नयाँ र आकर्षक टेलिभिजन बजारमा, २४ लाखसम्मका टिभी उपलब्ध, दशैंले बढाउँदै छ ब्यापार

बिजमाण्डू
२०७१ असोज २ गते ००:०० | Sep 18, 2014
नयाँ र आकर्षक टेलिभिजन बजारमा, २४ लाखसम्मका टिभी उपलब्ध, दशैंले बढाउँदै छ ब्यापार
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । दशैं नजिकिएसँगै थोक व्यापारीदेखि खुद्रा व्यापारीसम्मको व्यस्तता त बढेको छ नै व्यापारको रफ्तार पनि बढ्न थालेको छ । व्यवसायीहरुले दशैंतिहार लक्षित छुटका अनेक योजना सार्वजनिक गरेका छन् भने नयाँ नयाँ उत्पादन पनि भित्र्याएका छन् । टेलिभिजनको बजार पनि चाडबाडले ह्वात्तै माथि उठाएको छ ।

Tata
GBIME
Nepal Life

दशैंका लागि व्यवसायीहरुले विभिन्न अफर र छुटका योजनाका साथै नयाँ मोडल र नयाँ ब्रान्डका टिभी स्थानीय बजारमा ल्याइरहेका छन् । नामचलेका ब्रान्ड एलजी, सामसुङलगायतले दशैं लक्षित विभिन्न छुटका योजनाका साथ टेलिभिजन ब्यापारमा जोड दिइरहेका छन् ।

ब्रान्डेडदेखि चिनियाँ सामान बेच्ने व्यापारीहरुले समेत टेलिभिजनको व्यापार बढेको बताएका छन् । काठमाडौं न्यूरोडका व्यापारी राजेन्द्र मल्लले बजारमा नयाँ नयाँ इलेक्ट्रोक्सि सामानको माग बढ्दै गएको बताए ।

‘नयाँ सामानको माग बढिरहेको छ, हामीले यसपाली भने सिन्धुपाल्चोकको पहिरोले पर्याप्त सामान ल्याउन सकेनौं,’ मल्लले भने, ‘तातोपानीबाट सामान ल्याउन नसके पछि रसुवागढीबाट ल्याइएका सामानले बजार धान्नु परेको छ ।’ मल्लका अनुसार यो वर्ष पर्याप्त सामान नहुँदा व्यापारीहरुले ‘स्टक क्लियरेन्स’ गर्ने मौका पनि पाएका छन् ।

ब्रान्डेडका आफ्नै शान
दशैंका लागि ल्याइएका विभिन्न अफरको प्रभाव बजारमा देखि थालेको र त्यसले व्यापार पनि बढ्न थालेको सिजी इलेक्ट्रोनिक्सको एलजी ब्राण्डको मार्केटिङ प्रमुख पुरुषोत्तम भण्डारीले बताए ।

गएको वर्षको तुलनामा सिजीले ४० प्रतिशतले टेलिभिजनको व्यापार बढाउने लक्ष राखेको भण्डारीले जानकारी दिए । सिजी इलेक्ट्रोनिक्सले यो वर्षको दशैंमा पनि आफूले ब्यापार गर्ने विभिन्न ब्रान्डका सामानमा विशेष छुटका योजनासहित व्यावार विस्तामा जोड दिएको उनले बताए ।

यस्तै सामसुङका उत्पादनको ब्यापार गर्दै आएको हिम इलेक्ट्रोनिक्सले पनि दशैं लक्षित व्यापारलाई तीव्रता दिइसकेको छ । दशैंका लागि कम्पनीले नयाँ उत्पादन कर्भ टिभी पनि ल्याएको छ । ४८ देखि ६५ इन्चसम्मका कर्भ टिभीको मूल्य तीन लाख १९ हजार रुपैयाँदेखि आठ लाख ९९ हजारसम्म पर्ने कम्पनीका मार्केटिङ म्यानेजर सौरभ कारञ्जितले जानकारी दिए । यद्यपि यो टिभी चाडपर्वमा विशेष छुटका साथ व्यापार भइरहेको छ ।

२४ लाखको एउटै टिभी !
एलजीले यो वर्ष अल्ट्रा एचडी टेलिभिजन बजारमा ल्याएको छ । कम्पनीले ४२ इन्चदेखि ८४ इन्चसम्मको फोर के अल्ट्रा एचडी टेलिभिजन बजारमा ल्याएको जानकारी दिएको छ । यो टेलिभिजन अन्तर्गत ४२ इन्चको टेलिभिजनको मूल्य तीनलाख ५० हजार रुपैयाँ पर्ने भण्डारीले बताए । यस्तै ८४ इन्चको फोर के अल्ट्रा एचडी टेलिभिजनको बजार मूल्य २४ लाख रुपैयाँ पर्छ ।
यो टेलिभिजन ब्यापारका लागि भन्दा पनि नेपालमा ‘शो पिस’का रुपमा ल्याइएको हो । उच्च प्रविधियुक्त यो टेलिभिजन ‘मल्टि फङसनिङ’ छ जसका कारण उपभोक्तालाई चलाउन निकै सजिलो महशुस हु्ने भण्डारीले बताए ।

