धितोपत्र बोर्डको ढिलाईले अगाडी बढ्न सकेन सिभिल क्यापिटल र भक्तपुर फाइनान्सको आइपीओ निष्काशन

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
काठमाडौं। धितोपत्र बोर्डको ढिलाईले सिभिल क्यापिटल र भक्तपुर फाइनान्सको सेयर निष्कासन प्रक्रिया अगाडी बढ्न सकेको छैन । भक्तपूर फाइनान्सले गत चैत चार गते र सिभिल क्यापिटलले गत बैसाख १४ गते धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमती मागेका थिए । 
 
भक्तपुर फाइनान्सले गत बैसाखमै क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट सबैभन्दा तल्लो स्तरको रेटिङ ग्रेड फाइभ पाएपछि बोर्डले निर्णय गर्न नसकेको हो । कम्पनीले सात करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन अनुमती मागेको छ । ‘यसमा छलफल गर्न बाँकी छ, अब त गत आर्थिक बर्षको वित्तीय विवरण मागेर हेर्न सकिन्छ, अवस्था राम्रो भएको पाइएमा दिन सकिन्छ,’ बोर्डका एक अधिकारीले भने । अवस्था उस्तै भएमा के गर्ने त्यो पनि छलफलले नै टुंगो लगाउने बोर्डले बताएको छ । 
 
तीन बर्षदेखी सञ्चालनमा रहेको कारण कम्पनीको पछिल्लो ट्रयाक रेकर्ड अवधि कम भएको, आम्दानीको विविध स्रोत नभएको, खरब कर्जाको दर उच्च (६.३ प्रतिशत) रहेको इक्रा नेपालले आफ्नो विवरणमा उल्लेख गरेको छ। त्यस्तै, ठुला २० निक्षेपपकर्ताले नै कुल निक्षेपको ४८ प्रतिशत र कुल ऋणीमा २० ऋणीले कुल कर्जाको ३७ प्रतिशत हिस्सा ओगट्नु पनि कम्पनीको कमजोर पक्ष भएको टिप्पणी गरेको छ।  

बोर्डले सिभिल क्यापिटल लिमिटेडले मागेको अनुमतीलाई पनि सदर गर्न सकेको छैन । ‘केही समय कामले नभ्याएर मैले नै खासै ध्यान दिइन, तर बोर्डले अहिलेसम्म के गर्ने भनेको छैन,’ सिभिल क्यापिटलका प्रमूख कार्यकारी अधिकृत भिष्मराज चालिसेले बताए । बोर्डले यस सातामा छलफलको लागि सिभिललाई बोलाउने सक्ने संकेत गरेको थियो । तर त्यो हुन सकेन । मर्चेन्ट बैंकिङको काम गर्दै आएको संस्थाबाट पहिलो पटक सेयर निष्कासनको अनुमती मागिएकोले पनि बोर्डले निर्णय गर्न नसकेको हो । आन्तरिक छलफल गरेर प्रक्रिया अगाडी बढाउने भनेको बोर्डले छलफल गर्न बाँकी छ । 
 
‘कम्पनीलाई सेयर निष्कासन अनुमती दिने, नदिने बिषयमा छलफल गर्ने तयारी भएको हो, तर छलफल हुन भने बााकी नै छ , सम्भवतः अर्को साता हामी छलफल गर्छौ, बोर्डका ती अधिकारीले भने । ती अधिकारीले कम्पनीलाई सेयर निष्कासनको अनुमती दिने सम्भावना भने रहेको बताएका छन । 
 
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटललाई तोकिएको छ । कम्पनीको जारी पूँजी २० करोड रुपैयाँ छ भने चुक्तापूँजी सात करोड हुने छ । बक्पनीले चुक्तापूँजी सात करोड पुर्याउन तीन करोड रुपैयाँको सेयर निष्कासन गर्ने भएको हो । आव २०६९/७० मा कम्पनीले करअघि नाफा एक करोड रुपैयाँ र खुद नाफा भने ७५ लाख ५१ हजार रुपैयाँ कमाएको थियो । कम्पनीको आम्दानी दुई करोड ४२ लाख रहेको थियो । कम्पनीले बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभुतीकर्ता लगायतको काम गर्दै आएको छ । 
 
सिभिलले बोर्डबाट पहिलो कमेन्ट आएमा त्यसलाई एक सातामै पुरा गर्न सकने बताएको छ भने दशैं, तिहार पछि सेयर निष्कासन गर्ने सोचमा रहेको छ । 

Tata
GBIME
Nepal Life