चितवन होटलमा पोखरेली लगानी, एउटै प्याकेज दिइने

बिजमाण्डू
२०७१ भदौ २६ गते ००:०० | Sep 11, 2014
चितवन होटलमा पोखरेली लगानी, एउटै प्याकेज दिइने
सविन मिश्र/बिजमाण्डू
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटल बन्द भएपछि त्यहाँको होटल व्यवसायमा पोखराका व्यवसायीले लगानी गर्न थालेका छन्। होटल तथा रिसोर्ट व्यवसायमा राम्रो ख्याति कमाएका पाेखराका व्यवसायीले चितवनमा लगानी विस्तार गर्न थालेका हुन्। 


 
पोखरामा ख्याती कमाइसकेका बाराही होटल र होटल ल्याण्डमार्कले चितवनमा ठुलो लगानी गरी होटल सञ्चालनमा ल्याएका छन्। बाराही होटलले चितवनको मेघौलीमा ३५ करोड रुपैयाँको लगानी गरी बाराही जंगल लज सञ्चालनमा ल्याएको छ। 
 
यस्तै पोखराकै ल्याण्डमार्क होटलले पनि चितवनको बाघमारामा ल्याण्डमार्क जंगल फरेष्ट पार्क सञ्चालनमा ल्याएको छ। उसले चितवनमा गरेको लगानी भने सार्वजनिक गरेको छैन। 


 
नयाँ लगानीको अवसर
सरकारले निकुञ्ज भित्रका होटल सञ्चालनमा रोक लगाएपछि चितवनमा सिजी ग्रुप, सांग्रिला ग्रुपलगायतले लगानी सुरु गरेका हुन्। यीमध्ये बाराही र ल्याण्डमार्कले सञ्चालनमा ल्याएका हुन्।

Tata
GBIME
Nepal Life

बाराही जंगल लज गएको सेप्टेम्बरबाटै सञ्चालनमा आएपनि यो वर्षबाट 'फुल फ्लेज' मा सुरु हुने बाराहीका महाप्रबन्धक हरि पौडेलले जानकारी दिए। उनका अनुसार गत वर्षबाट सञ्चालनमा आएको यो लज निर्माणाधीन अवस्थामा नै रहेको र यही सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रुपमा सञ्चालनमा आउने छ। 

 
'हामीले नयाँ क्षेत्रमा आफ्नो लगानी विस्तारका लागि चितवनमा लगानी विस्तार गरी होटल सञ्चालनमा ल्याएका हौं,' पौडेलले भने, 'फरक ठाउँमा नयाँ टेस्टका लागि पनि हामी अघि बढेका छौं।'


 
यस्तै ल्याण्डमार्क फरेस्ट पनि गएको जुलाईबाट सञ्चालनमा आएको छ। ५१ कोठा क्षमताको यो लज 'जंगल बेस'को भएको होटलका प्रमुख कार्यकारी अघिकृत सिएन पाण्डेले जानकारी दिए। पोखरा र चितवन सडक दूरीको हिसाबमा पनि छोटो बाटो भएकाले पनि पर्यटकलाई तान्न सजिलो हुने पाण्डेले बताए। 
 
'पोखरामा सिटी बेस होटल छन्, यहाँ जंगल बेस', पाण्डेले भने, 'नेपाल घुम्न आउने पर्यटकलाई एकैपटक हिमालदेखि जंगलसम्म घुमाउन सजिलो हुने भएकाले हामीले नयाँ क्षेत्रमा लगानी थालेका हौं।'
 
फरक संस्कृतिको स्वाद
चितवन र पोखरा फरक भौगोलिक बनावट र फरक संस्कृति भएकाले पनि पर्यटकलाई नयाँ स्वाद दिन होटलमा नयाँ लगानी थपिँदै गएको होटल संघ चितवनका उपाध्यक्ष सुमन घिमिरेले बताए। पछिल्लो एक डेढ वर्षमा चितवनमा होटलमा लगानी बढ्दै गएको र निकुञ्ज आसपासमा ठुलो लगानी पनि बढेको घिमिरेले जानकारी दिए। 


 
'काठमाडौं तथा पोखरा दुवै ठाउँबाट तीन/चार घण्टामा पुग्न सकिने र जंगली जनावरसँग रमाउने पर्यटकका लागि चितवन राम्रो विकल्प हुनसक्छ,' घिमिरेले भने, 'यसले पनि चितवनमा नयाँ लगानीकर्तालाई आकर्षित भएका छन्।'
 
ल्याण्डमार्कका सिइओ पाण्डे पनि सांस्कृतिक विविधिताले चितवनमा पोखरा जाने पर्यटकलाई आकर्षित गर्न सकिने बताउँछन्। 
 
बाहिरकालाई फाइदा 
सरकारले चितवन राष्ट्रिय निकुञ्ज भित्रको होटल बन्द गरिदिएपछि बाहिरका लगानीकर्तालाई चितवनमा होटलमा लगानी गर्ने बाटो खुलेको हो। २०६८ साल असार मसान्तबाट बन्द भएको निकुञ्ज भित्रको होटल सञ्चालनको विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ। 
 
निकुञ्जका संरक्षित वन्यजन्तुको बासस्थानमा असर पर्ने तथा वातावरण विग्रने भन्दै सरकारले होटल सञ्चालनमा रोक लगाएको थियो। 


 
पोखरा पुगेका पर्यटकलाई जंगल घुम्ने अवसर पनि प्रदान गर्ने उद्देश्यले पोखराका व्यवसायी चितवनतर्फ आकर्षित भएको घिमिरेले बताए।
 
पोखराकै आतिथ्य चिवनमा
पोखरामा व्यवसाय सफल बनाएको बाराही समूहले पोखरामा जस्तै पर्यटकलाई चितवनमा पनि आतिथ्यता प्रदान गर्ने जनाएको छ। चितवन जाने पर्यटकलाई फरक स्वाद दिने गरी काम गर्ने पौडेल बताउँछन्। 
यस्तै ल्याण्डमार्कका सिइओ पाण्डे पनि थारु संस्कृति मन पराउने तथा जंगल बेस होटल मन पराउने पर्यटकका लागि आकर्षित गर्ने गरी काम गरिरहेको बताउँछन्। 

'उच्चस्तरीय सेवा प्रदान गरी पर्यटक आकर्षित गर्ने नै हाम्रो उद्देश्य हो,' पाण्डेले भने, 'पोखरामा ताल र हिमाल हेरेका पर्यटकलाई चितवनका जंगलमा तान्ने छौं।'
 
पोखरा–चितवन हवाई उडान तयारी 
पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले पोखरा–भरतपुर उडानको तयारी पनि सुरु गरेको छ।

चीनबाट नयाँ जहाज वाइ १२ ई जहाज काठमाडौं आएपछि उडान सुरु हुने निगमका प्रवक्ता सरोज कसजुले जानकारी दिए। 

 
'हामीले चितवन–पोखरा उडान गर्ने योजना बनाइरहेका छौं, नयाँ जहाज आउने बित्तिकै त्यसले मुर्त रुप लिनेछ,' कसजुले भने, 'पर्यटक धेरै जाने ठाउँ भएकाले यात्रालाई सहज बनाउने उद्देश्यले नयाँ योजना अघि सारिएको हो।'
 
निगमले यस अघि पनि ट्वीनअटर जहाज भएको बेला उक्त रुटमा उडान भरेको भन्दै कसजुले जहाज अभावमा उडान रोकिएको बताए।