म पाँच वर्ष हरेक वर्ष नेपाललाई एउटा जलविद्युत आयोजना दिन्छु, गुरु न्यौपानेको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
म पाँच वर्ष हरेक वर्ष नेपाललाई एउटा जलविद्युत आयोजना दिन्छु, गुरु न्यौपानेको अन्तर्वार्ता
वैदेशिक लगानीबाट नेपालमा केही गर्न सकिन्छ भन्ने कुरा गर्छन् साथीहरु । मलाई त्यसमा पटक्कै विश्वास छैन । पैसा यहीँ भित्रै छ । मेरा लागि तपाई नै एउटा लगानीकर्ता हो । चिन्दै नचिनेको मान्छेले ममाथि कतै लगानी गर्छ ? पैसा यहीँभित्र छ, त्यो नउठाउने अनि अन्त खोज्दै हिँड्ने पनि हुन्छ ? म यहीँबाट लगानी जुटाउँदै व्यवसाय विस्तार गरिरहेको छु

नेपालमा हामीले पहिले कुरा गथ्र्यौं एब्सुलुट प्रोभर्टी भनेर, अहिले त्यो अवस्था छैन । अहिले रिलेटिभ प्रोभर्टि मात्र छ । एउटाभन्दा अर्को गरिव होला, त्योभन्दा अर्को अझ गरिव होला । तर लास्टमा पर्ने गरिव पनि खान नपाउने गरिव छैन । अहिले हामी पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङतिर प्रोजेक्ट गरिरहेका छौं, हरेक ठाउँको मानिस आधारभूत आवश्यकताको स्तरभन्दा माथि छ । ती सबै हाम्रा सम्भावित लगानीकर्ता हुन्

सुरुको हाम्रो प्रोजेक्ट पिलुवा खोला हो । तीन मेगावाटको पावर हाउस बनाउँदा एक जना स्थानीय व्यक्ति हुनुहुन्थ्यो । उहाँहरु गरिव हुनु हुन्थ्यो । हाम्रो प्रोजेक्ट बनाउँदा उहाँहरुले हामी र हाम्रो सबै स्टाफलाई भात पकाएर ख्वाउनु भयो । भात ख्वाएर जुन पैसा उहाँहरुले बनाउनु भयो त्यो पैसा हामीले सेयरमा लगानी गरिदियौं । अहिलेको अवस्थामा उहाँ करोडपति हुनु भएको छ । उहाँले हामीलाई विश्वास गरेर उधारोमा भात ख्वाउनु भयो । यही कुरा हामीले अरुमा कसरी रेप्लिकेट गर्ने ?

मेरो सेयर बढाउनका लागि कसैले पनि ब्याक सपोर्ट गरेको छैन । हाम्रो सेयर लोकल कुखुराजस्तो नेचुरेल लेभलमा छ । अरु वोइलरले बजारलाई खत्तम पारेर मूल्य वढाएका हुन् । जलविद्युत्को सेयरमा खेलेर मूल्य अनावश्यक रुपमा वढाउने एक/दुई जना मात्र छन् । ती व्यक्तिले जुनको सेयर छोयो  त्यसको मात्र वढ्ने गरेको छ । एभरेष्ट बैंक, नेशनल हाइड्रोको सेयर हेर्नुस, केही व्यक्तिले मात्र बढाएको देखिन्छ । तस्करीको पैसा यतातिर लगाएर सेयर बजारलाई विगारी रहेको अवस्था छ ।

Tata
GBIME
Nepal Life

कुनै समय नेपाल राष्ट्र बैंकमा जागिर खाने गुरुप्रसाद न्यौपानेसँग अहिले आधा दर्जन जलविद्युत कम्पनीमा बहुमत सेयर हिस्सा छ, उनी जनता बैंकको महत्वपूर्ण संस्थापक हुन्, न्यौपानेको रियलस्टेटमा करोडौं रुपैयाँको लगानी छ । पूर्वी पहाडको मध्यमवर्गीय परिवारबाट राजधानी झरेको केही वर्षमा कोही कसैले यसै अर्बौं रुपैयाँको सम्पत्ति सिर्जना गर्न सक्छ ? के त्यसका पछि राजनीतिक शक्तिले काम त गरिरहेको छैन्, बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले सोधे, ए, त्यसो भए तपाई राजनीतिक शक्तिको दुरुपयोग गर्नु हुन्न ?

