राष्ट्र बैंकका प्रवक्ता भन्छन्– मार्जिन लेन्डिङमा कडाइ गर्ने कुनै नीति छैन, ठूला खेलाडीले खेले

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
काठमाडौं। नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता मनमोहनकुमार श्रेष्ठले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) सम्बन्धि कुनै पनि निर्देशन ल्याउने योजना नरहेको स्पष्ट पारेका छन्।
राष्ट्र बैंकले मार्जिन लेन्डिङमा कडाइ गर्ने हल्ला फैलिएपछि दुई दिनयता सेयर कारोबारमा उच्च गिरावट आएको छ।
 
सेयर बजारमा प्रभाव पार्ने कुनै पनि नीति निर्देशन हामी ल्याउँदैनौं । मार्जिन लेन्डिङको हल्ला मात्र हो,  हामी ल्याउँदैनौं।  ठूला लगानीकर्ता तथा खेलाडीहरुले बजारमा विभिन्न खाले नकारात्मक हल्ला फैलाएर साना लगानीकर्ताहरुको आत्मविश्वास गिराउने काम गरिरहेका हुन् ।

 

बजारको हल्लालाई खन्डन गर्दै श्रेष्ठले नआत्तिकन सेयर खरिद बिक्री गर्न अनुरोधसमेत गरेका छन्।
 
'सेयर बजारमा प्रभाव पार्ने कुनै पनि नीति निर्देशन हामी ल्याउँदैनौं,' उनले बिजमाण्डूसँग भने, 'मार्जिन लेन्डिङको हल्ला मात्र हो,  हामी ल्याउँदैनौं।' उनले ठूला लगानीकर्ता तथा खेलाडीहरुले बजारमा विभिन्न खाले नकारात्मक हल्ला फैलाएर साना लगानीकर्ताहरुको आत्मविश्वास गिराउने काम गरिरहेको बताए।
 
'सेयर बजार घटाउने महत्वपूर्ण भूमिका खेलाडी लगानीकर्ताहरुले गरिरहेका छन्,' श्रेष्ठले भने, 'साना लगानीकर्ताहरु डराउनु पर्ने अवस्था छैन, राष्ट्र बैंकले कुनै पनि नीति निर्देशन ल्याउँदैन।'
 
सेयर बजारमा बैंकको लगानी वढ्न थालेको भन्दै बजारमा मार्जिन लेन्डिङको हल्ला चल्न थालेको छ। राष्ट्र बैंकका अनुसार, सेयर धितो कर्जामा बाणिजय बैंकहरुको कुल कर्जाको दुई प्रतिशतको हाराहारीमा मात्र ऋण लगानी छ। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि दुई प्रतिशतको हाराहारीमा लगानी गरेका छन्। 

Tata
GBIME
Nepal Life