्छ र गोलभेंडाको माग पनि बढ्ने भएकाले यो बेलामा भाउ बढ्नु स्वभाविक हो,' कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक टिकाराम शर्माले भने, 'टनेल बाहिरको गोलभेंडाको उत्पादन नहुने भएकाले पनि भाउ बढेको हो।'
 
साउनदेखि मंसिरसम्म तरकारी भाउ बढ्ने उनको भनाइ छ। केही किसानले टनेल भित्रको गोलभेडा मरेकोले पनि भाउ बढेको बताएका छन्। 
यो समयमा तराईमा तरकारी उत्पादन नहुने र पहाडको उत्पादनले मात्रै बजार धान्न गारो पर्ने भएकाले भाउ बढेको शर्माले बताए। 
 
बल्खु कृषि तथा तरकारी बजकारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले पनि यो समयमा बाहिरबाट काठमाडौं तरकारी कम भित्रिने र काठमाडौंबाट बाहिर पनि तरकारी निर्यात हुने भएकाले भाउ बढेको बताए। 
'वीरगञ्ज, पोखरालगायतका बजारमा काठमाडौं उपत्यकामा उत्पादित तरकारी धेरै निर्यात भइरहेका छन्,' कुँवरले भने, 'वर्षाको समय भएकाले तराईमा उत्पादन हुँदैन र पहाडमा पनि प्रशस्त उत्पादन हुँदैन, त्यसैले तरकारीको भाउ बढ्दै गएको छ।'
 
सुर्खेत, नेपालगञ्जलगायतका ठाउँबाटसमेत काठमाडौंमा तरकारी भित्रिने भएपनि वर्षाको समय भएकाले ती ठाउँबाट पनि तरकारी काठमाडौं नआएकाले भाउ बढेको उनले बताए। 
 
टनेल बाहिरको गोलभेंडाको उत्पादन नहुने भएकाले पनि भाउ बढेको कुँवरले जानकारी दिए। वर्षाको समयमा तरकारीको भाउ कम हुने भएकाले पनि भाउ बढेको उनको भनाइ छ। 
 
व्यवसासीले यो समयमा तरकारीको भाउ बढ्ने बताए पनि गत वर्ष भने तरकारीको मूल्य यति धेरै बढेको थिएन। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गत वर्षको यही समयमा गोलभेंडाको मूल्य थोक ५० रुपैयाँको हाराहारीमा थियो। समितिले आफ्नो वेवसाइटमा राखेको तथ्यांक अनुसार गत वर्ष सेप्टेम्बर १० मा गोलभेंडाको अधिकतम मूल्य थोकमा ५० रुपैयाँ पुगेको थियो। 
 
आन्दोलनको असर होइन
कालीमाटीका कार्यकारी निर्देशक शर्माले किसानले आन्दोलन गरेपनि त्यही कारणले अहिले तरकारीको भाउ नबढेको दावी गरे। 'उत्पादनको कुरा प्रविधिसँग जोडिएको हुन्छ, त्यसैले त्यही कारणले अहिले भाउ बढ्यो भन्न मिल्दैन,' उनले भने, 'उत्पादन कम हुँदा बजारमा मूल्य बढ्ने भन्ने प्राविधिक कुरा हो, केहीबेरको आन्दोलनले त्यसलाई असर गर्दैन।' 
 
बल्खुका कार्यकारी निर्देशक कुँवरले पनि चाडपर्व नजिकिँदा भाउ बढेको भन्दै त्यसलाई किसानको आन्दोलनसँग जोडेर हेर्न नहुने बताए। 'चाडपर्व नजिकिएको छ, त्यसैले बजारमा खपत बढ्दा भाउ बढेको छ,' कुँवरले भने, 'तीजले गर्दा गोलभेंडा टिप्न कमी भयो, त्यसैले भाउ बढेको हो।'
 
कुँवरले तीज सकिने बित्तिकै गोलभेंडाको भाउ घट्ने बताए। 'तीजको दरमा गोलभेंडा धेरै प्रयोग हुन्छ, त्यसैले भाउ बढ्यो,' उनले भने, 'पञ्चमी सकिने बित्तिकै भाउ घट्छ।' 
 

Tata
GBIME
Nepal Life