तपाईंको जीवन पनि जागिरबाट सुरु भयो, अहिले हाइड्रो, बैंक, रियलस्टेटमा लगानी गरिरहनुभएको छ, ठूलो व्यवसायीका रुपमा स्थापित हुनुभयो ?
मैले त्रिभूवन विश्वविद्यालयबाट १९७७ मा अर्थशास्त्र पढें । मैले संस्कृत पनि पढेको छु । काठको धुलोमा लेखेर पढेका कारण मेरा अक्षर पनि राम्रा छन् । राष्ट्र बैंकमा जागिर खाएँ, त्यही हुँदा हुँदै एउटा स्कलरसिपमा थाइल्यान्डमा फाइनान्सियल इकोनोमिक्स पढें । त्यही भएर म नेचुरल रिसोर्सेजका बारेमा राम्रैसँग जान्दछु । हाइड्रो, फरेस्ट्रीका बारेमा मलाई राम्रो ज्ञान छ । मैले व्यवसाय लहडका भरमा सुरु गरेको होइन, जानेर गरेको हो । म व्यवसायको जरा कन्दरा जान्दछु ।

वैदेशिक लगानीबाट नेपालमा केही गर्न सकिन्छ भन्ने कुरा गर्छन् साथीहरु । मलाई त्यसमा पटक्कै विश्वास छैन । पैसा यहीँ भित्रै छ । मेरा लागि तपाई नै एउटा लगानीकर्ता हो । चिन्दै नचिनेको मान्छेले ममाथि कतै लगानी गर्छ ? पैसा यहीँभित्र छ, त्यो नउठाउने अनि अन्त खोज्दै हिँड्ने पनि हुन्छ ? म यहीँबाट लगानी जुटाउँदै व्यवसाय विस्तार गरिरहेको छु । काम पनि राम्रोसँग भइरहेको छ ।

तपाई जलविद्युत्मा आउनु भयो, त्यो पनि धेरै लगानीकर्ताबाट पैसा जुटाएर ?
जलविद्युत्मा सत् प्रतिशत मुनाफा छ । यसमा लगानीका लागि धेरै जनालाई सहभागी गराउन सकिन्छ । हामीले अहिलेसम्म गरेको काम धेरै लगानीकर्तासँग मिलेर अगाडि बढ्ने । आगामी दिनमा पनि हामी यही गर्छौं । हामी लगानी गर्ने मान्छेलाई प्लेटफर्म दिन्छौं, यही हाम्रो फिलोसोफी पनि हुनेछ ।

कावेली तपाईहरुले अगाडि वढाइ रहनु भएको छ, यो प्रोजेक्ट कुन चरणमा छ ?
यो आयोजनाको पुँजी स्रोतको टुङ्गो लागिसकेको छ । २५ मेगावाटको यो आयोजनाका धेरै काम अगाडि वढिसकेका छन् । इक्विटी क्यापिटल क्लोज भइसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ऋणको टुङ्गो लागिसकेको छ ।

यो आयोजना अरुण भ्यालीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । हामीसँग रहेकै विज्ञले चार÷पाँच बर्ष काम गरेर यो प्रोजेक्टको सबै काम सिध्याइसकेका छौं । अरुण भ्याली भनेको तीन मेगावाट विद्युत् उत्पादन गर्ने कम्पनी हो । हामीले सोच्यौं, अब हामी कति जोखिम उठाउन सक्छौं ? हाम्रो पुँजी ३५ करोड पुगेको थियो । त्यहींबाट हामीले एक बराबर एकको अनुपात हकप्रद सेयर उठायौं । त्यो पैसा हामीले पुरै नयाँ प्रोजेक्टमा हाल्यौं ।

