दशैंका लागि सरकारले चामल, चिनी, नुन र घ्यूमा छुट दिँदै, असोज १ देखि सुपथ मूल्य पसल खुल्दै

बिजमाण्डू
२०७१ भदौ २६ गते ००:०० | Sep 11, 2014
दशैंका लागि सरकारले चामल, चिनी, नुन र घ्यूमा छुट दिँदै, असोज १ देखि सुपथ मूल्य पसल खुल्दै
सविन मिश्र/बिजमाण्डू 
काठमाडौं । चाडपर्व लक्षित गरी सरकारले खोल्ने सुपथ मूल्य पसलबाट ग्राहकले मुख्य चार खाद्य वस्तुमा छुट पाउने भएका छन् । सरकारले चामल, चिनी, नुन र घ्यू सस्तोमा दिने भएको हो ।  

Tata
GBIME
Nepal Life

चामल र नुनमा प्रति किलो दुई रुपैयाँ, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र दुग्ध विकास संस्थानमार्फत घ्यू प्रतिकिलो १० रुपैयाँ छुटमा पाइने भएको छ । 

 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले छुटको प्रस्ताव गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको र अर्थबाट स्वीकृति आउने वित्तिकै कार्यान्वयन हुने बताए । 
 

‘चामल, चिनी र नुनमा छुटका लागि अर्थमा प्रस्ताव पठाएका छौं,’ सुवेदीले भने, ‘खाद्यवस्तुमा छुट दिँदा संस्थानहरुलाई लाग्ने घाटाको शोधभर्ना अर्थ मन्त्रालयले गर्नुपर्ने भएकाले त्यसैको स्वीकृतिको पर्खाइमा छौं ।’ 
 
सुपथ मूल्य पसल सञ्चालन गर्दा संस्थानहरुलाई हुने नोक्सानको शोधभर्ना अर्थ मन्त्रालयले गरिदिने व्यवस्था छ । 
 
आउँदो असोज १ गतेदेखि कात्तिक १४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनको तयारी भइरहेको वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिए । यो वर्षको दशैं तिहार लक्षित गरी काठमाडौं उपत्यकामा ८ वटा र उपत्यका बाहिर ६३ वटा गरी ७१ वटा सुपथ मूल्य पसल सञ्चालन हुने बिडारीले बताए । सुपथ मूल्य पसलका अतिरिक्त विभागले उपत्यका भित्र तीनवटा घुम्ती सुपथ मूल्य पसल सञ्चालन गर्ने उनको भनाइ छ । 
 
सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले निर्णय गर्ने र नेशनल ट्रेडिङ, साल ट्रेडिङ र खाद्य संस्थान मिलेर पसल सञ्चालन गर्ने विभागकी उपमहानिर्देश चन्द्रकला पौडेलले जानकारी दिइन् । 
 
घ्यू १० रुपैयाँ सस्तो हुने
दुग्ध विकास संस्थान (डिडिसी) ले यस पटकको चाडपर्व लक्षित गर्दै सातसय ५० रुपैयाँ पर्ने घ्यू १० रुपैयाँ छुट दिएर सातसय ४० रुपैयाँमा बेच्ने भएको छ । डिडिसीका सहायक महाप्रबन्धक गंगाप्रसाद तिम्सिनाका अनुसार डिडिसीको घ्यू काठमाडौं उपत्यकामा पाँच ठाउँमा र उपत्यका बाहिर डिडिसीका पसलबाट सुपथ मूल्यमा पाइनेछ । 
उपत्यकामा भने रामशाहपथमा लाग्ने सुपथ मूल्य पसल तथा डिडिसीका अरु चार पसलबाट सुपथ मूल्यमा घ्यू पाइने तिम्सिनाले जानकारी दिए । डिडिसीका अरु उत्पादनमा भने चाडपर्वका लागि छुटको योजना नरहेको तिम्सिनाले बताए । 
 
चामलमा छुट, खसीको मूल्य बढ्न नदिने प्रयास
सुपख मूल्य पसलका लागि खाद्य संस्थानले चामलमा छुट दिने भएको छ । खाद्य संस्थानले उपलब्ध भएका सबै किसिमका चामलमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने तयारी गरेको हो । संस्थानले सुपथ मूल्य पसलका तायरी थाल्न मातहतका निकायलाई निर्देशन दिइसकेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्य भने अहिलेसम्म वाणिज्य मन्त्रालयले टुंग्याउन बाँकी छ । 


 

यस्तै संस्थानले दशैंमा मासुका लागि काठमाडौं बाहिरबाट ३४ सय खसीबोका ल्याउने तयारी गरेको उपाध्यायले जानकारी दिए । नेपालमै उत्पादित खसीबोकाले दशैंको माग धान्ने भन्दै उपाध्यायले दाङ, सुर्खेतलगायतका जिल्लाबाट काठमाडौंमा खसीबोका भित्रिने उनले बताए । 
 
खसीबोकाको मूल्य पनि बजार मूल्य भन्दा धेरै हुन नदिने गरी काम भइरहेको उपाध्यायले जानकारी दिए । यस्तै संस्थानले गेडागुडी पनि बजारको प्रचलित भाउ भन्दा सस्तोमा उपलब्ध गराउने गरी गृहकार्य गरिरहेको उनले बताए । 
 
चिनीमा पाँच रुपैयाँ छुट
उपभोक्ताले सुपथ मूल्य पसलमा चिनी बजारभाउ भन्दा पाँच रुपैयाँ सस्तोमा खरिद गर्न सक्ने भएका छन् । ७० रुपैयाँ खुद्रा मूल्य रहेको चिनी छुटपछि प्रतिकिलो ६५ रुपैयाँमा पाइनेछ ।
 
सरकारले यस अघि नै चिनीको मूल्य नबढ्ने बताएको थियो । यो वर्ष नेपालमा उखु धेरै उत्पादन भएको र नेशनल ट्रेडिङले समयमै आवश्यक चिनी खरिद गरेर राखेकाले चिनीको मूल्य नबढ्ने वाणिज्य मन्त्रालयले जनाएको छ । 
 
सुपथ मूल्य पसलको पनि अनुगमन
वाणिज्य विभागले चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलको पनि अनुगमन गर्ने भएको छ । विभागले सुपथ मूल्य पसलबाट सामान खरीद गरी अन्यत्रै लगेर बेच्नेहरु सक्रिय हुनसक्ने भन्दै त्यसको नियन्त्रणका लागि पनि रणनीति बनाएरै अनुगमन गर्न लागिएको विभागकी उपमहानिर्देशक पौडेलले जानकारी दिइन् । 
 
नियमित अनुगमनलाई चाडपर्वमा थप प्रभावकारी बनाउने उनको भनाइ छ । चाडपर्वमा अनुगमन थप प्रभावकारी बनाउन विशेष टोली नै खटाउने उनले बताइन् । 
 
यसैबीच वाणिज्य विभागले गएको आर्थिक वर्षमा ३३ सय ५२ फर्ममा अनुगमन गरेको जनाएको छ । ती मध्ये काठमाडौं उपत्यकाका २९ सय २७ र उपत्यका बाहिरका चारसय २५ फर्ममा अनुगमन गरिएको पौडेलले बताइन् ।