बाबुरामलार्इ प्रश्न, तपाईँको समृद्धि यही हो त ?

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
बाबुरामलार्इ प्रश्न, तपाईँको समृद्धि यही हो त ?


मेरी डेशन-

खाँचो नयाँ शक्तिको भन्ने लेखमा वितरण र उपभोगमा 'यथेष्ट' खर्च गर्ने कुरालाई छ्यास्स सहमति दिइटोपलेर कुल गार्हस्थ उत्पादन वृद्धि गर्ने कार्यलाई नै समृद्धि मानिएको छ। जनताको वास्तविक अवस्था, समुदायहरुको कल्याण, वातावरणको अवस्था आदि सबै चीजलाई असान्दर्भिक ठानिएको छ।
 
'यथेष्ट'को अर्थ के होला भनी मेरो मनमा तर्कना पैदा हुन्छ। नवउदारवादी आर्थिक एजेन्डामा यसको अर्थ बढीमा श्रमिकहरुलाई केवल प्राण धान्न पुग्ने गरी र तिनले गर्नसक्ने विद्रोहलाई रोकथाम गर्न पुग्ने गरी दिनु हो। निर्यात नगरिने वस्तुहरुको हकमा चाहिँ उपभोक्ता वर्गको सिर्जना गर्न पुग्ने गरी दिनु हो। तपाइँको आर्थिक एजेन्डामा पनि कुरो ठ्याक्कै त्यस्तै देखिन्छ।
 
कूल गार्हस्थ उत्पादनले वितरणबारे केही पनि बताउँदैन भन्ने तपाइँलाई थाहा छ। कुलगार्हस्थ उत्पादनमा चर्को वृद्धिसँगै आम्दानीमा चर्को असमानता र सापेक्ष दरिद्रताको स्थिति उत्पन्न हुनसक्छ। वास्तवमा यो आकस्मिक रुपले हुने कुरा नभई आमरुपमा हुने कुरा हो। तपाइँ कुलगार्हस्थ उत्पादनको सूचकांकको उपयोग गरी त्यो स्थितिमाथि नियन्त्रण कायम गरिन्छ भन्नुहोला। तर अरु जटिलता पनि उत्पन्न हुन्छन्। के आम्दानी वृद्धि हुँदैमा सधैं समृद्धि र कल्याणमा पनि वृद्धि हुन्छ?
 
के दुबईमा श्रमका आमानवीय अवस्थामा छोरो मर्दा नगद क्षतिपूर्ति पाउने अर्थात् पहिले कहिल्यै पनि एकैपटक नदेखेजति पैसा पाउने परिवार अब बढी समृद्धि भयो त? आम्दानीमा भएको आकस्मिक वृद्धिबाट हुने पारिवारिक जीवनको विच्छेद, ग्रामीण क्षेत्रको जनसंख्या घटौती र कृषिजन्य समुदायको आफ्नो वातावरणसँगको संसर्गका विविध रुपहरुको विनासजस्ता दीर्घकालीन असरलाई के भन्ने?
 
एउटा समुदायबारे विचार गर्नुस् जुन समुदाय आफ्नै सरसामग्री प्रयोग गरेर प्राङ्गारिक तरिकाले उब्जाएको तरकारीमा आत्मनिर्भर थियो। त्यो समुदाय अहिले कीटनाशक विषादी टनाटन भरिएका तरकारी बेचेर निरन्तर मुनाफा कमाइरहेको छ। आफुले उब्जाएका बालीबाट जति ऊर्जा पाइन्छ त्यो बाली उब्जाउन ऊ त्योभन्दा धेरै उर्जा लगाइरहेको छ। के त्यो समुदाय बढी समृद्ध हो?  के त्यो समुदायको समाज बढी समृद्ध हो? के पछि परन्तुमा क्यान्सर भएपछि ती तरकारी उत्पादक र उपभोक्ता बढी समृद्ध होलान्?
 
समृद्धि भनेको के हो, र समृद्धिका सन्दर्भमा कसको हालतको हिसाब कसरी राखिने हो? सन् २००६ देखियता विलासिताका वस्तुहरुको आयात र उपभोगमा हुन गएको अजङ्गको वृद्धिले निश्चय नै केही थोरै मानिसको एक प्रकारको 'समृद्धि'लाई इङ्गित गर्छ। के धेरै पुस्ता अघिदेखि किसानहरुद्वारा पोषित तुल्याएको प्राकृतिक माटोको उर्वरतालाई नष्ट गरिरहेका र कृषि श्रमिकहरुको स्वास्थ्य बर्बाद गरिरहेका विषाक्त कृषि सामग्री बेचेर विलासिताका ती वस्तुहरु हातपार्न सक्ने क्रयशक्ति पनि समृद्धि नै हो? कुलगार्हस्थ उत्पादनले यस्ता प्रश्नहरुको उत्तर दिँदैन, तर यसले नवउदारवादी पुँजीवादी विस्तारका यी र अरु धेरै आमपरिणामहरुलाई नकाब लगाइदिने काम भने गर्छ। मार्क्सवादी अर्थशास्त्रीले त यथार्थको सिङ्गो तस्बिर र त्यसको दीर्घकालीन तस्बिर पो हेर्छ।
 