जसले अरुणभ्यालीको सेयर किनेको छ उहाँहरुले ३३ रुपैयाँ बराबरको नाफा कावेलीबाट प्राप्त गर्नु हुनेछ । थप पैसा लगाउनु पर्दैन । अब अरुणभ्यालीको वास्केटमा आफ्नै प्रोजेक्टको मुनाफा आउँछ, हामी जनता बैंकको मुख्य सेयरधनी भएकाले त्यहाँको लाभांस पनि आउँछ । त्यो आएन भने पनि जनता बैंकको सेयर बजारमा राम्रै मूल्य छ । अर्को बर्षदेखि त्यो सेयर बेच्न पाइन्छ । रिडी हाइड्रोको पनि हामी मुख्य लगानीकर्ता भएकाले त्यहाँबाट पनि हामीलाई आम्दानी हुन्छ ।

तपाईले अघि नै भन्नु भयो बाहिरको पुँजी होइन यहीँबाट जुटाउनु पर्छ भनेर ?
मेरो पहिलो सिद्धान्त नै त्यही हो, पुँजी भित्रैबाट निर्माण गर्नुपर्छ । घरकै पैसा बढाउनु पर्छ । नेपालमा हामीले पहिले कुरा गथ्र्यौं एब्सुलुट प्रोभर्टी भनेर, अहिले त्यो अवस्था छैन । अहिले रिलेटिभ प्रोभर्टि मात्र छ । एउटाभन्दा अर्को गरिव होला, त्योभन्दा अर्को अझ गरिव होला । तर लास्टमा पर्ने गरिव पनि खान नपाउने गरिव छैन ।

अहिले हामी पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङतिर प्रोजेक्ट गरिरहेका छौं, हरेक ठाउँको मानिस आधारभूत आवश्यकताको स्तरभन्दा माथि छ । ती सबै हाम्रा सम्भावित लगानीकर्ता हुन् । उनीहरुले सही शिक्षा, सही अवसर र सही दिशा पाएको खन्डमा उनीहरु लगानीकर्ताका रुपमा आउँछन् । तपाईहरुले पनि कसलाई प्रमोट गर्ने र कसलाई प्रमोट नगर्ने भनेर बुझ्न आवश्यक छ ।

त्यसो भए, तपाईहरुले एउटा प्रोजेक्टबाट भएको नाफा अर्को प्रोजेक्टमा पुन लगानी गर्ने मोडललाई प्राथमिकता दिइरहनु भएको छ ?
संसारकै धनीको सुचीमा सूचिकृत मानिसहरु पनि नेपालमा छन् । उसले नेपालको अर्थतन्त्रमा गरेको योगदान र मैले गरेको योगदान तुलना गर्नुस् न कसको वढी छ । मेरो लगानीको केन्द्र, मेरा लगानीको स्वार्थ भनेको मेरो मातृभूमि नेपाल मात्र हो । म नेपालभन्दा वाहिर जान सक्दिन । नेपालमा कस्ता मान्छे धेरै भए भने यहाँ कमाउने अनि वाहिर लैजाने । नेपालमा कमाउने र अर्कोतिर जाने थलो मात्र भयो, यहाँको कमाइबाट पुन लगानी गर्ने थलो हुन सकेन । यहीं आम्दानी गरेपछि पुन लगानी गर्नुपर्छ ।

तपाईले जुन मोडलको कुरा गर्नु भएको छ, त्यो मोडललाई आत्मसाथ गर्दै अन्य लगानीकर्ता पनि अगाडि देखिन थालेका छन् ?
मैले पुरै उत्तर दिन पाइरहेको छैन । चार जना मिलेर केही गरौं न भन्ने त कति छन् कति । भवन भट्टले जापानबाट आएर मलाई भने– दाई हामी मिलेर एयरलाइन्स सुरु गरौं । मैले भने भवनजी तपाई मसँग नगर्नुस् । तपाई जहाज किन्न सक्नुहुन्छ म सक्दिन ।

गाउँमा मलाई एउटा अन्तर ज्ञान प्राप्त भयो । सुरुको हाम्रो प्रोजेक्ट पिलुवा खोला हो । तीन मेगावाटको पावर हाउस बनाउँदा एक जना स्थानीय व्यक्ति हुनुहुन्थ्यो । उहाँहरु गरिव हुनु हुन्थ्यो । हाम्रो प्रोजेक्ट बनाउँदा उहाँहरुले हामी र हाम्रो सबै स्टाफलाई भात पकाएर ख्वाउनु भयो । भात ख्वाएर जुन पैसा उहाँहरुले बनाउनु भयो त्यो पैसा हामीले सेयरमा लगानी गरिदियौं ।

