टेलिकमले सेवा र गुणस्तर सुधारमा १८ अर्ब लगानी थप्ने, तरलता व्यवस्थापनमा लगानीको विकल्प खाेजिने

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
टेलिकमले सेवा र गुणस्तर सुधारमा १८ अर्ब लगानी थप्ने, तरलता व्यवस्थापनमा लगानीको विकल्प खाेजिने


 काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षमा कम्पनीको सेवा विस्तार र गुणस्तर सुदृढीकरणका लागि १८ अर्ब पूँजीगत लगानी गर्ने योजना सार्वजनिक गरेको छ। लगानीमध्ये धेरै पूँजी इन्टरनेट सेवा विस्तार तथा सुधारलाई पहिलो प्राथमिकतामा राखेर विनियोजन गरिएको छ ।

Tata
GBIME
Nepal Life

आइतबार काठमाडौंमा टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रमसहित बजेट विनयोजनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले चालु आर्थिक वर्षमा सेवा विस्तार र गुणस्तर सुदृढीकरण गर्न १८ अर्ब पुँजीगत लगानी गर्न लागेको जानकारी दिए। उनले भने, 'सबैको चासो डाटामा बढ्दै गएको छ । ग्राहकलाई थप सुविधा सहित गुणस्तर सुधारमा ध्यान दिएर काम गर्ने छौँ ।'
 
टेलिकमले जिएसएम/सिडिएमए मोबाइल, वाइम्याक्स, एडिएसएल, इभिडियो, ल्यान्डलाइन लगायतका क्षेत्रमा धेरै बजेट विनियोजन गरेको जनाएको छ ।  

२०७०/७१ को उपलब्धिः
कूल टेलिफोन ग्राहकः १ करोड ९ लाख ४ हजार ४ सय ६२
टेलिफोन वितरणः १७ लाख २८ हजार ४ सय २ लाइन
इन्टरनेट ग्राहकः ४७ लाख २ सय ५२ (७० असार मसान्त भन्दा १४ लाख २२ हजार ६ सय ८५ ले बढी)
राजश्व आर्जनः ३९ अर्ब २६ करोड ८४ लाख
मुनाफाः ११ अर्ब ६८ करोड ११ लाख (अनुमान

लगानी विविधिकरणको अवधारणा अनुरुप कम्पनीसँग रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न लगानीका अन्य क्षेत्र पहिल्याई जोखिम न्यूनीकरण हुने गरी उच्च प्रतिफलयुक्त व्यवसायिक क्षेत्रमा लगानी गर्ने योजना पनि टेलिकमको छ । 
 
टेलिकमले चालु आर्थिक वर्षमा विशेष योजना सहित ७५ जिल्लामा थ्रीजि सेवा विस्तार गर्ने योजना बनाएको छ।  प्रबन्ध निर्देशक आचार्यले भने, 'डाटा सर्भिसको लागि स्थायीत्व स्थापना गर्न बजेटले सहयोग गर्ने छ।'
 
यसैगरी टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा २० लाख नयाँ जिएसएम मोबाइल वितरण गर्ने योजना बनाएको छ। मोबाइल सेवाप्रति ग्राहकको रुचीलाई ध्यानमा राखेर  देशैभरी थ्रीजी सेवा उपलब्ध गराउने र लक्ष्यसहित थप बिटिएस जडान गर्न छिटो भन्दा छिटो काम सुरु गर्ने प्रबन्ध निर्देशक आचार्यले बताए ।
 
उनका अनुसार नारायणी र जनकपुर अञ्चलका तराइ जिल्लाहरुमा अहिले रहेका पुराना उपकरणहरुलाई थप क्षमतायुक्त नयाँ उपकरण राखेर हटाइने छ ।
 
मोबाइल सेट बनाउने कम्पनीहरुसँग बन्डलिंङ गरेर उपभोक्तालाई मोबाइल चलाउन सहज बनाइने योजना पनि टेलिकमसँग छ।
 
यस्तै टेलिकमले सिडिएमए तर्फ पनि दुई लाख लाइन वरतरण गर्ने योजना ल्याएको छ भने ल्यान्डलाइन (पिएसटिएन) सेवा तर्फ पनि २५ हजार नौ सय ५६ लाइन वितरण गर्ने योजना अघि सारेको छ ।
 
यसरी टेलिकमले चालु आर्थिक वर्षमा जिएसएम, सिडिएमए र पिएसटिएनमा गरेर कुल कूल २२ लाख ५८ हजार एक सय ८३ लाइन थप टेलिफोन वितरण गर्ने योजना रहेको जनाएको छ।

प्रबन्ध निर्देशक आचार्य भने , 'सिडिएमए सेवा विस्तार गरी ७५ वटै जिल्लाका ग्रामीण क्षेत्रमा समेत सेवा सञ्चालनमा ल्याइने छ। सिडिएमए मोबाइल सेवाको सेट तथा डाटा कार्ड निर्माता कम्पनीसँग सहकार्य गरि कम्पनीले इभिडियो इनेबल्ड आइपी सिडिएमए सेटसँग बन्डलिङ गरी सेवाको बिक्री वितरण गर्ने कामलाई निरन्तरता दिइने छ।'

यसैगरी टेलिकमले ग्राहकहरुले धेरै गुनासो गरेपछि गुनासालाई केन्द्रीकृत गरी छिटो तथा सरल रुपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क केन्द्र सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ।
 
त्यसो त यो योजना टेलिकमले गएको आर्थिक वर्षमा पनि अघि सारेको थियो । काम भने गर्न सकेको थिएन । यस्तै कम्पनीले सेवाहरुबारे जानकारी दिन मुलुकका प्रमुख शहरहरुमा कस्टुमर एक्स्पेरियन्स सेन्टर (सिइसी) सञ्चालनमा ल्याइने जनाएको छ।
 
दूरसञ्चार क्षेत्रको बजारमा विगत केही वर्षदेखि परम्परागत टेलिफोन सेवाको तुलनामा मोवाइल तथा डाटा (इन्टरनेट) सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि वायरलाइन/वायरलेश ब्रोडब्याण्ड सेवालाई थप प्रबर्द्धन गरिने टेलिकमले जानकारी दिएको छ।
 
ग्राहकको अनपेक्षित जमघट हुने क्षेत्रहरुको पहिचान गरी यसै आर्थिक वर्षभित्र वाइम्याक्स प्रविधि मार्फत थप स्थानहरुमा हटस्पट स्थापना गरी वाइफाइ सेवा वितरण गर्ने कार्यक्रम रहेको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए । यो सेवा मुलुकका ७५ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा सञ्चालनमा ल्याइने छ।
 
सहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका तथा मुलुकका मुख्य–मुख्य सहरहरुमा फाइबर टु होम सेवा जडान गर्ने योजना अनुरुप निकट भविष्यमै काठमाडौंको दरवारमार्ग र काठमाडौ प्लाजामा सेवा सुरु गरिने टेलिकमले दाबी गरेको छ । यो सेवाको सञ्चालनपछि भ्वाइस तथा डाटा सेवा उपलब्ध हुनेछ।
 
ल्यान्डलाइन टेलिफोन सेवामा उपलब्ध भइरहेको एडिएसएल सेवाको क्षमता विस्तार समेत गरिने टेलिकमले चालु आवमा योजना बनाएको छ । यो आर्थिक वर्षमा एडिएसएल सेवाको थप ३२ हजार २ सय २७ लाइन वितरण गर्ने कार्यक्रम रहेको छ।