दशैंकालागि हवाइ टिकट ७० प्रतिशत बुकिङ, इसेवाबाट घरमै बसेर टिकट काट्न सकिने

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
दशैंकालागि हवाइ टिकट ७० प्रतिशत बुकिङ, इसेवाबाट घरमै बसेर टिकट काट्न सकिने


काठमाडौं । आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीले दशैँ र तिहारका लागि केही गन्तव्यमा विशेष छुटको अफर ल्याएका छन् । यसरी अफर ल्याउनेमा बुद्ध र यति एयरलाइन्स छन् ।
यी कम्पनीले काठमाण्डौँबाट बाहिरिँदा भन्दा भित्रिने यात्रु लक्षित गरि अफर सञ्चालन गरेका हुन् । चाडबाडमा राजधानीबाट बाहिरिने यात्रुको बढि चाप हुन्छ । यति र बुद्धले विराटनगर, भद्रपुर र जनकपुरबाट काठमाडौं आउँदा सामान्य भाडामा छुट दिएका हुन् । अरु एयरलाइन्सले दसैंमा यात्रुको चाप बढ्ने हुँदा छुट योजना ल्याएका छैनन् । यति र बुद्धले पनि तीन गन्तब्य बाहेक अरुमा छुट दिएका छैनन् र यात्रुको अत्यधिक चाप हुने भन्दै छुटको योजना समेत बनाएका छैनन् ।
असोज ९ (घटस्थापना) देखि १७ (टीकाको दिन)सम्मलाई यती र बुद्धले ती गन्तव्यबाट काठमाडौं आउँदा छुट दिने जनाएका छन् । यसैगरी काठमाडौंबाट जनकपुर जाँदा लाग्ने सामान्य भाडामा पनि दसैँको टिकाको दिनदेखि २४ गतेसम्म ४१ प्रतिशत सम्म छुटको व्यवस्था गरेका छन् ।
यति र बुद्धले आन्तरिक तर्फ भद्रपुर, विराटनगर, तुम्लिङटार, भैरहवा, नेपागन्ज, पोखरा, धनगढी, जनकपुर लगायतमा उडान गर्दै आएका छन् । तर, कतिपय एयरलाइन्सले भने उडान गन्तव्य थोरै हुँदा छुट दिन नसकिएको बताए । सिम्रिक एयरका प्रज्ज्वल थापा भन्छन्, 'हामी दुई गन्तव्यमा उडान गर्छौँ छुट दिन सक्ने अवस्थामा नै छैनौँ।' सिम्रिकले अहिले काठमाडौंबाट पोखरा र भैरहवा उडान गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life

७० प्रतिशत बढि बुकिङ
दसैं आउन तीन साता बाँकी हुँदै ७० प्रतिशत भन्दा बढी टिकट बुकिङ भइसकेको वायुसेवा कम्पनीले जनाएका छन् । हिन्दूहरूको मुख्य पर्व दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने भएको हुँदा अहिले देखि नै टिकट बुकिङ गरेका छन् । बुद्ध एयर बजार निर्देशक रुपेश जोशीका अनुसार नेपाली एयरलाइन्समा सधैँ बुकिङ खुला गरिएपनि दशैँमा बढिनै चाप हुने गर्छ ।
उनले भने, 'टिकट बुकिङ बाह्रैमास हुने भएपनि यो समयमा भने धेरै नै हुने गरेको छ, अधिकांश गन्तव्यको टिकट बुक भइसकेका छन् ।' हाल दसैंकेन्द्रित टिकटतर्फ यती, सिम्रिक, नेपाल एयरलाइन्स र बुद्ध एयरले सुगम क्षेत्रका गन्तव्यमा टिकट बुकिङ गरेका छन् भने दुर्गममा उडान गरिरहेका तारा, गोमा एयरले पनि टिकट बुकिङ थाली सकेका छन् ।  'दसैं, तिहार र पर्यटकीय सिजनमा मात्र हाम्रो आम्दानी सन्तोषजनक हुने हो,' सिम्रिक एयरका प्रज्ज्वल थापा भन्छन्, 'अरु बेला चाप आधा कम हुन्छ । यो बेला भ्याइ नभ्याइ हुन्छ । त्यसैले टिकट बुकिङ हामीले खुला गरिसकेका छौँ।' 
गएका केहि वर्षदेखि लामो दूरीमा राम्रा बसहरु हालिएको हुँदा तीनचार वर्षअघि जस्तो टिकट बुकिङमा चाप नभएको वायुसेवा कम्पनीका अधिकारी बताउँछन् । जोशी भन्छन्, 'पहिला बन्द हड्तालले र बसमा विभिन्न झमेला आइलाग्ने हुँदा धेरै जहाजको टिकट खोज्थे, तर डिलक्स बस चल्न थालेपछि जहाजको टिकट बुकिङ चाप अलि कम भएको छ ।'
बुद्धले टिकट बुकिङलाई हेरेर उडान थपघट समेत गर्ने गरेको छ । जोशीका अनुसार दसैंका बेला विराटनगर, नेपालगन्ज र भद्रपुरमा यात्रुको बढी चाप हुन्छ ।

घरमै बसेर टिकट बुकिङ
उपभोक्ताले घरमै बसेर बस र जहाजको टिकट बुकिङ गर्न समेत सक्ने भएका छन् । यो अवसर भने इसेवाले उपलब्ध गराएको हो । घरमै बसेर इसेवा मार्फत टिकट बुकिङ गर्न र पैसा तिर्न सकिने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अलिले बताए । इसेवाले दसैंमा यात्रुलाई सहज होस् भनेर बससेवाडटकम मार्फत टिकट किन्न सहज बनाएको हो ।
ग्राहकले बससेवा डट कममा लगइन गरेर आफूलाई चाहिने बस र जाने गन्तव्य छानेर टिकट किन्न सक्नेछन् । तर यसको लागि इसेवामा अकाउन्ट खोलेर पैसा जम्मा गरेको भने हुनुपर्नेछ। अलिका अनुसार नारायणघाटबाट पूर्वतिर चल्ने रुटका प्राय बसको टिकट बससेवामार्फत किन्न सकिन्छ भने नारायणघाटबाट पश्चिम भने बुटवलसम्मको मात्रै किन्‍न सकिन्छ ।
अलि भन्छन्, 'हामीले आरामदायी डिलक्स र एसीवाला बसको मात्रै टिकट काट्ने सुविधा दिएका छौँ ।'
यसैगरी इसेवा मार्फत यती, बुद्ध र सिम्रिक एयरको टिकट काट्दा छुट पाइने अलीले जानकारी दिएका छन् । उनका अनुसार यी तीन वटै एयरलाइन्सको जुनसुकै गतव्यमा जाँदा ११ देखि २०  प्रतिशतसम्म छुट पाउनेछन् । तर यो छुट एयरलाइन्सले तोकेको भाडामा मात्रै पाइन्छ । कर तथा अन्य सेवाको मूल्यमा भने दिइने छैन ।
दसैं र तिहारमा यात्रु चापलाई अाधार मानेर यातायात व्यवासायीले पनि भदौ २५ गतेदेखि टिकट बुकिङ सुरु गर्ने भएका छन् । काठमाडौंबाट बाहिरिने देशभरका यात्रुलाई केन्द्रित गरी बुकिङ खुला गरिने भएको हो ।