अहिलेको अवस्थामा उहाँ करोडपति हुनु भएको छ । उहाँले हामीलाई विश्वास गरेर उधारोमा भात ख्वाउनु भयो । यही कुरा हामीले अरुमा कसरी रेप्लिकेट गर्ने ? यही सोचाइबाट आज हामीसँग धेरै लगानीकर्ता हुनुहुन्छ । यत्रो संस्थामा मेरो त सीमित लगानी हो । बाँकी त आम सर्वसाधारणकै हो । हामीलाई विश्वास गर्ने सर्वसाधारण आज धनी भएका छन् ।

तपाईहरुको वृद्धि राम्रो छ तर पनि बजारमा तपाईहरुको सेयर मूल्य अन्यभन्दा कम नै देखिन्छ ?
सही कुरा हो । मेरो सेयर बढाउनका लागि कसैले पनि ब्याक सपोर्ट गरेको छैन । हाम्रो सेयर लोकल कुखुराजस्तो नेचुरेल लेभलमा छ । अरु वोइलरले बजारलाई खत्तम पारेर मूल्य वढाएका हुन् । जलविद्युत्को सेयरमा खेलेर मूल्य अनावश्यक रुपमा वढाउने एक/दुई जना मात्र छन् । उनीहरुले खत्तम पारेका छन् । ती व्यक्तिले जुनको सेयर छोयो  त्यसको मात्र वढ्ने गरेको पाइएको छ । एभरेष्ट बैंक, नेशनल हाइड्रोको सेयर हेर्नुस, केही व्यक्तिले मात्र बढाएको देखिन्छ । केही व्यापारी पनि यसमा सक्रिय छन् । तस्करीको पैसा यतातिर लगाएर सेयर बजारलाई विगारी रहेको अवस्था छ ।

मलाई के लाग्छ भने, नेपालको सेयर बजारको नेचुरल ग्रोथ हुनुपर्छ । नेचुरल ग्रोथले गएको भए आजको दिनमा नेपालको सेयर बजार तीन हजारको हाराहारीमा पुग्ने थियो । बजारमा जेन्युन प्रडक्टहरु आएको भए, बजार निर्माता आएको भए बजार धेरै व्यवस्थित भइसक्ने थियो ।

जलविद्युत्कै कुरा गरौं । जसले निर्माण गर्ने हो उसले बीचबाट छाडिदिने, खासगरी जलविद्युतको क्षेत्रमा यस्तो भइरहेको छ । तपाईलाई पनि केही मान्छेले के भन्छन् भने तपाई एउटा राम्रो नाफा बनाइसकेपछि आफ्ना सेयर बेच्नु हुन्छ । अनि आफूले सुरु गरेको पुरानो कम्पनीलाई माया गर्नु हुन्न ?
त्यस्तो हुँदै होइन । कसैले यस्तो गर्छ भने त्यो गलत हो । मैले त्यस्तो गरेको छैन । गर्नु पनि परेको छैन । गर्दा पनि गर्दिन । म आफ्नो क्षेत्र कहिले छाड्दिन । अरुणभ्यालीमा हामीलाई देखेर जसले लगानी गरेका छन् त्यो कम्पनी मैले छाड्ने भन्ने हुँदैन । त्यहाँ हाम्रै बहुमत छ । ७० प्रतिशत सेयर हाम्रै सेयर हो । मेजर विजिनेस हाम्रो जलविद्युत् नै हो ।