नेपालमा श्रमिककेन्द्रित र श्रमिकद्वारा नेतृत्व गरिएको राजनीतितर्फ साँच्चि नै अवतरण गराउने जरुरी धारणाहरु कति धेरै र कति महत्वपूर्ण छन् भने एउटै चिठीमा ती सबैको चर्चा गर्न सकिँदैन। सारांशमा यी धारणाहरुका एउटा त्यस्तो समूह हुन् जुन यस ग्रहको आजको दशाबारे र नेपालमा नवउदारवादी आर्थिक एजेण्डा थोपर्दा उत्पन्न हुने परिणामहरुसम्बन्धी सुझबुझ प्राप्त गर्न ज्यादै महत्वपूर्ण छन्। यी सबै धारणाहरु तपाइँको आर्थिक क्रान्ति तथा संगठनात्मक रुपान्तरण सम्बन्धि बहसमा पूरै छुटेका छन्। वास्तवमा यी धारणाहरुले त्यस्ता आन्दोलनहरुको सारतत्व औंल्याउँछन् जसले आफ्नो जीवनका अवस्थाबारे छनोट गर्ने निकै ठूलो मौका दिई स्वस्थ्य वातावरणमा राम्ररी जीवनयापन गर्न पाउने सार्वभौम जनताको 'नयाँ नेपाल'को निर्माणमा साँच्चि नै सघाउ पुर्‍याउन सक्दा हुन्।
 
तपाइँको लेखनमा जलवायु परिवर्तनसम्बन्धि छिसिक्क चर्चासिवाय वातावरण र पर्यावरण सम्बन्धि विमर्श खै कहाँ छ? औद्योगीकरणको आतुरीमा नेपालका मिहिन ढङ्गले मिलेका कृषि-पशुपालन प्रणालीको पुनरुत्थानसम्बन्धि विमर्श खै कहाँ छ? यो रोजगारी, खाद्य सार्वभौमिकता, निर्यात गरिने दिगो र स्वस्थ्य खालका वस्तुको उत्पादन, पर्यावरणीय र सामाजिक दृष्टिले उपयुक्त पर्यटन आदिको ठूलो सम्भावना भएको क्षेत्र हो। लघुस्तरको कृषि, पर्यावरणीय कृषि, जैविकसघन तथा प्राङ्गारिक कृषिसम्बन्धि विमर्श खै कहाँ छ? पश्चिमा उपभोक्तावादलाई आधुनिकताको, औद्योगिकरणलाई उन्नत सभ्यता र संस्कृतिको, र गैरऔद्योगिक, उपयोगमुखी लघु स्तरीय र पर्यावरणीय दृष्ट्रिले दिगो कृषि तथा पशुपालनलाई पछौटेपन र आदीमपनको पर्यायसरह ठान्ने पूर्वाग्रहहरुलाई पन्छाउन व्यापक स्वअध्ययनको खाँचो पर्छ।
 
तर यी पूर्वाग्रहलाई दिमागबाट मेटेर भूमण्डलीय जीवाष्म इन्धनमा आधारित अर्थव्यवस्था र उत्पादनमा निरन्तर वृद्धिको आकांक्षाजस्ता कुराहरु किन टिकाउ होइनन् भन्नेबारे विज्ञानले हामीलाई दिएको शिक्षालाई गम्भीररुपले लिन बिलम्ब भइसकेको छ। नेपालमा लघुस्तरीय किसानहरुमध्ये थोरैसँग जीवन्त रहेको ज्ञानलगायतका त्यस्ता श्रोतहरु छन् जुन श्रोतहरु विश्वको लागि निकट भविश्यमा ज्यादै मुल्यवान हुनेछन्। यी श्रोतहरु बीउसमेत पनि बाँकी नरहने गरी नष्ट हुनुभन्दा पहिले नै यो कुरालाई आत्मसात् गर्नु अत्युत्तम हुनेछ।
 
