एनसेलले इन्जिनियर विद्यार्थीलाई छात्रबृत्ति दियो, १६ जनालाई छात्रबृत्ति, प्रति व्यक्ति एक लाख

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
एनसेलले इन्जिनियर विद्यार्थीलाई छात्रबृत्ति दियो, १६ जनालाई छात्रबृत्ति, प्रति व्यक्ति एक लाख


काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले केन्द्रीय क्याम्पस पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनतर इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स र कम्प्युटर इन्जिनियरिङ संकायका उत्कृष्ट १६ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति  विकासमा योगदान पुर्‍याउन एनसेलले १२ विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा चार जनालाई एनसेल उत्कृष्टता पुरस्कार दिएको हो ।

छात्रवृत्ति पाउने र उत्कृष्ट विद्यार्थीलाई एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

देशकै प्रमुख मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षमा ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिने घोषणा यस अ३ नै गरिसकेको छ । सोही घोषणलाई निरन्तरता दिँदै २०७१ सालको छात्रवृत्ति तथा उत्कृष्टचा पुरस्कार सोमबार आयोजित कार्यक्रममा दिइएको हो।

उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन दिने र दक्ष जनशक्ति विकासमा योगदान पुर्‍याउने उद्देश्यले एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको कोइरालाले जानकारी दिइन् ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार अन्तर्गत एनसेलले उत्कृष्टताको आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर संकायमा अध्ययनरत विद्यार्थीहरुमध्येबाट १२ जनालाई छात्रवृत्ति र चार जनालाई उत्कृष्टता सम्मान प्रदान गरेको हो । सम्पूर्ण छात्रवृत्ति सम्मान विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजाको आधारमा प्रदान गरिएको हो ।  

'हामी एक वर्षमा १६ जनालई छात्रवृत्ति दिँदै छौं,' उनले भनिन्, 'एउटा संकायबाट चार जनाले छात्रवृत्ति पाउँछन् ।' प्रत्येक छात्रवृत्ति र सम्मानमा एक लाख नगद सहयोग रहने छ ।

'उच्च दक्ष जनशक्तिले नै नविन सृजनाहरु गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माणलाई गति प्रदान गर्दछन् । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार हाम्रो तर्फबाट देशको वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने प्रयास हो । यसले अत्यावश्यक प्राविधिक शिक्षा तथा उच्च दक्ष जनशक्ति निर्माणमा योगदान पुर्‍याउने विश्वास छ,' कोइरालाले भनिन् ।

'एनसेल छात्रवृत्तिले लगनशील र उत्कष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापनमा भन्दा पढाईमा ध्यान दिन मद्दत गर्ने छ, भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर सुरु गर्न हौस्याउने छ,' एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले भनिन् ।

पुल्चोक इन्जिनियरिङ्ग कलेजका डिन त्रिरत्न मानन्धरले छात्रवृत्ति तथा सम्मान विद्यार्थीहरु छात्रवृत्ति प्रतिस्पर्धाको आधारमा दिइने भएकोले गरिव विद्यार्थीले भन्दा पनि जेहन्दार र लगनशील विद्यार्थीले पाएको बताए ।

उनले भने, 'विद्यार्थीहरुमा पुल्चोकमा नाम निकाल्ने बेला मेहनत गरेर पढ्ने तर नाम निकालिसकेपछि नपढेन् बानी छ । तर यो छात्रवृत्तिले विद्यार्थीलाई मेहनती बनाइरहन सफल हुन्छ भन्ने विश्वास लिएका छौं । यो रकम सही ठाउँमा सदुपयोग गरेर विद्यार्थीले छात्रवृत्तिको प्रतिफल निकाल्नेछन् ।'

'अघिल्लो वर्षको वार्षिक नतिजाको आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर का एक/एक उत्कृष्ट विद्यार्थी र यि तीनै संकायका छात्राहरु मध्येबाट एक उत्कृष्ट छात्रा गरी प्रत्येक व्याचका चारजना विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् ।

पहिलो वर्षका चार टपरहरुले दास्रो वर्ष, दोस्रो वर्षका चार टपरहरुले तेस्रो वर्ष र तेस्रो वर्षका चार टपरहरुले चौथो वर्षको अध्ययनका लागि छात्रवृत्ति पाएका छन् ।'

उत्कृष्टता सम्मान भने चारै वर्षका शैक्षिक नतिजाका आधारमा इलेक्ट्रिकल,इलेक्ट्रोनिक्स तथा कम्प्युटरमा १/१ सर्वोत्कृष्ट ठहरिएका विद्यार्थी तथा यि तिनै संकायका छात्राहरु मध्येबाट एक सर्वोत्कृष्ट ठहरिएकी छात्रालाई प्रदान गरिएको छ ।

 'छात्राहरुलाई प्रोत्साहन गर्नको लागि भनेर नै एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा छात्राहरुको लागि थप क्याटेगोरी राखिएको हो,' कोइरालाले भनिन् ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भनेर १३ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय र ४२ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठाको निर्माण र विद्यालय व्यस्थापन र शैक्षिक सामग्री आदि प्रदान गरेको छ । जसवाट करिव पच्चिस हजार भन्दा धेरै विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् । 

एनसेलले सन् २०१३ सम्म शिक्षाको क्षेत्रमा सात करोडभन्दा बढी लगानी गरिसकेको जनाएको छ ।
 

छात्रवृत्ति पाउने विद्यार्थीहरु

पहिलो वर्षका सर्वोत्कृष्टहरु
 
रामप्रसाद ज्ञावाली (इलेक्ट्रिकल)
प्रतीक भण्डारी (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन)
प्रमोद महर्जन (कम्प्युटर)
श्लेषा अधिकारी (माथिका सबै संकायबाट सर्वोत्कृष्ट छात्रा )

 

दोस्रो वर्षका सर्वोत्कृष्टहरु

असीम चौलागाईं (इलेक्ट्रिकल)
 हितेस सापकोटा (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन)
 मनिषकुमार शर्मा (कम्प्युटर)
 एलिसा थपलिया (माथिका सबै संकायबाट सर्वोत्कृष्ट छात्रा )

 

तेस्रो वर्षका सर्वोत्कृष्टहरु

विकास पौडेल (इलेक्ट्रिकल)
आयुष कुमार चौधरी (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन)
स्वप्निल स्नेहाम (कम्प्युटर)
नेरिसा चित्रकार (माथिका सबै संकायबाट सर्वोत्कृष्ट छात्रा )
 

उत्कृष्ट हुने विद्यार्थीहरु

नृपेश ऐर (इलेक्ट्रिकल)
 बसन्‍त चालिसे (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन)
जीवन नेपाली (कम्प्युटर)
बन्दना शर्मा (माथिका सबै संकायबाट सर्वोत्कृष्ट छात्रा )