अरुण, कावेली, त्रिशुली गल्छी गर्ने योजनामा छ । यत्रो बर्ष मानिसले झोलामा खोला लिएर बसे तर तपाईले त धमाधम आयोजना अगाडि वढाउनु भयो । दर्जन पुग्न लागे । सम्भव कसरी हुन्छ ?
मसँग जलविद्युत्को क्षेत्रमा धेरै मान्छे लागेका छन् । म काम गर्दा कसरी गर्छु भने एउटा कर्पोरेट प्रणाली बनाएर गर्छु । एउटा कम्पनी एउटा व्यवस्थापक । हामीले हेर्ने भनेको सञ्चालक समितिमा बसेर नीतिगत कुरा मात्र हो ।
भन्नेले गुरुप्रसाद फटाहा हो पनि भन्छन् । किनभने यसले चाँडै साधारणसभा गर्छ । यसले छिटो लाभांस वाँड्छ । कम्पनी आफैले होल्ड गर्छ । यो सबै जायज कुरा हो । मैले भन्ने गरेको छु– मैले गरेको कामबाट कि सिक्नु होस् नभए यसलाई आलोचना नगर्नुस् । हामीले सबै कम्पनी एउटा सिस्टम बनाएर चलाएका छौं ।

हाम्रो तीन वटा पावरहाउस चलिरहेको छ । मसँग तीन थरी मान्छे छन् । यहाँबाट म्यानेजमेन्ट हुन्छ । अर्को कन्सल्टेन्ट हुनुहुन्छ । उहाँहरुले डिजाइन गर्नु हुन्छ । काम गर्ने कन्ट्रयाक्टरहरु छन् । उनीहरु सबै नेपाली हुन् । हामीसँग सबै टेस्टेट मान्छे छन् । अहिलेको अवस्था हेर्दा, अब हामी हरेक बर्ष देशलाई एउटा प्रोजेक्ट दिन्छौं ।

पाँच बर्षसम्म पाँच वटा ?
एक नम्बरमा एपी पावरको नौगाड आयोजना । यो साढे आठ मेगावाटको छ । दोस्रोमा कावेली २५ मेगावाट क्षमताको आउँछ । तेस्रो इवा खोला ९.९ मेगावाट क्षमताको । चौथोमा अपर इवा भन्ने आउँछ ९.७ मेगावाटको । यससँगसँगै अपर नौगाड भन्ने आउँछ आठ मेगावाटको । त्यसपछि अन्तिममा अपर चमेलिया आउँछ । यो ३५ मेगावाटको आउँछ । भगवानको आशिर्वाद भयो भने यो बीचमा त्रिशुली गल्छी बनाउने जिन्दगीको धोको छ ।

गल्छीमा त तपाईले ठूला लगानीकर्तालाई नै समाउनु भएको छ । बन्ला नि त यो ?
नेपालको ठूलो लगानीकर्ताले गल्छी छाडिसकेको अवस्था छ । यो आयोजना वहुउद्देश्यीय हो । यो आयोजना राजधानीको गहना नै हो ।

यसलाई केले रोक्यो ?
मसँग रणनीतिक साझेदार भएनन् । यसका लागि रणनीतिक साझेदार चाहिन्छ । यो आयोजना मेरो क्षमताभन्दा माथिको हो । मेरो क्षमता भनेको २५ मेगावाटको कावेली मानेको छु । अघि उल्लेख गरेका आयोजना निर्माण भइसकेपछि मलाई लगानीको समस्या हुँदैन । त्यही पैसा घुमाउने हो । बैंकको ऋण तिरिदिने, खर्च भुक्तानी गर्ने हो ।

तपाईको दार्चुलाको आयोजना सरकारले खारेज गरिदियो है ?
त्यो मुद्दामा छ । २० मेगावाटको आयोजना हो । अर्को पनि मुद्दामा छ, त्यो विनोद चौधरीसँग भएको परियोजना हो । चौधरीजीसँग भएको आयोजना पनि अगाडि वढ्छ, तर त्यो आयोजनामा उहाँ रहनुहुन्न । उहाँहरु अर्को प्रोजेक्टमा हुनुहुन्छ । त्यो आयोजनाका लागि हामीले भारतीय पार्टनर ल्याएका थियौं । त्यो पार्टनर भारतमा टाट उल्टियो । उसले म अहिले नेपालमा लगानी गर्न सक्दिन भनेर हात उठाइदियो । अहिले भएको त्यो हो । चौधरीजीले रणनीतिक साझेदार नभइ म लगानी गर्दिन भन्नु भएको छ । हामीले त्यही भएर अर्को साझेदार खोजिरहेका छौं ।

तपाईलाई केन्द्रमा राखेर एउटा प्रश्न गरौं । तपाईले घोषणै गर्नुभयो हरेक बर्ष  एउटा आयोजना राज्यलाई दिन्छु । योभन्दा अगाडि पनि दिइसक्नु भएको छ । तपाई आफैलाई महशुस भएको छ कि छैन नेपालमा जलविद्युत्मा छाडापन देखियो, एउटा बलियो नियामक निकाय चाहिन्छ भनेर ?
चाहिन्छ । नहुँदा धेरै समस्या भएका छन् । जलविद्युत् भनेको मजस्तो ज्याद्रो मान्छेले मात्र गर्न सक्ने भएर मात्र हो । नत्र कहाँ सम्भव छ ? नियम कानुन केही छैन, मात्र मुखको भरमा छ । अख्तियारदेखि सबै हाम्रो पछाडि लागेका छन् । मेरो विरोध भनेको झोलामा खोलामा हो । यसको घनघोर विरोधी म । राजश्व तिरेर, सरकारले बनाएको कानुन बमोजिम लिएको लाइसेन्स पनि कहीँ झोलामा खोला हुन्छ ? हामीसँग पानी र जनशक्ति छ । यो स्रोतलाई भत्काइ दियौं भने देश बर्वाद हुन्छ । यसलाई नाफामूलक बनाएर लैजानुपर्छ ।

नेपालमा तपाईले पानीमा जे देखिरहनु भएको छ, अर्कोले त्यो किन देख्न नसकेको हो ? लगानीकर्ताले त झन् सुँघेर थाहापाउनु पर्ने होइन र ?
किन लगानी गर्ने ? मुनाफाका लागि । यो व्यवसायमा तत्काल मुनाफा हुँदैन । यो मध्यकालिन आम्दानीको स्रोत हो । मेरो अरुणभ्यालीको सेयर हेर्नुस् यसको मूल्य करिव सात सय रुपैयाँ । १५ बर्ष भयो यसमा लगानी गरेको । यत्रो समय किन पर्खिने ? यस्तो सोचाइ राख्नु हुँदैन । दीर्घकालिन सोच राखेर यो क्षेत्रमा आउनुपर्छ । अलिकति नजानेका मान्छेहरु यो क्षेत्रमा आए, विषयबस्तु नपढेर मान्छे आए । जसले पनि समस्या भएको हो । केही मान्छेहरु ठग्नकै लागि यो क्षेत्रमा पनि आएका छन् । फेरि त्यही मान्छेलाई बैंकले पत्याएका छन् ।

तपाईको व्यवसायमा डाइभर्सिटी पनि देखिएको छ । तपाई जलविद्युत् हुँदै बैंकमा लाग्नु भयो । अब इन्भेष्टमेन्ट म्यानेजमेन्टका लागि भिवोर क्यापिटल किन्दै हुनुहुन्छ ?
बैंक भनेको गहना हो । कसले मलाई ३/४ वटा प्रोजेक्टमा फन्डिङ गर्छ ? म त फलानो बैंकको संस्थापक डाइरेक्टर, अध्यक्ष हो भनेपछि पत्याउने अवस्था छ । एउटा स्थापित विजिनेस हाउस हुनका लागि सबैभन्दा ठूलो भूमिका अहिले म बसेको विल्डिङ (थापाथलीस्थित ट्रेड टावर)ले खेलेको छ । यो मेरो विल्डिङ हो भन्ने वित्तिकै मान्छे झस्किहाल्छ । सबै कुरा हेरिसकेपछि मान्छेहरु मलाई विश्वास गर्न वाध्य हुन्छन् ।

अर्को कुरा पनि छ । म वाहिर फेर लगानी गर्दिन । म जे गर्छु यहीँभित्र आफ्नै देशमा केही गर्छु है भनेपछि मान्छेको विश्वास अझ बढी हुन्छ । हामी यो क्षेत्रमा जसरी पारङ्गत भएर आयौं नि, अब लो कस्टमा हामी मात्र काम गर्न सक्छौं । अहिले हामीसँग मान्छेहरु छानिदै-छानिदै अनुभवी र खारिदै गएको अवस्था छ । कुनै पनि प्रोजेक्टलाई हामी १५/१६ करोड प्रति मेगावाटका दरमा बनाउन सक्यौं भने २० प्रतिशत प्रतिफल ग्यारेन्टेड छ ।

