सशिन जोशीको विश्लेषणः ब्याज नबढाए अनुत्पादक क्षेत्रमा लगानी

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
सशिन जोशीको विश्लेषणः ब्याज नबढाए अनुत्पादक क्षेत्रमा लगानी
ब्याज दर निश्चित दरसम्म बस्नु ठिकैै हो तर, त्यो स्तरभन्दा तल गयो भने यसले राम्रो गर्दैन। अहिले भएकै यही हो। केन्द्रीय बैंकले हस्तक्षेप नगरे, अझै ६/८ महिना ब्याज दरमा सुधार आउँछजस्तो छैन।
 
ब्याज दर तल जाँदा बचतकर्तालाई पनि घाटा छ र देशको समग्र अर्थतन्त्रलाई पनि। निकै सस्तोमा ऋण पाइएपछि त्यो अनुत्पादक क्षेत्रमा जाने निश्चित नै हुन्छ। यसको केही लक्षणहरु देखिन थालिसकेको छ।
 
ब्याज दरलाई मैले दुई तरिकाबाट हेरिरहेको छु, निक्षेपकर्ता र ऋणी।
 
निक्षेपकर्ताको तर्फबाट हेर्दा उनीहरुले पाइरहेको ब्याज दर एकदमै कम हो, यो ब्याज दरले उनीहरुको लगानीलाई न्याय गरिरहेको छैन। बजारमा अधिक तरलता भएपछि बैंकहरु ब्याज घटाउन बाध्य हुन्छन्। उनीहरुको पुँजी लागत बढी हुने भएकाले पनि ब्याज दर घटाउनु वाध्यता हुन्छ। 
 
केही बैंकहरुले बचतमा २/३ प्रतिशत ब्याज तोकेका छन्। केहीले मात्र पाँचदेखि साढे पाँच प्रतिशतसम्म ब्याज दिइरहेका छन्। निक्षेपको ब्याज एकदमै कम हुँदा यसले बचतलाई निरुत्साहित गर्छ। ब्याज कम भएपछि पुँजी निर्माणमा नकारात्मक असर निकै नै पर्छ। 

Tata
GBIME
Nepal Life


 

बैंकबाट पाइने ब्याज कम भएपछि बचतकर्ताले बैंकमा पैसा नराखी अलिकति वढी फाइदा हुने क्षेत्रतिर लगानी लैजान सक्छन्। बचतकर्ताहरु बैंकमा पैसा राख्नुभन्दा सुनचाँदी, घरजग्गा, सट्टेवाजी वा सेयर बजारमा लगानी बढाउन थाल्छन्। कसैकसैले त केही वढी आम्दानी हुने देखेर देशवाहिर पनि पैसा लैजान सक्छन्। 
 
गत आर्थिक बर्षको आर्थिक सर्वेक्षणले पनि हाम्रो बचत दर घटेको देखाएको छ। बचत दर घट्नु भनेको उपभोगमा वा अन्य अनुत्पादक क्षेत्रमा लगानी बृद्धि हुनु हो। उपभोग र यस्ता क्षेत्रमा लगानी वढेमा आयात अझ बृद्धि हुन्छ र ब्यापार घाटा थप चुलिन्छ।
 
ऋणीहरुको तर्फबाट हेर्दा ब्याज दर घट्दा बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्नसक्छ, जसले कर्जाको ब्याज दर अझ घटाउँछ। सस्तोमा पैसा पाउँदा यसको फाइदा व्यापारी तथा सट्टेवाजीहरुले उठाउँछन्। 
 
सस्तो ब्याजमा लिएको पैसाबाट बस्तु तथा सामानको आयातमा बृद्धि हुन्छ। अस्वभाविक आयातले उपभोग वढ्छ र बचत थप घट्न थाल्छ। सट्टेवाजहरुले बैंकको पैसा प्रयोग गर्न थाल्छन्। 
 
बैंकहरुले राष्ट्र बैंकको कर्जा विस्तारको लक्ष्यभन्दा वढी लगानी गरेका छन्। गत आर्थिक बर्ष मात्र १९ प्रतिशतले कर्जा वढेको छ। तर यि कर्जा उत्पादनमूलक र दीर्घकालिन क्षेत्रमा जान सकेन। यस्तो कर्जा व्यापारिक तथा अल्पकालिन क्षेत्रमा गएको छ। 
 
ब्याज दरको असर सेयर बजार र घरजग्गामा पर्न थालिसकेको छ। पछिल्लो २/३ महिनायता सेयर बजारमा बैंकको लगानी राम्रैसँग बृद्धि भएको देखिन्छ। बैंकको ब्याजका कारण घरजग्गा तथा रियलस्टेटमा पनि केही चहलपहल सुरु भएको छ। 
 
ब्याज दर निकै कम हुँदाको असर अर्थतन्त्रलाई नकारात्मक पर्छ। यस बारेमा केन्द्रीय बैंकले मौद्रिक औजारहरुमार्फत हस्तक्षेप गरेर ब्याज दर एउटा सीमाभित्र ल्याउन पहल थालिहाल्नु पर्छ। 
 
राष्ट्र बैंकले एउटा स्तरसम्म ब्याज दर हुनु पर्छ भनेर त्यही अनुसार कदम चाल्नु पर्छ। जस्तो नीतिगत ब्याज दरहरु ६/७ प्रतिशत कतिमा राख्ने हो राष्ट्र बैंकले तय गर्नु पर्छ। अहिलेको अवस्थालाई संवोधन गर्न राष्ट्र बैंकले यस्ता कदम तत्काल चाल्नु पर्ने आवश्यकता छ। यसो गरेमा बैंकहरुले पनि निक्षेपको ब्याज दर बढाउँछन्, बचतकर्ताले आकर्षक ब्याज पाउन थाल्छन्, जसले गर्दा कर्जाको ब्याज दरमा पनि केही सुधार हुन थाल्छ।
 
भारतमै हेरौंन, सरकारले ब्याज दरमा परिवर्तन गर भन्दा भन्दै पनि भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रघुराम राजनले मूल्य बृद्धि एउटास्तरमा नआएसम्म ब्याज दर घटाउन मानिरहेका छैनन्। उनले ब्याज दरलाई नियन्त्रण गर्न रिपो र रिभर्स रिपोको दर निश्चित गरेका छन्। अमेरिका र युरोपको केन्द्रीय बैंकहरुले गरेको पनि यही नै हो।
 
तर दुःखका साथ भन्नु पर्छ नेपालमा भने यस्तो भएको छैन। ब्याज दरमा स्थिरता ल्याउने काम राष्ट्र बैंकको हो तर उसले यसको दोश भने बैंकहरुलाई नै दिने गरेको छ।  बैंकले त ऋणको माग आएको बेला लगानी गरेर तरलता व्यवस्थापन गर्ने हो। अहिले लगानीका लागि माग आएको छैन, यस्तो बेलामा तरलता व्यवस्थापनमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका हुन्छ। 
 
(सशिन जोशीसँग कुराकानीमा आधारित,
उनी एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका पूर्वअध्यक्ष हुन्।)