फेरि १० अर्ब निक्षेप लिदै राष्ट्र बैंक, वित्तीय सस्थाले ट्रेजरी विल्सको भन्दा वढी व्याज कोट गरे

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
काठमाडौं। बैंक तथा वित्तीय सस्थाबाट राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ। केन्द्रिय बैंकले मंगलबार बोलकबोल गराएर थप १० अर्ब रुपैयाँ लिन लागेको हो। यसअघि दुई पटकमा ३० अर्ब निक्षेप लिइसकेको छ। 

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय सस्थामा रहेको निक्षेप केन्द्रिय बैंकले खरिद गर्ने उपकरणको व्यवस्था गरिएको हो।

यही व्यवस्था अनुसार दुई महिनामा तेस्रो पटक यो उपकरण प्रयोग गर्न लागिएको हो। राष्ट्र बैंकले तीन महिनाका लागि निक्षेप उपकरण प्रयोग गर्न लागेको हो। 
 

राष्ट्र बैंकले आगामी मंसिरसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप बैैंक तथा वित्तीय सस्थाबाट खिच्ने योजना बनाएको थियो। ट्रेजरी विल्सको व्याजदर र निक्षेप उपकरणमा बैंक तथा वित्तीय सस्थाले निकै फरक व्याजदर कोट गरेपछि ८० अर्बबाट केही घटाउने तयारीमा राष्ट्र बैंक छ। 
 
बैंक तथा वित्तीय सस्थाले यस अघि १० अर्ब निक्षेप दिन ०.५८५० प्रतिसत व्याज कोट गरेका थिए। पहिलो पटक २० अर्ब रुपैयाँमा ०.६९११ प्रतिसत व्याज कोट गरेको राष्ट्र बैंकका अधिकारीले जनाएका छन्। निक्षेपमा मागिएको यो व्याजदर टे्रजरी विल्सको भन्दा धेरै हो। ९१ दिने ट्रेजरी विल्सको औसत व्याजदर ०.१८३३ प्रतिसत छ। 
 
'तीन महिने निक्षेपका लागि बैंकहरुले तुलनात्मकरुपमा धेरै व्याज मागे, राष्ट्र बैंक श्रोतले भने, निक्षेप उपकरणमा पनि ट्रेजरी विल्स सरहकै फिचर भएपछि व्याजदर किन धेरै कोट गरिएको हो स्पष्ट छैन। यसले धेरै निक्षेप लिन प्रोत्साहित गर्दैन।' व्याज अस्वभाविक लाग्यो भने राष्ट्र बैंकलाई व्याजदर कट अफ गर्ने अधिकार पनि छ। 
 
बैंक तथा वित्तीय सस्थामा अहिले करिब ४० अर्ब रुपैयाँ अधिक तरलता छ। गत शुक्रबारको तथ्यांक अनुसार अनिवार्य नगद मौज्दात बाहेक बैंक तथा वित्तीय सस्थाले राष्ट्र बैंकमा ५७ अर्ब रुपैयाँ बढी निक्षेप राखेका छन्।

मंसिरसम्म ८० अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय सस्थाबाट लिदा अधिक तरलताको समस्या समाधान हुने विश्लेषण केन्द्रिय बैंकको थियो। ट्रेजरी विल्स र निक्षेप उपकरणको व्याजमा अस्वभाविक अन्तर देखिएपछि ८० अर्बको लक्ष घटाउन सक्ने राष्ट बैंकका उच्च अधिकारीले बताए। 
 

'व्याजदर धेरै भएको होइन, एक प्रतिसत भन्दा पनि कम व्याजदरलाई धेरै भन्न मिल्दैन, उनले भने, तर समान खालका उपकरणमा किन व्याजदरमा यति धेरै फरक कोट गरियो भन्ने हो। सापेक्षिक रुपमा व्याजदर धेरै भयो।' एकै अवधिका उस्तै खालका दुई इन्स्टुमेन्टमा व्याजदरमा धेरै फरक देखिए पछि लक्ष परिवर्तन गर्ने सोच केन्द्रिय बैंकका अधिकारीले बनाएका हुन्। 
 
बैंक तथा वित्तीय सस्थाहरुले भने टे्रजरी विल्सको व्याजदर निकै थोरै भएको गुनासो गर्दै आएका छन्। प्रतिस्पर्धामा व्याज कोट गर्दा बैंक तथा वित्तीय सस्थाहरु ट्रेजरी विल्समा यति तल झरेका हुन्। एक वर्षे टे्रजरी विल्सको औषत व्याजदर ०.५७४६ प्रतिसत छ। 
 
राष्ट्र बैंकले बुधबार पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने तयारी पनि गरेको छ।