जियोनी मोबाइल नेपाल भित्रियो, फिचर फोनको मूल्य चार हजारसम्म, स्मार्टफोन १५ देखि ३५ हजार पर्ने

बिजमाण्डू
२०७१ भदौ २८ गते ००:०० | Sep 13, 2014
जियोनी मोबाइल नेपाल भित्रियो, फिचर फोनको मूल्य चार हजारसम्म,  स्मार्टफोन १५ देखि ३५ हजार पर्ने


काठमाडौं । ४० देशमा बजार विस्तार गरिसकेको जियोनी मोबाइल नेपाल भित्रिएको छ । चीनको सेन्जेनस्थित जियोनी कम्युनिकेसन इक्विपमेन्ट कम्पनीसँगको सहकार्यमा नेपाल कम्पनी टेलिटकले मोबाइल सेट भित्र्याएको हो ।

Tata
GBIME
Nepal Life

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा जियोनी कम्युनिकेसन र टेलिटकका प्रधिनिधिले ‌जियोनी मोबाइलको औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।  

सार्वजनिक कार्यक्रममा भिडियो सन्देश मार्फत जियोनीका अध्यक्ष विलियम लुले नेपालमा यो मोबाइल सेटले राम्रो बजार हिस्सा लिने बताए । भारतमा राम्रो अनुभव बटुलेको जियोनीले नेपालमा पाँच वटा विभिन्न मोडलको स्मार्ट र फिचर फोन ल्याएको छ ।

टेलिटकका डाइरेक्टर रोहित गुप्ताका अनुसार यी फोनको मूल्य तीन देखि ३५ हजार रुपैयाँसम्म पर्छ । उनले भने, 'फिचर फोन तीन र चार हजार रुपैयाँमा बेच्छौँ, स्मार्टफोन १५ हजारदेखि ३५ हजार रुपैयाँ सम्मका छन् ।'

गुप्ताका अनुसार विश्वकै सबैभन्दा पातलो इलाइफ एस ५.५ सेट पनि चाँडै नेपाल भित्रिने छ । जुन सेट नेपाली उपभोक्ताले रुचाउने विश्वास टेलिटकले लिएको छ।

टेलिटकसँगको साझेदारीमा जियोनीले नेपालमा मोबाइल विक्री सुरु गरेको एक वर्ष भित्रै प्रमुख तेस्रो स्थान र दुई वर्षभित्र एक नम्बरमा आउने दावी गरेको छ । ब्रान्डिङका लागि सातदेखि आठ मिलियन डलर (७० देखि ८० करोड रुपैयाँ) खर्च गर्ने योजना जियोनीको छ ।

जियोनीले सन् २००० देखि मोबाइल फोन उत्पादन सुरु गरेको हो । जियोनीका अनुसार भारत, युरोप, अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० देशमा जियोनीले वार्षिक दुईकरोड ५० लाख ह्यान्डसेट बेच्दै आएको छ ।

जियोनीको औद्योगिक क्षेत्र १६ सय करोड नेपाली रुपैयाँको लागतमा सुरु भएको हो। यसको क्षेत्रफल तीन लाख ३० हजार वर्गमिटरमा फैलिएको छ । जसमा आठ हजार जनशक्ति कामदार कार्यरत छन् । यसले वर्षमा चार करोड ह्यान्डसेट उत्पादन गर्दै आएको छ । जियोनीका अध्यक्ष विलियम लुले यो उत्पादन क्षमतालाई दोब्बर बनाएर आठ करोड ह्यान्डसेट पुर्‍याउने लक्ष्य लिएको बताए ।

जियोनीले भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० देशमा दुई करोड ५० लाख सेट बिक्री गरेको दाबी गरेको छ।

जियोनी मोबाइलको आफ्नै सफ्टवेयर अमिगो भएकाले चाँडै स्थापित हुने विश्वास गरेको छ। अमिगो जियोनीले आफैँले बनाएको एप्लिकेसन हो। जुन एकप्लिकेसनले मोबाइल चलाउन सजिलो बनाउने दाबी कम्पनीले गरेको छ । जियोनीका अनुसार मोबाइलका लागि चाहिने धेरैजसो कच्चा पदार्थ आफैंले उत्पादन गर्ने गरेको छ।

'जियोनी मुख्य आठ सहर काठमाडौं, ललितपुर, भक्तपुर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, विराटनगरमा लैजाँदै छौं,' टेलिटकका डाइरेक्टर गुप्ताले भने । जियोनीले दैनिक एक लाख मोबाइल सेट उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइयो ।