पाण्डेले भने, मेरो योग्यतामा प्रश्न उठाउनुको तुक छैन, विधानको व्यवस्थामा विवाद नगर्न आग्रह

बिजमाण्डू
२०७१ भदौ २८ गते ००:०० | Sep 13, 2014
पाण्डेले भने, मेरो योग्यतामा प्रश्न उठाउनुको तुक छैन, विधानको व्यवस्थामा विवाद नगर्न आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले आफ्नो योग्यताको विषयमा प्रश्न उठाउनुको कुनै तुक नभएको बताएका छन् । महासंघको विधानमा अध्यक्ष तथा सदस्यको योग्यता सम्बन्धमा स्पष्ट व्यवस्था रहेको भन्दै पाण्डेले यो विषय अगाडि बढाउनुको कुनै अर्थ नभएको दावी गरे ।
महासंघको एक पक्षले अध्यक्ष पाण्डे विधान बमोजिम अयोग्य भइसकेको बताएपछि पत्रकार सम्मेलन गरेर पाण्डेले जवाफ दिएका हुन् ।
‘विधानको दफा ५ मा योग्यताको प्रश्न उठेमा कार्यकारिणी समितिले निर्णय गर्ने अधिकार रहेकाले यो विषयमा सबै निर्णय महासंघको शुक्रबारको कार्यकारिणी समितिको बैठकले गरिसकेको छ,’ पाण्डेले भने, ‘अर्को कुरा अन्तरिम संविधान २०६३ मा पनि अदालतमा विचाराधीन विषयमा संसदमा पनि प्रश्न उठाउन नपाउने व्यवस्था छ, हामीले कसरी गर्न सक्छौं ?’
यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र अन्तरिम आदेशसमेत जारी भइसकेकाले थप छलफल गर्नु उचित नभएको उनले बताए । आफ्नो योग्यताको विषय अहिलेसम्म एजेण्डाको रुपमा बैठकमा प्रवेश नगरेको भन्दै पाण्डेले कसैले बाहिर बोल्दैमा त्यो विषयमा थप निर्णय गरिरहनु नपर्ने स्पष्ट पारे ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले महासंघको पूर्ण बैठकमा नबसेर बाहिर बाहिर बैठक बहिस्कार भनेर हिँड्नुको कुनै अर्थ नभएको बताए । महासंघको विधान संशोधन समितिका संयोजक समेत रहेका ढकालले महासंघको विधान संशोधनको अधिकांश काम सकिएको र देश संघीय संरचनामा प्रवेश गर्ने भएकाले त्यसको मोडालिटी हेरेर काम अगाडि बढाइने जानकारी दिए ।
कार्यकारिणीबाट १५ बुँदे निर्णय
महासंघको शुक्रबार बसेको चौथो कार्यकारिणी समितिले १५ बुँदे निर्णय सर्वसम्मत रुपमा गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । ‘२६ जना भए कोरम पुग्ने अवस्थामा हामी ३७ जना उपस्थित थियौं,’ पाण्डेले भने, ‘हामीले सर्वसम्मत रुपमा सबै निर्णय गरेका छौं ।’
महासंघको बैठकले पूर्वअध्यक्ष ढकाललाई विशिष्ट सदस्यमा मनोनयन गरेको छ । यस्तै महासंघमा अनुशासनहिनता बढेको भन्दै अर्का पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको अध्यक्षतामा अनुशासन समितिसमेत गठन गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।
यस्तै बैठकले अञ्जन श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई कार्यकारिणी सदस्यमा मनोनयन गरेको छ । यस्तै अवदेखि बैठकमा औपचारिक रुपमा उपस्थिती जनाएपछि मात्रै सदस्यदलाई बोल्न दिइने निर्णय पनि बैठकले गरेको छ ।
महासंघको बैठकले लोडसेडिङ अन्त्य गर्न फास्ट ट्रयाकबाट विद्युत उत्पादनमा निजी क्षेत्रको सहभागिता वृद्धिका लागि सरकारसँग आग्रह पनि गरेको छ ।
यस्तै उद्योग वाणिज्य संघको प्रतिष्ठासँग जोडिएका फर्म, उद्योगको दर्ता तथा नवीकरणमा उद्योग वाणिज्य संघको अनिवार्य सिफारिसको लागि पनि सरकारसँग माग गरेको छ । यस्तै वित्तीय संस्थाका संचालकले उक्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको संशोधनका लागि राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद तथा प्राकृतिक विपत्तिमा सहयोग गर्ने उद्देश्यले कोष पनि खडा गर्ने निर्णय गरेको छ । यस्तै उद्योग वाणिज्य दिवसका अवसरमा पत्रकारलाई पनि सम्मान गर्ने भएको छ ।
अध्यक्षमा हारेपछि टिभीको दुरुपयोग
नेपाल उद्योगा वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजन शर्माले चुनावमा हार स्वीकार गर्न नसकेपछि अर्को पक्षले मिडियाको दुरुपयोग गरेको आरोप लगाए । ‘चुनावमा भाग लिएपछि हार स्वीकार गर्न सक्नुपर्छ,’ महासंघको महाधिवेशनमा अध्यक्षका प्रत्यासी एवं पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारतर्फ संकेत गर्दै श्रेष्ठले भने, ‘आफ्नो टिभीको प्रयोग गरेर अनर्गल प्रचार गर्न पाईंदैन ।’
यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकासहितको टोलीले पाण्डेले अध्यक्षको वैधानिक हैसियत गुमाइसकेको भन्दै शुक्रबारको बैठक बहिष्कारको घोषणा गरेका थिए । उनीहरुले पाण्डेले आफूमाथि लागेको फैजदारी अभियोग स्वीकार गरिसकेको भन्दै विधानत उनी निष्कृय भइसकेको दावी गर्दै आएका छन् ।

Tata
GBIME
Nepal Life