यस्तै सामसुङले पनि ११ लाख रुपैयाँसम्मका कर्भ टेलिभिजन बजारमा ल्याएको छ । ४८ इन्चदेखि ६५ इन्चसम्मका कर्भ टिभीको मूल्य तीनलाख १९ हजार रुपैयाँदेखि ११ लाख ९९ हजारसम्मका सामसुङ टेलिभिजन नेपाली बजारमा उपलब्ध छन् ।

पुराना सिआरटी टेलिभिजनको सट्टामा कम्पनीहरुले सस्तो मूल्यमा एलसिडी, एलइडी टेलिभिजन बजारमा ल्याइरहेका छन् । सिआरटी टेलिभिजनको उत्पादन करिब बन्द जस्तै छ । ग्राहकलाई नयाँ प्रविधिमा आकर्षित गर्ने गरी नयाँ उत्पादन बजारमा ल्याइएको एलजीका सेल्स हेड भण्डारीले बताए ।

विश्वकप पछि पनि व्यापार उस्तै
विश्वकफ फुटबल सकिएको तीन महिना पुरा भएको छैन । त्यो बेलामा पनि टेलिभिजन ब्यापारीहरुले ठुलो छुटको योजनासहित नयाँ नयाँ टेलिभिजन नेपाली बजारमा ल्याएका थिए । यद्यपि दशैंको ‘टिभी मार्केट’लाई वल्र्डकपले कुनै असर नगरेको कारञ्जितले बताए ।
‘विश्वकपमा पनि हामीले उत्साहजनक रुपमा व्यापार गरेका थियौं,’ उनले भने, ‘अहिले पनि व्यापार बढाइरहेकै छौं ।’

सिजीका भण्डारी पनि कम्पनीहरुले ल्याएको विभिन्न अफर योजनाको असर बजारमा देखिसकेको भन्दै चाडपर्वमा उत्साहजनक व्यापार हुने आशा गर्छन् ।

‘विश्वकपमा खेलकुद प्रेमीले नयाँ टेलिभिजन छानेका थिए, अहिले सबैले नयाँ चाहेका छन्,’ भण्डारीले भने, ‘ग्राहकको माग नै अहिले र त्यतिबेलाको फरक छ र ग्राहक पनि फरक छन् ।’

छुटका आ–आफ्नै योजना
दशैं तिहारलगायतका चाड पर्व लक्षित गर्दै विभिन्न टेलिभिजन विक्रेताले छुटका विभिन्न अफर ल्याएको छ । सामसुङले दशैंका लागि द बिग डिल अफर सुरु गरेको छ । यो अफर अनुसार कम्पनीले टेलिभिजनहरुको खरिदमा तीनलाख रुपैयाँसम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ ।

यस्तै हिमस्टार टिभीले पनि दशैं तिहारमा टेलिभिजन सेटको खरीदमा विभिन्न छुटका योजना अघि सारेको छ । उसले टेलिभिजनको साथमा विभिन्न घरायसी सामान, मोटरसाइकलसम्म पाउने कम्पनीले जनाएको छ ।

यस्तै टिसिएलको आधिकारिक विक्रेता इओएलले दशैतिहारको उपलक्षमा ‘सबैको दशैतिहार, सबैलाइ पक्का उपहार’ योजना ल्याएको छ । यो याजनामा विभिन्न साइजको टिभि अनुसार उपहार घोषणा गरेको छ । टिसिएलले हरेक टिभीको खरिदमा टिसिएल टि–सर्ट तुरुन्त पाइने जनाएको छ ।

तोसिवा योजना तोसिबाले दशैतिहार तथा छठ पर्वको अवसरमा ‘बढाउँदै छ उङ्ग हरेक उत्सबमा’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनै पनि सामानको खरिदमा स्योर सट पुरस्कारहरु प्राप्त गर्ने छन् । तोसिबाले टिभीको साइज अनुसार उपहार दिने जनाएको छ । त्यस्तै वासिङ मेसिनको खरिदमा स्टिम आइरन उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सीजी बबाल डिस्काउन्ट बडा चाडमा बडा नगद छुट सीजी इलेक्ट्रोनिक्सले दशैतिहार तथा छठ पर्वको अवसरमा ‘सीजी बबाल डिस्काउन्ट बडा चाडमा बडा नगद छुट’ योजना ल्याएको छ । योजनाको मुख्य विशेषता उपभोक्ताहरुलाई पर्वमा आर्थिक भार कम गराउनु रहेको दाबी कम्पनीको छ । सीजीले एलइडी टिभीको खरिदमा आकर्षक छुटसहित एक वर्षको वारेन्टी दिने जनाएको छ ।