अर्थमन्त्रीले गरे मातहतका महाशाखा प्रमुखसँग छलफल, बजेटको प्रभावकारी अनुगमन गर्न निर्देशन

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
अर्थमन्त्रीले गरे मातहतका महाशाखा प्रमुखसँग छलफल, बजेटको प्रभावकारी अनुगमन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुसँग छलफल गरी बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।
छलफलमा बजेट कार्यान्वयन बारे बुँदागत कार्ययोजना पेश गरिएको छ । अर्थमन्त्री महतले उक्त कार्ययोजनालाई जतिसक्दो छिटो अन्तिम रुप दिनुपर्ने बताए । साथै उनले आर्थिक सुधारसँग सम्बन्धित सबै ऐन कानुनलाई पुष अगावै मस्यौदा र छलफल सकेर मन्त्रिपरिषद्मा पेश गर्ने गरि तयार पार्न निर्देशन दिएका छन् ।
सोमबारको छलफलमा सह सचिवहरुलाई निर्देशन दिँदै अर्थमन्त्रीले बजेटमा उल्लेख गरिएको नवीन बिचार भएका तयार लगानीयोग्य पुँजी नभएका साना तथा मझौला व्यवसाइका लागि दिने स्टार्टअप फण्डमा दाता संस्थाबाट समेत सहयोग लिनु पर्ने बताए । ‘यो फण्डलाई ठुलो बनाइयो भने त्यसले उद्यमशिलता विकासमा उल्लेख्य भूमिका निर्बाह गर्न सक्नेछ’ उनले भने । उक्त अवसरमा अर्थमन्त्री महतले अपार्टमेन्ट खरिदमा गैर आवासीय नेपालीलाई प्रोत्साहित गर्ने व्यवस्था कार्यान्वयन पनि निर्देशन दिएका छन् । गैर आवासीय नेपालीलाई आकिर्षत गर्न सके रियलस्टेट क्षेत्र पुनः मौलाउने घरजग्गा व्यवसायीले बताउँदै आएका थिए ।
बोझको रुपमा रहेका सरकारी संस्थानलाय बन्द गर्ने, भाडामा दिने, निजीकरण गर्ने वा अरु कुन मोडल अवलम्बन गर्न सकिने हो त्यसको खाका पेश गर्न पनि अर्थमन्त्रीले निर्देशन दिएका छन् । बजेटमा उल्लेख भएको कर पुनरावलोकन आयोग गठन, युवा स्वरोजगार कोषको पुनसंरचना, चोभारस्थित कन्टेनर डिपो निर्माणका बारे पनि छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।  छलफलमा राजस्व महाशाखाका प्रमुख राजन खनाल, अनुगमन महाशाखाका प्रमुख रामशरण पुडासैनी, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख नवराज भण्डारी, बजेट महाशाखाका प्रमुख बैकुण्ठ अर्याल, प्रशासन महाशाखाका प्रमुख शिशिरकुमार ढुंगाना, अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी, वित्तिय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद देवकोटा लगायत मन्त्रालयका अधिकारी सहभागि थिए ।

Tata
GBIME
Nepal Life