सोमबारबाट राष्ट्रिय बाणिज्य बैंकले क्रस होल्डिङ सेयर बेच्ने, न्युनतम सय कित्ता आवेदन

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले क्रस होल्डिङको रुपमा दुई कम्पनीमा रहेको आफ्नो सेयर बिक्रीका लागि आउँदो सोमबार आवेदन संकलन गर्ने भएको छ। न्युनतम मुल्य तोकेर लिलाम बढाबढमा सेयर बिक्री गर्न लागिएको हो। ३० भदौमा बिक्री बन्द गर्ने जनाइएको छ।
बाणिज्य बैंकसँग नेपाल इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत र नेपाल आवास फाइनान्सको १० सेयर रहेको छ। दुबै प्रबर्द्धक सेयर हुन्। बाणिज्य बैंकसँग इन्भेष्टमेन्टको ६२ लाख २० हजार ६६ कित्ता र नेपाल आवासको एक लाख ९८ हजार चार सय ९७ कित्ता सेयर छ। यसअघि पटक पटक आह्वान गर्दा समेत बिक्री नभए पछि यसपाली कम्पनीले टुक्र्याएर सेयर बेच्ने तयारी गरेको हो। न्युनतम एक सय कित्ता सेयरका लागि आवेदन दिनु पर्ने जनाइएको छ। त्यसमाथि १० ले भाग जाने सेयर कित्ता आवेदन गर्नु पर्नेछ। एकै जनाले सम्पुर्ण सेयरका लागि समेत आवेदन गर्न सक्नेछन्।
इन्भेष्टमेन्ट बैंकको सेयर न्युनतम पाँच सय ३० र नेपाल आवास फाइनान्सको न्युनतम एक सय एक रुपैयाँ मुल्यमा आवेदन गर्न सकिन्छ। जसले बढि मुल्य तोक्यो उसैले सेयर पाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए। राजधानी बाहिरका सर्वसाधारणको समेत सहभागिता होओस भनेर बैंकले बनेपा, नारायणगढ, बिराटनगर, हेटौंडा, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, विर्तामोड, जनकपुर, बिदुर, विरगञ्ज, धनगढी, तुलसीपुर, लाहान र कन्चनपुर शाखामा समेत आवेदन गर्न सक्ने व्यवस्था गरेको उनले जानकारी दिए।
राजधानी भित्र भने विशालबजार, थापाथली, महाराजगञ्ज, गौशाला, भोटाहिटी, टेकु, कलंकी, पुल्चोक र सुर्यविनायक शाखा एबं अफर म्यानेजर नविल इन्भेष्टमेन्ट बैंकीङको नक्साल स्थित कार्यालयमा आवेदन बुझाउन सकिनेछ। सेयर आवेदन गर्नेले ब्रोकर शुल्क समेत अग्रिम रुपमा बुझाउनु पर्ने जनाइएको छ। कम्पनीले दिने लाभांश सेयर खरिदकर्ताहरुले पाउन् सकुन् भनेर छिटो बाँडफाँड गर्न शुल्कहरु अग्रिम भुक्तानी गर्ने प्रावधान राखेको नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए।
भदौ मसान्त भित्र जति आवेदन हुन्छ त्यति सेयर बाँडफाँड गर्ने र पुरा बिक्री नभए फेरि प्रकृया सुरु गर्ने बैंकको तयारी छ। प्रबर्द्धक सेयर भएको हुँदा आवेदन गर्नेले आफु कालोसूचीमा नपरेको व्यहोरा भने आवेदनका साथ स्वयं घोषणा गर्नु पर्नेछ। यो सेयर प्रबर्द्धकको रुपमा दोस्रो बजारमा सजिलै कारोवार योग्य रहेको जनाइएको छ। यो सेयर खरिद गर्नेहरुले दुबै कम्पनी एक/एक जना सञ्चालक समेत पठाउन सक्नेछन्।
दुबै कम्पनीको सेयर तोकिएको न्युनतम मुल्यमा बिक्री भए राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ३१ करोड ६६ लाख ८३ हजार एक सय ७७ रुपैयाँ प्राप्त गर्नेछ। यो रकमले बैंकको पुँजीकोष न्युनतम आठ प्रतिशत पुग्नेछ। चालु आर्थिक बर्षको मुनाफाबाट पुँजीकोष १० प्रतिशत माथि पुर्याउने बैंकको लक्ष छ।

Tata
GBIME
Nepal Life