बाढीपीडितलाई राहात जुटाउन प्रविधिको प्रयोग, इसेवाको साथमा बिजमाण्डू र पहिलोपोष्टको पनि पहल

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014

काठमाडौं । बाढीपहिरो लगायत विभिन्न प्राकृतिक प्रकोपका पीडितको सहयोगका लागि राहत संकलन सजिलो बनाउन पेमेन्ट गेटवे इसेवाले राहत रकम संकलन अभियान सुरु गरेको छ।
राहत रकम दिन मन लागेका तर सजिलो प्रकृयाको अभावले राहत रकम जम्मा गर्न नसकेका सर्वसाधारणलाई लक्षित गरी इसेवाले राहत रकम संकलन थालेको हो।
इसेवा, धर्मटेक, एफवन सफ्टको यो अभियानमा बिजमाण्डूको भगिनी संस्था पहिलोपोस्ट डट कमले पनि साथ दिएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले राहत रकम संकलनका लागि प्रविधिको प्रयोगमार्फत ठूलो जनसंख्यामा पुग्न खोजिएको बताए। 'ठूलो मासमा पुग्नुको अर्थ हो- सानोसानो सहयोगबाट ठूलो रकम जुट्नु', उनले भने।
इसेवाको प्राविधिक परीक्षणकै क्रममा झण्डै ११ हजार रुपैयाँ राहत संकलन भएको सिइओ अलीले जानकारी दिए। इसेवा मार्फत एक रुपैयाँदेखि माथि आफूले चाहेजति सहयोग प्रदान गर्न सकिन्छ।
'प्रविधिको प्रयोगबाट मैले कति सहयोग गरें। म जस्तै अरु मानिसले कति रकम सहयोग गरे र कूल कति रकम सहयोग उठ्यो भन्ने जानकारी पारदर्शी हुन्छ', उनले भने, 'यसले दाताहरुलाई आफ्नो सहयोग दुरुपयोग भएको छैन भन्ने आत्मविश्वास पनि सिर्जना हुन्छ।'
इसेवाले उठाएको रकम प्रधानमन्त्री  राहात कोषमा जम्मा हुने सिइओ अलीले जानकारी दिए। तपाईँ पनि सहयोग गर्न चाहनुहुन्छ भने donation.esewa.com.np मा क्लिक गर्नुहोस्।
इसेवामार्फत कसरी राहात प्रदान गर्न सकिन्छ लगायत सबै जानकारी वेबसाइटमा उपलब्ध गराइएको छ।

Tata
GBIME
Nepal Life