साउदी अरेवीयाका राजदूत चौधरी ग्रुपमा, दुई मुलुकका लगानीकर्ताबीच साझेदारीका लागि पहल गर्ने

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014

काठमाडौं । नेपालका लागि साउदी अरेवीयाका राजदूत अब्दुलनसिर एच अल हारथीले शुक्रबार चौधरी ग्रुपको अवलोकन भ्रमण गरेका छन्। दूतावासका इकोनोमिक अफेयर्स म्यानेजर शाहिर अल्खानी पनि उक्त अवसरमा सहभागी थिए।

Tata
GBIME
Nepal Life

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले राजदूत र इकोनोमिक अफेयर्स इन्चार्जलाई ग्रुपको मुख्यालयमा स्वागत गरे। उक्त अवसरमा उनले चौधरी ग्रुपले नेपालमा कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा जानकारी गराए।

'सिजी नेपाल सोसल विजनेशका माध्यमद्वारा निकट भविष्यमा नेपालको वेरोजगारीको समस्यालाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिने मैले विश्वास लिएको छु', अध्यक्ष चौधरीले भने, 'नेपालका धेरै युवासँग श्रृजनशिल व्यवसायिक अवधारणा छन्। तर, पुँंजीको अभावमा उनीहरुले यस्ता अवधारणालाई कार्यान्वयन गर्न पाईरहेका छैनन्। सिजी नेपाल सोसल विजनेश यिनै समस्या समाधानका लागि कार्यान्वयनमा ल्याइएको हो।'

अध्यक्ष चौधरीले आफ्नो ग्रुपले नेपालमा विस्तार गरिरहेको लगानीका क्षेत्रहरुका बारेमा पनि उनीहरुलाई जानकारी गराएको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चौधरी ग्रुप नेपालमा लगानी विस्तार गर्ने अग्रणी औद्योगिक घराना हो। उक्त अवसरमा अध्यक्ष चौधरीले नेपालमा लगानी विस्तारका लागि साउदी अरेवीयाका लगानीकर्ताहरुलाई पनि राजदूतमार्फत आव्हान गरे।

नेपालमा कार्यान्वयनमा ल्याइएको सिजी नेपाल सोसल विजनेशको अवधारणाबाट आफु प्रभावित भएको राजदूत हारथीले बताए। उनले नेपाल र साउदी अरेवीयाका लगानीकर्ताहरुको साझेदारीका लागि आफुले पहल गर्ने धारणा पनि राखे।

सोही अवसरमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणा चौधरीले ग्रुपका गतिविधिका बारेमा जानकारी दिदै सामाजिक उत्तरदायित्वसहित आफ्नो ग्रुपले नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराए। नेपालमा लगानी विस्तारका लागि नेपाल र साउदी अरेवीयाबीच द्विपक्षीय साझेदारी आवश्यक रहेको धारणा पनि उनले राखे।

 चौधरी ग्रुपका भाईस प्रेसिडेण्ट जी पी शाहले साउदी अरेवीयासहित मध्यपूर्वका अन्य देशका उपभोक्ताहरुबीच नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउले ख्याती आर्जन गर्दै गईरहेको जानकारी दिदै त्यहाँका उपभोक्ताहरुको आकर्षणलाई मध्यनजर गर्दै उनीहरुलाई अझ सहज रुपमा वाईवाई चाउचाउ उपलब्ध गराउने वातावरण मिलाईदै गरेको जानकारी दिए।