सुपारी निर्यातमा एकाधिकारको पक्षमा महासंघ छैन: पाण्डे, सरकारी नीति अनुसार काम भइरहेको भनाइ

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
सुपारी निर्यातमा एकाधिकारको पक्षमा महासंघ छैन: पाण्डे, सरकारी नीति अनुसार काम भइरहेको भनाइ
काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघले सुपारीको निकासीमा महासंघले एकाधिकार कायम हुने गरी कसैलाई पनि अनुमति नदिएको स्पष्ट पारेको छ ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले महासंघले कसैलाई फाइदा हुने गरी एक समूहलाई मात्रै निर्यातको स्वीकृति नदिएको बताए ।

नेपालमा उत्पादित सुपारी निर्यातका विषयमा भइरहेको विवादमा महासंघलाई अनावश्यक रुपमा मुछिएको भन्दै अध्यक्ष पाण्डेले किशानको उत्पादन खरीद गरेर त्यसको उचित प्रतिफल दिइरहेका संघसंस्थालाई महासंघले कारोबारका लागि स्वकृति दिइएको बताए ।

महासंघले कृषि विकास मन्त्रालय तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रअनुसार नै उत्पत्तिको प्रमाणपत्र जारी गरेर सुपारी निर्यातको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

'हामीले संस्थाले कति समयसम्म काम गरेको छ भनेर हेरेका छौं,' महासंघका अध्यक्ष पाण्डेले भने, 'तीन महिना अघि संस्था दर्ता गरेर निर्यात गर्ने अनुमति लेउ भन्नेलाई दिएका छैनौं ।'

कृषि विकास मन्त्रालयले गएको जेठ ८ गते गरेको निर्णयमा सुपारी निकासीका लागि नयाँ कम्पनीलाई अनुमति दिने विषयमा कुनै विषय उल्लेख नभएको भन्दै पाण्डेले महासंघले सरकारको निर्णय बमोजिम काम गरेको र एकाधिकारलाई संरक्षण नगरेको दावी गरे ।

कार्यक्रममा महासंघका महाप्रबन्धक डा हेमन्त दवाडीले महासंघमा आवद्ध नै नभएका संस्थालाई निर्यात प्रमाणपत्र दिन दबाब आएको भन्दै त्यस्ता संस्थाले नपाउने बताए ।

वाणिज्य मन्त्रालयले बनाएको कार्यविधि कार्यान्वयन बनाएको भन्दै त्यसलाई महासंघले कार्यान्वयन मात्रै गरेको उनको भनाइ थियो ।

महासंघले अनुमति दिएका संस्थाबाट नियमित रुपमा सुपारी निर्यात भएको र उनीहरुको कामप्रति कुन गुनासो नभएको भन्दै दवाडीले उनीहरुबाट गएको दुई महिनामा मात्रै तीन करोडको सुपारी निकासी भएको बताए ।

नेपालबाट भारतलगायतका मुलुकमा गएको वर्ष ८ हजार मेट्रिक टन सुपारी निर्यात भएको थियो भने यो वर्ष करिब ९ हजार टन सुपारी निर्यातका लागि अनुमति दिइएको महासंघले जनाएको छ ।