सुपथ मूल्य पसलः ४५ देखि ७५ रुपैयाँसम्मका चामल पाइने, पाँच किलो चिनी र एक क्विन्टल चामल पाइने

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
सुपथ मूल्य पसलः ४५ देखि ७५ रुपैयाँसम्मका चामल पाइने, पाँच किलो चिनी र एक क्विन्टल चामल पाइने
काठमाडौं। सरकारले असोज १ गतेदेखि सञ्चालनमा ल्याउन लागेको सुपथ मूल्य पसलमा पाँच किसिमका चामल छुटसहित बेच्ने भएको छ। असोज १ गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलबाट प्रति किलो ४५ देखि ७५ रुपैयाँ मूल्यका चामल बेच्ने तयारी खाद्य संस्थानले गरेको छ।
 
खाद्य संस्थानले यो अवधिमा चामल र गहुँ मात्रै १२ हजार टन बेच्ने लक्ष्य राखेको छ। १० हजार टन चामल र दुई हजार टन गहुँ बेच्ने तयारी संस्थानको छ।
 
संस्थानले उपत्यकाको थापाथली, नख्खु गोदाम, रामशाहपथ, जावलाखेल, भक्तपुर, बल्खु, नेशनल ट्रेङि टेकु र साल्ट ट्रेडिङ कोटेश्वरबाट उक्त परिमाणको चामल र गहुँ बेच्ने तयारी गरेको हो।
 
चामल र गहुँ सहुलियतमा बेचेबापत संस्थानले अर्थ मन्त्रालयसँग ३१ लाख २० हजार रुपैयाँ थप निकाशी मागेको छ। चामल र गहुँ बेच्दा उक्त रकम नोक्सान हुने भएकाले थप निकाशीका लागि सरकारलाई आग्रह गर्ने भएको हो।
 
पाँच थरी चामल विक्रीमा
खाद्य संस्थानले यो अवधिमा मोटो चामल, मोटा मंसुली, सोना मन्सुली, जिरा मसिनो र बास्मती चामल बेच्ने तयारी गरेको छ। संस्थानका अनुसार मोटो चामल ४५ रुपैयाँ, मोटा मंसुली चामल ४७ रुपैयाँ, सोना मंसुली, जिरा मसिनो चामल ५५ तथा बास्मती चामल ७५ रुपैयाँमा बेच्ने तयारी गरेको छ।
 
हरेक चामलमा संस्थानले बढिमा दुई रुपैयाँसम्म नाफा गरेर बेच्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए। संस्थानले गत वर्षको सहुलियत पसलमा दिइएको छुट बापतको झाण्डै १८ लाख रुपैयाँ सरकारबाट थप निकाशी हुन अझै बाँकी रहेको पनि जनाएको छ।
 
संस्थानले चामलको मूल्य तोकेपनि वाणिज्य मन्त्रालयले भने केही हेरफेर गर्ने बारे पनि सोचिरहेको सुवेदीको भनाइ छ।
 
'चिनीभन्दा चामल किन्ने धेरै हुन्छन्, चिनीमा पाँच रुपैयाँ प्रतिकिलो छुट दिनुभन्दा त्यसलाई केही कम गरेर चामलमा छुट बढाउने बारे सोचिरहेका छौं,' सुवेदीले भने, 'चामलमा दुई र चिनीमा पाँच भन्दा चिनीमा तीन र चामलमा चार रुपैयाँ छुट दिन सके उपभोक्तालाई अझै राहत हुने थियो।'
 
अर्थले माग्यो कार्यविधि
यसैबीच अर्थमन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन सम्बन्धमा विस्तृत कार्यविधि बनाएर आउन वाणिज्य तथा आपूर्ति मन्त्रायलय एवं मातहतका निकायलाई निर्देशन दिएको छ। सुपथ मूल्य पसलमा दिइने छुट तथा त्यसका लागि दिनुपर्ने थप रकम निकाशीका सम्बन्धमा कार्यविधिसहित आउन अर्थ मन्त्रालयले वाणिज्यलाई आग्रह गरेको सुवेदीले बताए।
 
'सुपथ मूल्य पसल सञ्चालनका लागि आवश्यक कार्यविधिसहित आउन अर्थमन्त्रालयले भनेको छ,' सुवेदीले भने, 'त्यसका लागि हामीले खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङलाई भनिसकेका छौं।'
 
सुवेदीले मंगलबार कार्यविधिबारे टुंगो लाग्ने र बुधबारबाट पसल सञ्चालनमा आउने बताए।
 
'हामी जसरी पनि मंगलबार (आज) कार्यविधि टुंग्याउछौं,' सुवेदीले भने, 'पर्सीबाट पसल सञ्चालनका लागि तयारी गर्नु भनेर हामीले निर्देशन दिइसकेका छौं।'
 
अर्थमन्त्रालयले गएको वर्ष सुपथ मूल्य सञ्चालन गरेबापत दुई करोड ९० लाख रुपैयाँ थप निकाशी गर्नुपरेको भन्दै सुवेदीले यो वर्ष पनि तीन करोड रुपैयाँ भन्दा धेरै दिनुनपर्ने बताए।
 
पाँच किलो चिनी र एक क्विन्टल चामल पाइने
सुपथ मूल्य पसलबाट एक व्यक्तिले बढिमा एक पटकमा पाँच किलो चिनी र एक क्विन्टल चामल किन्न पाउने भएका छन्। धेरै व्यक्तिका लागि उपलब्ध गराउने हिसाबले सरकारले खरीदको सीमा तोकेको सहसचिव सुवेदीले जानकारी दिए।
 
सरकारले सञ्चालन गर्न लागेको सुपथ मूल्य पसलमा चामल, चिनी र नुनमा छुट दिने तयारी छ। यस्तै दुग्ध विकास संस्थानले पनि घ्यूमा १० रुपैयाँ छुट दिने जनाएको छ।
 
सरकारले देशभर ७१ सुपथ मूल्य पसल र तीन घुम्ती पसल सञ्चालनको तयारी गरिरहेको छ।

Tata
GBIME
Nepal Life