खाँचो नयाँ शक्तिको भन्ने लेखमा नेपालको अर्थव्यवस्था सानो छ भनेर तपाइँ स्वयंले औंल्याउनु भएको छ। तपाइँले घरेलु उत्पादनलाई हेरेर, यसमा अपूर्णता देखेर र तत्काल आमूल सुधार गर्नुपर्ने खाँचो (तसर्थ दुई अंकको दिगो वृद्धि, तीव्र औद्योगिकरण र वैदेशिक लगानीमाथि निर्भरता) महसुस गर्दै यो कुरा औंल्याउनुभएको हो। तर भूमण्डलीय स्तरको तुलनामा यो ज्यादै सानो अर्थव्यवस्था पनि हो। यो एउटा त्यस्तो पक्ष हो जसले नेपाललाई ठूला विकल्पहरु प्रदान गर्छ। नेपालका प्रगतिशील राजनीतिकर्मीहरुले पश्चिमको टिकाउपनरहित उपभोक्ता समाजको तथाकथित 'आधुनिकता'लाई आयात गर्न खोज्नुको सट्टा नेपालको अर्थतन्त्रको सापेक्षित सानो आकारमा अन्तरनिहीत सम्भावनाहरुलाई महसुस गर्न सक्छन्। तिनले त्यसो गर्न सके भने देशलाई साँचो अर्थमा समृद्धितर्फ लैजाने संघर्षमा जुट्न पनि सक्छन्।
 
हैन, यसले अर्थात् ज्यादै सानो अर्थव्यवस्थाले नेपाललाई कसरी ठुला विकल्पहरु प्रदान गर्छ? भूमण्डलीय सन्दर्भमा अर्थात् वचत पुँजी सञ्चयको रकम भुइँमा उत्रिएर उपयोग हुने ठाउँ खोज्दै भौंतारिरहेको सन्दर्भमा नेपाललाई चाहिने एकदमै थोरै र नगण्य रकमको लगानी त हो। तपाइँ छनौटकर्ता हुनसक्नुहुन्छ, भिखारी होइन। बिप्पा खालका सम्झौताको आवश्यकता छैन। अपेक्षाकृत (अझै पुँजीवादी वृत्तभित्र भएकोले यो सँधै नै अपेक्षाकृत कुरा हो) 'हरियो' रकम लगानी गरिने स्वच्छ ठाउँहरु (यहाँ पर्यावरणीय दृष्ट्रिले उपयुक्त र वातावरणीय दृष्ट्रिले टिकाउ भन्ने अर्थमा 'हरियो' र 'स्वच्छ'को प्रयोग भएको हो) को खोजीमा छ। हरित प्रयोगहरु र नवीन प्रविधि आफ्नो परीक्षण गरिने ठाउँहरुको खोजीमा छन्। विगतमा प्रयोगमुखी औषधीको सुटुक्क परीक्षण गर्नको लागि जसरी नेपाललाई दुरुपयोग गरिएको छ नेपाललाई फेरि पनि त्यस्तो परीक्षण थलो बन्न दिनुपर्छ भन्ने अभिप्राय किमार्थ होइन। कुरो त त्यसको ठीक उल्टो पो हो। नेपाल त्यस्तो परीक्षण थलोको रुपमा नभई हरित विकासको लगानी थलोको रुपमा परिचित हुनसक्छ।
 
तर नपालको वर्तमान राष्ट्रिय तथा दलस्तरीय आर्थिक विकाससम्बन्धि एजेण्डाहरु त्यस दिशातर्फ एकरत्ति गइरहेका छैनन। यस सम्बन्धमा जेजति पाइलाहरु चालिएका छन् ती सबै कतै अन्तरकुन्तरमा हराइरहेका छन्। अनि विकासको मूल जोडचाहिँ पूरै गलत दिशातर्फ रहेको छ। नेपालभरि कृषिमा, हरित गृह निर्माणमा (जुन नेपालीहरुले शताब्दियौंदेखि हालसालैसम्म गरेका हुन्), रैथानेरुपमा विकसित भएका वा प्राप्त भएका प्रविधिमा थुप्रै गतिशील प्रयोगहरु भएका छन्। यी त्यस्ता प्रयोगहरु हुन् जसले तपाइँले पहिचान गरेका समस्याकै समाधान गर्न खोज्छन्। यी प्रयोगहरुलाई स्याहार सम्भार गर्दै टेवा दिन सकिन्थ्यो। नाकै अगाडि उपलब्ध सामग्रीहरुको सामूहिक उपयोगद्वारा मात्र आत्मनिर्भरताको विकास गर्न सकिन्छ। यसको लागि सीपहरु, सामग्री र श्रम पर्याप्त छन्।
 
(एनेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको नेपाल साप्ताहिकमा प्रकाशित ‘खाँचो नयाँ शक्तिको’ लेख पढेपछि अमेरिकी मानवशास्त्री डाक्टर मेरी डेशनले भट्टराईलाई लेखेको पत्रको अंश। यो पत्रको अनुवाद खगेन्द्र संग्रौलाले गरेका हुन्। यो पत्र ‘विकास वा विनास’ नामक पुस्तिकाको रुपमा प्रकाशित भएको छ। डाक्टर डेशनले ‘रेलिक्स् अफ एम्पाएर: अ कल्चरल हिस्ट्री अफ द गुर्खाज्, १८१५-१९८७’ स्टडिज् इन नेपाली हिस्ट्री एण्ड सोसाइटी’मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन्।)

पहिलाे पाेष्ट अनलार्इनबाट साभार

Tata
GBIME
Nepal Life