म तपाईहरुलाई एउटा उदाहरण दिन्छु । रिडीको सेयर निष्कासन गर्दा धेरै मान्छेको भीड देखियो । म किन मान्छेहरु यसरी चिठ्ठामा पर्ने सेयरका लागि लाइन लागेर बसेका छन्, भनेर लुरेलाम्रे बनेर सोध्न आएँ । भाइ किन यसरी लाइन लागेर सेयरमा आवेदन हालिरहनु भएको छ । भोली पर्दैन भनेर भन्दा मलाई झण्डै कुट्नै खोजे । यी मान्छे सबै लाटा छन्, यी सबै लगानी गर्न आएका हुन् । म पनि लगानी गर्न आएको भनेर मलाई जवाफ दियो । मैले सोधे– कतिको भर्नु हुन्छ ? उसले भन्यो– ५० हजार रुपैयाँको भर्ने हो ।

त्यो मान्छेलाई सेयर पर्दैन भन्ने मलाई थाहा छ । मैले सोचे, यो मान्छेको पैसा त आयो, यसको पैसा कतै न कतै लगानी त गराउनु पर्यो । ५० हजारवाला मान्छे धेरै आएका थिए । अनेक क्षेत्रका मान्छे छन् । मलाई लाग्यो ओहो मेरा भगवान त यिनै हुन् ।

यी मान्छेहरुलाई राखेर अर्को प्रोजेक्ट बनाउनु पर्यो भनेर सेयरमूखी अपी आयोजना सुरु गरेको हुँ । पछि त्यो मान्छेलाई १० वटा सेयर पर्यो, बाँकी पैसा फिर्ता माग्न आयो । मैले त्यसलाई भने त्यो पैसा अर्को प्रोजेक्टमा हाल्ने । उसलाई यहाँ जति हाल्यो त्यति सेयर पर्छ भनेर बुझाएँ । एक हजार मान्छेले सेयर हाले । ६० करोड रुपैयाँ पैसा उठ्यो । बाँकी ४० करोडको आइपिओ गर्छु । यसरी नै म पुँजी जुटाउँदै लैजान्छु । अब मलाई बैंकको ऋण  चाहिँदैन । बैंकको ऋण प्रतितपत्र (एलसी) खोल्न र छड फलाम किन्नलाई मात्र भए पुग्यो । नत्र चाहिँदैन । लोकस्ट काम गर्न हामीलाई ऋण चाहिँदैन ।

मैले अब सेयरधनीलाई कम्तिमा २० प्रतिशत प्रतिफल दिनु पर्छ । उनीहरुको सेयरको मूल्य कम्तिमा पाँच गुणा पुराइ दिनुपर्छ । अनि उनीहरु ममाथि विश्वास गर्न अझ धेरै लगानीकर्ता लिएर आउँछन् ।

तपाईले जुन दिब्य ज्ञान पाएर अगाडि बढें भन्नु भयो नि, त्यो दिब्य ज्ञान विद्युत प्राधिकरणको वोर्डमा गएपछि प्राप्त भएको की अगाडिबाटै प्राप्त भएको थियो ?
पहिलेबाटै प्राप्त भएको हो । तपाईलाई म सुनाउँछु मैले श्रीमतिको गहना बैंकमा राखेर व्यवसाय सुरु गरेको हो । जागिर छाड्दा आएको सबै पैसा यहाँ हालेको छु । जग्गा बेचेर यहाँ हालेको हो । ठिमीको पारीपटी १५ रोपनी जग्गा आनाको एक लाखको दरले बेचेर यहाँ हालेको हो । एउटा नगुमाइ अर्को प्राप्त हुँदैन । अहिले मसँग त्योभन्दा धेरै वढी छ ।

