नवौँ नाडा अटो सो सकियो, एक अर्ब ५० करोड कारोबार, १४ सय सवारीसाधन बुकिङ, ५५ हजारले हेरे

बिजमाण्डू
२०७१ भदौ २३ गते ००:०० | Sep 8, 2014
नवौँ नाडा अटो सो सकियो, एक अर्ब ५० करोड कारोबार, १४ सय सवारीसाधन बुकिङ, ५५ हजारले हेरे



काठमाडौं  – काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनहरुको बिक्री तथा प्रदर्शनीको लागि गरिएको ९ औं ‘नाडा अटो सो–२०१४’ सम्पन्न भएको छ । ६ दिनसम्म सञ्चालन भएको अटो सोमा एक अर्ब पचास करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो छुट गरिएको करोबार रकम हो । गएको बुधबारदेखि सुरु भएको अटो सो सोमबार सकिएको हो । 

Tata
GBIME
Nepal Life

प्रदर्शनीको अन्तिम दिनसम्ममा को चार पांग्रे र दुई पांग्रे गरी एक हजार तीनसय ७५ सवारी बुकिङ भएको छ । जसमा दुई पांग्रे सवारी (मोटरसाइकल) तर्फ सात सय ५० र चार पांग्रे सवारीतर्फ छ सय २५ वटा बुकिङ भएका छन् । गत वर्ष भन्दा यो वर्ष कार बुकिङ गर्नेहरु बढेका छन्‍ । गएको वर्ष दुई पांग्रे एकहजार दुई सयवटा र चार पांग्रे सवारीतर्फ तीनसय गाडी बुकिङ भएको थिए ।

सवारीसम्बन्धी सम्पूर्ण जानकारी गराउन नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले  विगत नौ वर्षदेखि ‘नाडा अटो सो’ आयोजना गर्दै आइरहेको छ ।

६ दिनसम्म चलेको अटो सो ५५ हजार दर्शकले अवलोकन गरेका थिए । सुरुमा पाँचदिन मात्रै गर्ने भनिएको अटो सोमा दर्शकहरुको उत्साहजनक सहभागिता भएपछि एकदिन लम्ब्याइएको थियो ।

अटो सो–२०१४ मूल आयोजक समितिका संयोजक शम्भुप्रसाद दाहालले मेलाको समापन गर्दै मेला भव्यताको साथ सम्पन्न भएको बताए । उनले भने, 'हामीले ९ वर्षदेखि गर्दै आएको अटो सोमा मानिसहरुको चासो बढ्दै गएको छ । यसले आगामी दिनमा यस्तै मेला आयोजना गर्न थप हौसला मिलेको छ ।'

उनले मेला व्यवसायीका लागि मात्र नभई उपभोक्ताका लागि समेत उपयोगी भएको बताए । मेलामा साना र ठूला सवारी, बैंक/वित्त फाइन्नान्ससमेतका गरी झन्डै एकसय स्टल रहेको थियो । जहाँबाट सेवाग्राहीले अटोमोबाइलसँग सम्बन्धित सूचना तथा जानकारी लिएका थिए ।

प्रदर्शनीलार्ई बढी रोचक तथा दर्शकलाई प्रत्यक्ष सहभागी गराउनका लागि विशेष कार्यक्रमहरूको सञ्चालन गरिएको थियो । प्रदर्शनीमा नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणराज्यजस्ता मुलुकका सवारीसाधन उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको समेत सहभागिता थियो ।

आयोजकले दिएको जानकारी अनुसार मेलामा ६३ वटा प्रदर्शकले भाग लिएका थिए । यो नवौं संस्करण अहिलेसम्मकै भव्य भएको संयोजक दाहालले बताए ।

मेलामा हुन्डाई, किया, होन्डा, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फोर्ड, फियाट, डाइहाट्सु, फक्सवागन, हिरो, बजाज, यामाहालगायत ब्रान्डले सवारी साधन प्रदर्शनीमा राख्नेछन् । मेलामा १२ ब्रान्डका चार पांग्रे तथा ११ ब्रान्डका दुई पांग्रे साधन राखिएको थियो ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पाटर्स, लुब्रिकेन्ट्स, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्री पनि राखिनेछन् ।

दसैंको नजिक आयोजना गर्न लागिएको यस मेलामा व्यवसायीले सक्दो धेरै सवारी बिक्रीका लागि छुट र स्किमको बहार ल्याएका थिए ।

सन् १९९८ देखि प्रत्येक दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको अटो सो सन् २०११ देखि प्रत्येक वर्ष हुँदै आएको छ ।  पहिलो संस्करणमा २६ प्रदर्शकको सहभागिता थियो । अहिले बजार विस्तारसँगै प्रदर्शकसमेत झन्डै ३ गुणाले बढेका छन् ।