डाक्टरको बिरामी जाँच्ने शुल्क बढ्याे, अब बिरामीले पहिलेभन्दा दुई सय रुपैयाँ वढी तिर्नु पर्ने

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
डाक्टरको बिरामी जाँच्ने शुल्क बढ्याे, अब बिरामीले पहिलेभन्दा दुई सय रुपैयाँ वढी तिर्नु पर्ने


काठमाडौं : स्वास्थ्य मन्त्रालयले अस्पतालमा बिरामी जाँच गर्दा तिर्नुपर्ने शुल्क वृद्धि गरेको छ। वृद्धि भएको शुल्क अनुसार अब बिरामीले विशेषज्ञ डाक्टरसँग जाँच गर्दा पहिला भन्दा २ सय रुपैँया बढी तिर्नुपर्नेछ। स्वास्थ्य मन्त्रालयले यसअघि २०५९ साल मंसीर ४ गते चिकित्सकहरुको परामर्श शुल्क तोकेको थियो।

मन्त्रालयले बुधबार नयाँ शुल्क निर्धारण गरेको हो। नयाँ शुल्क आउँदो असोज १ गते देखि कार्यन्वयनमा जाने स्वास्थ्य मन्त्रालयले जनाएको पहिलाेपाेस्ट अनलाइनमा उल्लेख छ । विभिन्न अस्पतालहरुले मनोमानी ढंगले शुल्क लिन थालेपछि मन्त्रालयले शुल्क पुनरावलोकन गरेको हो। 

नयाँ निर्धारण गरिएको शुल्क अनुसार अब पाँच बर्षभन्दा बढी चिकित्सा अनुभव भएका एमडी र एमएस विषेशज्ञ डाक्टरहरुले ४ सय ५० रुपैँया शुल्क लिन पाउने छन्। त्यस्तै एमबिबिएस वा सो सरह अध्यन गरेका तथा पाँच बर्ष भन्दा कम अनुभव भएका चिकित्सकले जाँच गर्दा २ सय ५० रुपैँया तिरे पुग्छ। पाँच बर्ष भन्दा धेरै अनुभव भएका एमबिबिएस डाक्टरलाई भने ३ सय तिर्नुपर्छ। पोष्ट ग्र्याजुयट गरेका डाक्टरले ३ सय ५० रुपैँया शुल्क पाउनेछन् भने त्यसको ५ बर्ष अनुभव प्राप्त चिकित्सकले ४ सय रुपैँया शुल्क लिन पाउनेछन्।

अस्पतालले मनोमानी ढंगले शुल्क लिन थालेपछि मन्त्रालयले भदौ ११ गतेको मन्त्रीस्तरको निर्णयबाट शुल्क निर्धारण गरेको हो।

एकपटक चेक गराएको सात दिन भित्र फलो अप गर्न जाँदा अर्को शुल्क लिन नपाउने व्यवस्था मन्त्रालयले गरेको छ। मन्त्रालयले सेवा शुल्क सम्बन्धि व्यवस्था सबैले देख्ने ठाउँमा टाँस्न अस्पतालहरुलाई निर्देशन समेत दिएको छ। साथै डाक्टरहरुलाई बिरामीहरुका लागि पर्याप्त समय प्रदान गर्न निर्देशन दिएको छ। मन्त्रालयले तोकिएको शुल्क भन्दा धेरै शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले सेवा शुल्क दुई बर्षमा मात्र पुनरावलोकन हुने जनाएको छ।

कति थियो पुरानो शुल्क?
पुरानो व्यवस्था अनुसार भर्खर एमबिबिएस पास गरेका डाक्टरले जाँच गर्दा ७५ रुपैँया तिर पुग्ने व्यवस्था रहेको स्वास्थ मन्त्रालयका अधिकृत तुलसी दाहालले जानकारी दिए। त्यस्तै एमबिबिएस पछि पाँच बर्षको अनुभव प्राप्त चिकित्सकलाई १ सय ७५ र दश बर्ष अनुभव भएको चिकित्सकसँग परामर्श गर्दा २ सय तिर्नुपर्थ्यो।

ग्र्याजुयट गरेका डाक्टरसँग चेक गराउँदा नयाँलाई १ सय ७५ रुपैँया, ५ वर्ष अनुभव प्राप्तलाई २ सय र दश वर्ष अनुभव भएकालाई २ सय २५ तिर्नुपर्ने व्यवस्था थियो।

एमडी एमएस गरेका विषेशज्ञ डाक्टरसँग परामर्श गर्न भने २ सय ७५ रुपैँया तिर्नपर्थ्यो। तर नयाँ विषेशज्ञ डाक्टरले २ सय २५ र पाँच देखि दश वर्ष अनुभव भएका डाक्टरलाई २ सय ५० रुपैँया मात्र लिन पाउँथे।  

Tata
GBIME
Nepal Life