त्यतिबेला मैले जलविद्युत् सुरु गर्दा यसले पानीबाट बिजुली निकाल्ने भनेर मेरै आफन्तहरुले पत्याएनन् । सबै सम्पति खोलामा लगेर हाल्यो भन्थे । काम आधा सकिँदा पनि धेरैले पत्याएनन् । खोलाबाट बिजुली निकाल्ने विज्ञानले प्रमाणीत गरेको तथ्य हो । म असफल हुने कुरै थिएन । सफल भएँ । सुरुमा आठ करोड रुपैयाँ उठाउने योजना थियो। त्यो पैसा उठाउन ठूलै प्रलय भयो । बैंकबाट २२ करोड ऋण निकाल्न अर्को प्रलय भयो । जब यो प्रोजेक्ट बन्यो, प्रतिफल दिन थाल्यौं अनि ती मान्छेले कुरा बुझे । मलाई त्यो बेला ३० करोड जुटाउन जति गाह्रो थियो, अहिले ३० अर्ब सजिलै जुटाउन सकिन्छ ।

केही मान्छेहरुले आरोप पनि लगाएका छन् । तपाई सफल हुनका पछाडि राजनीतिक शक्तिको पहुँचभित्र पुग्नुभयो । तपाईको पछाडि धेरै शक्तिशालीहरुको हात छ ?
त्यस्तो पनि होइन । यहाँ बसेको हुनाले मसँग धेरै मान्छेहरुको जानपहिचान छ । उहाँहरुको सुभेच्छा मात्र हो । मेरो कम्पनीमा सर्वसाधारणतर्फबाट गन्ति गर्न सक्दिन तर प्रमोटरमा त राजनीतिक व्यक्तिहरुको सेयर कसैको छैन ।

यसरी भनौ न, तपाई राजनीतिक शक्तिको दुरुपयोग गर्नु हुन्न ?
गर्दिन/गर्दिन । तपाईलाई के ढाँट्ने सभासद् बन्नु पर्यो भनेर आउँदा खाइएन । माग्न गइएन । व्यवसायमा लागेको मान्छे हुँ, भोट त म कतै हाल्छु । किनभने म नेपाली नागरिक हुँ । मलाई झन्डा बोकेर कतै हिँडेको तपाईले कहिले पनि देख्न पाउनुहुन्न । मलाई फुर्सदै छैन ।

प्रसङ आएर सोधेको, जनता बैंक स्थापना गर्ने बेलामा भारतमोहन, माधव नेपालको सम्बन्धका कारणले छिटो स्वीकृति पाउनुभयो भनिन्छ । अहिलेको गभर्नरले नै पनि तपाईलाई फेवर गर्नु हुन्छ ?
मैले कसैको पनि हानी नोक्सानी गरेको छैन । पाएसम्म सबैलाई सहयोग नै गरेको छु । उहाँहरुले पनि राम्रै मान्नुहुन्छ । कतै कुराकानी हुँदा मेरो बिषयमा चर्चा हुनु स्वभाविक हो, किनभने धेरै बर्षदेखि यही क्षेत्रमा लागेको छु ।

बैंक खोल्दाको कुरा के छ भने, त्यतिखेर लाइसेन्सको राज थियो । बैंकको लाइसेन्स पाउनु भनेको भयङ्कर ठूलो कुरा थियो । मैले के कुरा बुझेको थिएँ भने लाइसेन्स रोक्नुभन्दा पहिले बैंक खोल्नु पर्छ । नखोले भोली पाइँदैन । सौभाग्य भन्नुपर्छ, त्यतिवेला जो गभर्नर हुनुहुन्थ्यो उहाँ मेरो साथी पनि हो । उहाँसँग मेरो पारिवारिक सम्बन्ध पनि छ । त्यहाँ जानलाई कुनै आइतवार कुरिरहनु पर्ने वा ‘एपोइन्मेन्ट’ माग्नु पर्ने आवश्यकता छैन । पूर्वअर्थमन्त्रीले पनि सुभेच्छा राख्नु भएको पक्का हो । तर जनता बैंकको लाइसेन्स नितान्त प्रोसेस पुरा गरेर नै आएको हो । अरु बैंकको जसरी आएको हो त्यसरी नै आएको हो । बरु हामीभन्दा पछिकाले चाँडो लाइसेन्स ल्याए ।