भिवोर बैंकले भिवोर क्यापिटल आठ करोड रुपैयाँसम्ममा बिक्री गर्दै, केही कर्जा व्यवस्थापन भए चाँडै

बिजमाण्डू
२०७१ भदौ २५ गते ००:०० | Sep 10, 2014
काठमाडौं। भिवोर बैंकको सहायक कम्पनी भिवोर क्यापिटल अर्को समूहले खरीद गर्ने भएको छ। जलविद्युत् र बैंकिङ क्षेत्रमा सक्रिय रहेको गुरुप्रसाद न्यौपानेको समूहले भिवोर  क्यापिटल खरीद गर्ने भएको हो। भिवोर क्यापिटलमा विभोर विकास बैंकको सत् प्रतिशत लगानी छ।
 
'निर्णय भइसकेको छैन, तर हामी खरीदका लागि नियमित छलफलमा छौं,' न्यौपानेले बिजमाण्डूसँग भने, 'हामीलाई पनि एउटा लगानी व्यवस्थापन कम्पनी चाहिएकाले खरीद गर्ने योजना बनाएका हौं।' उनले भिवोर क्यापिटल खरीद गर्ने बारेमा केही चरण छलफल भएको तर टुङ्गो नलागिसकेको जानकारी दिए।
 
भिवोर क्यापिटलको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । भिवोर क्यापिटल र न्यौपाने समूहबीच खरीद बिक्रीको 'डिल' अन्तिम चरणमा पुगेको स्रोतले जानकारी दियो । सात करोड पुँजी भएको कम्पनीका केही आन्तरिक समस्याहरु सुल्झाउने प्रकृयामा दुबै समूह छन्।
 
भिवोर क्यापिटलले आर्थिक अभियान र न्युविजिनेसएज प्रकाशित गर्ने मिडिया हाउस न्युबिजिनेसएज प्रालिमाथि गरेको तीन करोड १० लाख रुपैयाँ लगानी छ। यसमध्ये ८० लाख रुपैयाँ ऋणकै रुपमा लगानी गरिएको स्राेतले बताएको छ। 
 
न्यौपाने समूहले भिवोर क्यापिटल सात करोड दुई लाख रुपैयाँमा खरीद गर्ने प्रस्ताव गरेको छ। भिवोर क्यापिटलले भने आठ करोड रुपैयाँसम्म माग गरेको छ। डेढ करोड रुपैयाँभन्दा केही बढी लगानीको छुट्टै व्यवस्थापन गर्ने गरी दुबै पक्षबीच छलफल भइरहेको छ।


 
'न्युबिजिनेसएज प्रालिमा भएको लगानीलाई कसरी व्यवस्थापन गरेर खरीद विक्री प्रकृया अगाडि बढाउने भनेर दुबै पक्षबीच छलफल भइरहेको छ,' विभोर स्रोतले भन्यो, 'पुँजीलाई मात्र गणना गरेर अगाडि बढ्न सकेमा न्युबिजिनेसएजमाथि गरेको लगानी उठ्दा नाफा हुने भन्दै हामीले कन्भिन्स गर्न खोजिरहेका छौं।' स्रोतका अनुसार साप्ताहिक अभियानलाई स्तरोन्नति गरी दैनिक बनाउने क्रममा त्यसमा लगानी भएको थियो। 
 
न्यौपानेले छलफलका क्रममा रहेकाले आफूले केही पनि बताउन नसक्ने जानकारी दिए। 'मैले सबै कुरा बताउन मिल्दैन, हाम्रो पनि इथिक्स हुन्छ। डिल भइसकेको छैन,' उनले भने।
 
न्यौपानेले आफ्नो समूह अन्तर्गत निकै वटा कम्पनी भएकाले त्यसको लगानी व्यवस्थापना लागि छुट्टै कम्पनी चाहिएकाले छलफल सकारात्मक हिसावले नै अगाडि बढिरहेको बताए।
 
'स्थापना भएको निकै समय वितिसक्दा पनि भिवोर क्यापिटले व्यवसाय विस्तार गर्न नसकिरहेकाले उहाँहरुलाई रणनीतिक साझेदार चाहिएको अवस्था छ,' उनले भने, 'हाम्रो समूहमा पनि निकै वटा कम्पनी भएकाले त्यसको लगानी व्यवस्थापन गर्न छुट्टै कम्पनी चाहिएको छ। दुबैको इन्ट्रेस्ट मिलेका कारणले म्याच हुन सक्छ की भनेर एक दुई चरण कुराकानी भएको हो। डकुमेन्टेसन केही पनि भएको छैन।'
 
न्यौपानेको समूहमा करिव आधा दर्जनभन्दा वढी जलविद्युत कम्पनी छन्। दुई वटा आयोजनाको सेेयर सुचीकरण नै भइसकेको छ। न्यौपाने समूहको मूख्य लगानी रहेको जनता बैंकका सेयर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत छन्। यी सबै कम्पनीको सेयर रजिस्ट्रारको काम गर्न न्यौपाने समूहले भिवोर किन्न चाहेको हो। न्यौपाने समूह भिवोरलाई खरीद गरिसकेपछि सामूहिक लगानी कोष कम्पनीमा लैजाने पक्षमा छ। 

Tata
GBIME
Nepal Life