नियामक भन्छन्– ब्रोकरको बदमासीले सेयर बजार घट्यो, नडराइ लगानी गर्न नियामकहरुकाे अाग्रह

बिजमाण्डू
२०७१ भदौ २५ गते ००:०० | Sep 10, 2014
काठमाडौं। बजार घटेका बेला सेयर किनेका केही स्टक ब्रोकर तथा ठूला लगानीकर्ता छोटो समयमै नाफा बुक गरेका कारण १७ अंकले बृद्धि भएको बजार फेरि घटेको छ।
 
ब्रोकरहरु आफै संलग्न भएर कारोबार गर्न थालेपछि बजार घटेको हो। केही ठूला लगानीकर्ताहरुसँग मिलेर ब्रोकरहरुले कारोबार गरेका कारण साना तथा नयाँ लगानीकर्ता समस्यामा परेका छन्।
 
सुरुमा करिव १७ अंकले बढेको बजार सवा एक बजेपछि क्रमसः घट्न थालेको हो। उनीहरुले दुई सातायता किनेको सेयरहरु हिजो र आजको पहिलो एक घन्टा मूल्य बढेपछि धमाधम बिक्री गरेकाले बजार घटेको हो।
 
'सेयर बजारमा ब्रोकहरु आफै संलग्न हुँदा बजार घटेको हो। उनीहरु लाभांस र प्रतिफलभन्दा पनि ५/१० प्रतिशत पुँजी बृद्धि हुने वित्तिकै सेयर बिक्री गर्ने गरेको पाइएको छ,' नेपाल स्टक एक्सचेन्जका एक अधिकारीले भने, 'ब्रोकर र उनीहरुको मिलेमतोमा केही ठूला लगानीकर्ताहरु सेयरको चलखेलमा लागेकाले कुनै कारणबिनै बजार घटेको हो।'
 
लाभांसको मूखमा सरकार, नियामक निकायहरुले बजार घट्ने कुनै कारण नभएको बताइरहेका बेला घट्नु भनेको ठूलै चलखेल भएर हो,' ती अधिकारीले भने।
 
ब्रोकरले आफ्ना परिवारको नाममा के कति लगानी गरिरहेका छन् भन्ने प्रस्ट जानकारी नभएकाले उनीहरुले खेल्ने मौका पाइरहेका छन्,' नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने, 'सिडिएस पूर्ण सञ्चालनमा आएपछि उनीहरुको नातेदारको नामावली संकलन गरेर यस्ता कृयाकलापलाई नियन्त्रण गर्न सकिन्छ।'
 
धितोपत्र वोर्डका अधिकारीहरु पनि बजार घट्नुमा ब्रोकरहरु नै मूख्य कारण रहेको बताउँछन्। 'तथ्यांक अद्यावधिक गर्न नसकेको फाइदा ब्रोकरहरुले उठाइरहेका छन्, अहिले उनीहरु नै सेयर किन्ने र बेच्ने खेलमा लागेका कारण बजारमा असर परेको हो,' वोर्डका एक सदस्यले भने। उनका अनुसार, सरकार, नियामक निकायहरु सबैले बजार घट्ने कारण छैन भन्दै गर्दा पनि बजार घट्छ भने त्यहाँ कसैले खेलिरहेको छ भनेर बुझ्न आवश्यक हुन्छ।
 
वोर्ड ती अधिकारीका अनुसार, ब्रोकरहरु केही ठूला लगानीकर्तासँग मिलेर कमिसन वाहेक नाफाको भागेदार समेत हुने गरी कारोबार गरिहेको सुचना आफूहरुसँग आएको छ। 'ब्रोकरका बारेमा थुप्रै गलत कामका सुचनाहरु आइरहेको छ,' ती अधिकारीले भने, 'हामीले ब्रोकरका वद्मासीलाई सुक्ष्म रुपमा हेरिरहेका छौं।'
 
उनले हिजो अस्ति बजार घट्दा लगानीकर्ताहरु आत्तिनु पर्नेमा ब्रोकरहरु बढी आत्तिएको बताए। 'ब्रोकरहरु कमिसनमा काम गर्ने हुन् उनीहरु आत्तिनु पर्ने कारण थिएन,' ती अधिकारीले भने, 'बरु लगानीकर्ताहरु केही निरास भएपनि आत्तिएको अवस्था थिएन।'
 
नियामक निकायहरुका अनुसार, केही ब्रोकरहरु नियमित कारोबारमा आफै संलग्न भएको उजुरी आएको छ। नेप्सेले कारोबार राफसाफ नगर्ने ब्रोकरहरुलाई आउट गर्न थालेपछि बजार घटेको हो। 
 
'आफैले सेयर किनेका ब्रोकहरु राफसाफ गर्न नसकेर आउट हुन  थालेपछि उनीहरुले सेयर बेचेका हुन्,' ती अधिकारीले भने, 'आफ्नो कारणले बजार घट्न थालेपछि दोस नियामक निकायहरुलाई लगाएर उम्किन खोजेका छन्।'

Tata
GBIME
Nepal Life