ब्यापारिक कर्जाको ब्याज दर छ प्रतिशतमै झर्‍यो, बैंकहरुसँग ८० अर्ब रुपैयाँ अधिक तरलता

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
काठमाडौं। बाणिज्य बैंकहरुमा अधिक तरलता थुप्रिएपछि कर्जाको ब्याज दर छ प्रतिशतसम्म झरेको छ। तरलता थुप्रिएको अनुपातमा कर्जाको माग नआएकाले बैंकहरुले अल्पकालिन कर्जाको ब्याज दर छ प्रतिशतमा झारेका हुन्।

Tata
GBIME
Nepal Life


 

'ट्रस्ट रिसिट, टिआर (अल्पकालिन) कर्जाको ब्याज दर सात प्रतिशत सामान्य भइसकेको छ,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'योभन्दा कममा पनि बैंकहरुले लगानी गरिरहेका छन्।'
 
दसैंतिहार नजिकिँदै जाँदा व्यापारिक कर्जाको माग बढेको छ। यस्तो कर्जाको भुक्तानी ६० देखि ९० दिनसम्म हुने भएकाले बैंकहरुले सस्तोमै यसमा लगानी गर्न थालेका हुन्।
 
अहिले अधिकांस बैंकहरुले सर्वसाधारणलाई एक बर्षे मुद्दतिमा बढीमा पाँच प्रतिशत ब्याज दिइरहेका छन्। 
 
'लगानी गर्ने अरु ठाउँ छैन, पैसा त्यतिकै थन्क्याएर राख्नुभन्दा छोटो अवधिको कर्जा लगानी गरिरहेका छौं,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'हामीले चैं आठ प्रतिशतसम्ममा व्यापारिक कर्जा दिइरहेका छौं।'
 
सरकारका लागि राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको बट्टादर शुन्य प्रतिशतको नजिक छ। राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकको निक्षेप खरिद गर्दा पनि ब्याज दर एक प्रतिशतभन्दा कमनै कायम भयो। यस्तोमा बैंकहरुले आफूसँग बढी भएको तरलता अल्पकालिन प्रकृतिका ऋणहरुमा लगानी गरेका हुन्। 
 
'कतिपय बैंकहरुले ब्याजको स्प्रेड पाँच प्रतिशत कायम गर्न पनि छोटो अवधिको कर्जाको ब्याज घटाएका हुन्,' राणाले भने, 'सस्तोमा निक्षेप उठाउने बैंकहरुले कर्जाको ब्याज घटाएको देखिन्छ।'
 
अहिले बाणिज्य बैंकहरुसँग करिव ८० अर्ब रुपैयाँ अधिक तरलता छ । दसैंतिहारका लागि बस्तु तथा सामान आयात गरेर बिक्री गर्ने वित्तिकै व्यवसायीहरुले बैंकको ऋण भुक्तानी गर्छन्। छोटो अवधिमै यस्तो कर्जा भुक्तानी हुने भएकाले केही समयमा अन्य क्षेत्रबाट कर्जाको माग भएमा बैंकहरुले त्यो पैसा लगानी गर्न सक्छन्। 
 
'कर्जाको ब्याज दर नै मुद्रास्पि्कदी दरभन्दा तल आइसकेको छ,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, 'यसलाई व्यवस्थापन गर्न जरुरी छ।' उनले बैंकहरुले आफ्नो तर्फबाट तरलता व्यवस्थापनका लागि अल्पकालिन प्रकृतिका कर्जामा कम ब्याजमै लगानी गर्न थालेको जानकारी दिए।
 
बैंकहरुले दीर्घकालिन प्रकृतिका घर तथा गाडी कर्जाको ब्याज पनि घटाइसकेका छन्। यस्तो कर्जाको ब्याज दर १० प्रतिशतको हाराहारीमा छ। तरलता व्यवस्थापन नभएमा यस्तो कर्जाको ब्याज अझ घट्न सक्ने बैंकरहरु बताउँछन्। 
 
ब्याज दरको सामान्य सिद्धान्त अनुसार निक्षेपको ब्याज दर पनि मूल्यबृद्धि दरभन्दा केही माथि हुनु पर्छ। बैंकहरुले ऋणपत्र लगानीको ब्याज बर्ष दिनदेखि एक प्रतिशतभन्दा निकै पाएकाले कर्जा ब्याज दर नै मूल्यबृद्धि दरभन्दा तल आएका हो। मूल्य बृद्धि दर नौं प्रतिशतभन्दा माथि छ। 
 
राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याज दर धेरै घट्न हुन्न भनेर मौद्रिक नीतिमार्फत विभिन्न मौद्रिक औजारहरु ल्याएको छ। यसमध्ये निक्षेप खरीद गर्ने मौद्रिक औजार प्रयोगमै आइसकेको छ। ८० अर्ब अधिक तरलता भएका बेला २० अर्बको मात्र निक्षेप खरिद गरिएको छ। यसले टे्रजरीको बट्टादरभन्दा केही वढी ब्याज दर कायम भए पनि तरलता व्यवस्थापनमा खासै सहयोग पुर्‍याउन सकेन।
 
राष्ट्र बैंकबाट प्राप्त पछिल्लो विवरण अनुसार, ३० वटा बाणिज्य बैंकसँग अहिले १२ खर्ब रुपैयाँ निक्षेप छ। यसमध्ये नौं खर्ब आठ अर्ब रुपैयाँ लगानी भएको छ। बैंकहरुसँग ८४ अर्ब रुपैयाँ विदेशी मुद्रा नै छ।