बजारमा ठूला लगानीकर्ता सक्रिय, लाभांसका लागि धमाधम सेयर उठाउन थाले, साना बिक्री गर्दै

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
काठमाडौं। साताको पहिलो दिन छ अंकले बढेको सेयर कारोबार क्रमसः घट्न थालेको छ। ब्रोकरहरुका अनुसार साना र मध्यम खालका लगानीकर्ताले सेयर बिक्री गरिरहेकाले बजारमा प्रभाव देखिएको बताउँछन्।

Tata
GBIME
Nepal Life

'अहिले सेयर खरीद गर्नेहरु ठूला र संस्थागत लगानीकर्ताहरु देखिन्छन्,' दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले भने, 'बिक्री गर्नेहरु साना लगानीकर्ता छन्।'

सेयर ब्रोकरहरुका अनुसार, अघिल्लो साता बजार घट्दा सेयर किनेहरुकाले पछिल्लो दुई दिन बजार बढ्दा राम्रो आम्दानी गरेकाले नाफा 'बुक' गर्न सेयर बिक्री गरिरहेको बताउँछन्।

'बजार केही अंकले घटे पनि कारोबार रकममा राम्रै सुधार देखिएको छ,' कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध सञ्चालक भरत रानाभाटले भने, 'अहिले सेयर खरीद गर्नेमा ठूला र संस्थागत लगानीकर्ता बढी देखिन्छन्।'

उनले अहिले ठूला र संस्थागत लगानीकर्ताले लाभांसका लागि पनि सेयर खरीद गरिरहेको जानकारी दिए। गत बर्षको नाफाबाट दुई वटा बाणिज्य बैंकले लाभांस घोषणा गरिसकेका छन्। एभरेष्ट बैंकले १२ प्रतिशत वोनस सेयर र ५० प्रतित नगद लाभांस घोषणा गरेको छ भने नबिल बैंकले २० प्रतिशत वोनस सेयर र ४५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। अन्य फाइनान्स तथा विकास बैंकहरुले पनि लाभांस घोषणा गरिरहेका छन्।

'अहिले ठूला लगानीकर्ताले सेयर बिक्री गरेको देखिँदैन,' सापकोटाले भने, 'बरु किनिरहेका छन्।'

श्रीइन्भेष्टमेन्टका प्रबन्ध सञ्चालक सन्दिप जलानले पनि अहिले साना लगानीकर्ताहरुले सेयर बिक्री गरिरहेको बताए।

गत साता लगातार तीन दिन बजार ठूलो अंकले घटेपछि साना लगानीकर्ताहरु अत्तालिएको ब्रोकरहरुको भनाइ छ। 'उनीहरु अहिले बिक्री गरेर    बाहिरिरहेका छन्,' रानाभाटले भने, 'सानाको सेयर सस्तोमै पाएकाले ठूलाले खरिद गरिरहेका छन्।' बैंक तथा वित्तीय संस्थाले पुँजी बृद्धि गर्नु पर्ने कारणले वोनस सेयर दिने लगभग पक्का भएका संस्थाको सेयर धमाधम सस्तोमा ठूला लगानीकर्ताले किनिरहेका छन्।

बजारमा साना साना कित्ता बिक्रीमा आएको ब्रोकरहरु बताउँछन्। साना कित्ता सेयर नयाँ र साना लगानीकर्ताहरुको हो। यि सेयर बिक्रीमा राख्ने वित्तीकै खरीद भइहाल्ने गरेको ब्रोकरहरु बताउँछन् ।