निर्देशनले सेयर घट्दा बिमा, संस्थागत र ठूला लगानीकर्ताले किने, सानाले अत्तालिएर धेरै गुमाए

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
निर्देशनले सेयर घट्दा बिमा, संस्थागत र ठूला लगानीकर्ताले किने, सानाले अत्तालिएर धेरै गुमाए
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिन लगातार घट्दा पनि संस्थागत लगानीकर्ताहरुले भने खासै सेयर बिक्री नगरेको ब्रोकरहरुले बताएका छन्। नेप्से ठूलो अन्तरले घटेपछि धेरै लगानीकर्ताले गुमाए, तर यसरी गुमाउनेमा संस्थागतभन्दा साना र नयाँ लगानीकर्ता थिए। 
'जसले बजारको वृद्धि अहिलेको अनुपातमा हुन नहुने भनिरहेका थिए, त्यस्ता सामूहिक लगानी कोष लगायत अन्य संस्थागत लगानीकर्ताले पनि सेयर बिक्री गरेनन्,' नेपाल ब्रोकर्स एशोसिशएन अफ नेपालका अध्यक्ष नरेन्द्रराज सिजापतिले भने। उनका अनुसार, तर नयाँ तथा साना  लगानीकर्ताहरु आत्तिएका देखिन्थे। 
 
संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्न नआत्तिनुमा अन्य कारण पनि रहेको छ। एक त सामूहिक लगानी कोष बाहेक अन्य संस्थागत लगानीकर्ताले सेयर किनबेचको निर्णय लिन केही प्रक्रिया हुन्छन। उनीहरुले यो प्रक्रिया एक, दुई दिनमै पुरा गर्न नसक्ने भएकोले पनि केही समय लाग्छ। अर्काे, यस्ता संस्थागत लगानीकर्ताले सेयर बेच्न परेपनि बार्षिक रुपमा लाभांश पाएपछि बेच्ने गरेका छन्। अहिले कम्पनीहरुको लाभांश घोषणा हुने क्रम बल्ल सुरु भएकोले पनि संस्थागत लगानीकर्ताहरुले सेयर बेच्न हत्तारिएका देखिएनन। 
 
'यो प्रक्रिया हरेक बर्ष देखिन्छ, त्यही भएर पनि संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्न हत्तारिएको देखिएन। अर्काेतर्फ राष्ट्र बैंकले नै पनि निर्देशन आएको दोस्रो दिनमै यस्तो अवधी एक बर्षको हुने उल्लेख गरेकेा थियो,' सेयर ब्रोकर अन्जनराज पौड्यालले भने। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालिन सोचका साथ सेयरमा गरिएको लगानी चालु आव भित्र प्राथमिक पूँजीको एक प्रतिशतमा सिमित पार्न निर्देशन दिएको थियो। 
 
बजार घटेको समयमा कुनै पनि संस्थागत लगानीकर्ताले सेयर बेच्दै बेचेनन् भन्ने चाँही होइन। केही बिकास बैंकहरुले बिक्री पनि गरे। तर निकै लामो समयदेखि सेयर होल्ड गरिरहेका र बजार घटेको अवस्थामा पनि नाफा हुने सेयरहरु बिक्री गरेका थिए। 'त्यस्तो सेयरको मात्रा निकै कम थियो, त्यो सेयर होल्ड गर्दा पनि ती बैंकलाई घाटा हुने अवस्था थिएन तर बजार बढ्न केही समय लाग्न सक्ने अनुमानमा तीनिहरुले सेयर बिक्री गरे,' एक ब्रोकरले भने। बजारमा संस्थागत लगानीकर्ताहरुले सेयर किनबेच बढाउदा चहल पहल बढि हाल्छ, तर यो पटक खासै त्यस्तो देखिएन, ती ब्रोकरले भने। 
 
अधिकांस बिमा कम्पनीहरुले घटेको मौकामा राम्रो प्रतिशतल दिने सम्भावना भएका बैंक तथा वित्तीय संस्था र जलविद्युतको सेयर खरीद गरेका थिए। बिमा समितिले लगानी नीति संशोधन गर्दै सेयर बजारमा पाँच प्रतिशतको सीमालाई १० प्रतिशत पुर्‍याउन लागेको सुचना पहिले नै  आइसकेकाले बिमा कम्पनीहरुले धमाधम सेयर किनेका थिए।
 
बजारले बुधवार नै बाटो परिर्वतन गर्यो र एकै दिन ३८ अंकले बढ्यो। बुधवार सेयरको कारोबार पनि बढ्यो। अघिल्लो दुई दिनमा क्रमशः ४४ करोड र ५१ करोड रुपैयाँको कारोबार भइरहेको बजारमा बुधवार ६१ करोड रुपैयाँको कारोबार भयो। बुधवार केही सामूहिक लगानी कोष र बीमा लगायतका कम्पनीहरुले भने सेयर खरिद गरे। बजार एउटा उखान नै छ, अरु लोभी भएकेा बेलामा तिमी डराउनु र अरु डराएको बेला आफु लोभी हुनु। सामूहिक लगानी कोष र बीमा कम्पनीहरु यस्तै मौका छोप्न सफल भए।  

Tata
GBIME
Nepal Life