अर्थमन्त्री भन्छन्ः पिटिए र पिडिएले ठूला आयोजनाको बाटो खोल्यो, विकासमा अवरोध नगर्न आग्रह

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014

काठमाडौं। अर्थमन्त्री डा रामशरण महतले आर्थिक समुन्नति विश्वकै एजेण्डा भएको भन्दै यो यात्रामा सबैलाई सँगै अगाडि बढ्न आग्रह गरेका छन्। चितवनमा सोमबार भरतपुर महोत्सवको उद्घाटन गर्दै उनले विकासमा साझेदार हुन आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life

'इकोनोमिक मार्चमा नेपाल अगाडि बढिसक्यो। यसलाई कसैले रोक्न सक्दैन, उनले भने, विश्वको प्रगतिसँगै अगाडि बढ्ने नेपाली जनताको इच्छा छ। जनताको यो चाहनालाई सबैले बुझ्नुपर्छ।' सो अवसरमा उनले आर्थिक विकासका काममा बाधा अवरोध नगर्न पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरे।

नेपालीको जीवनस्तर माथि उठाउन तिब्रतर आर्थिक विकासका लागि सरकारले ठूलो जोखिम लिएर निर्णयहरु गरिरहेको जानकारी दिदै अर्थमन्त्री डा महतलेे नेपाललाई आगामी आठ बर्षभित्रमा कम विकसित मुलुकबाट स्तरोन्नति गरी विकासशील मुलुकको दाँजोमा पुर्‍याउने अठोट र संकल्प गरिसकेको बताए। यसका लागि ठूलो लगानीको खाँचो रहेकोले लगानी बढाउन सरकारले नीतिगत सुधार गरेर अगाडि बढिरहेको जानकारी पनि उनले दिए।

सरकार समयमा उचित निर्णय गर्न सक्छ भन्ने पिटिए र पिडिएको उदाहरण दिदै उनले भने, 'आधुनिक अर्थतन्त्रको विकासका लागि उर्जा नभै हुँदैन। उर्जा विकासको यस निर्णयले विश्वलाई नै एउटा सकारात्मक सन्देश दिएको छ।' आगामी दिनमा जलबिद्युतका क्षेत्रमा ठूलोे लगानी आउने जानकारी पनि उनले दिए। यसले जलबिद्युतमा क्रान्ति ल्याउने र यसले गर्दा उद्योगमा पनि लगानी बढ्ने उनको विश्वास छ।

अर्थमन्त्रीले चाँडै नै पञ्चेश्वर बहुद्देश्यीय आयोजना, माथिल्लो मर्स्याङदी, अरुण तेस्रो, माथिल्लो त्रिशुली जस्ता ठूला आयोजनाहरु पनि सञ्चालनमा आउने बताए। पानीको राजनीति बन्द भएको चर्चा गर्दै उनले अव पानीको स्तरहीन राजनीति गर्ने कसैलाई इच्छा रहेको उनले बताए।

राजनीतिक संरचनाका लागि संबिधान निर्माणको अन्तिम तयारी भैरहेको जानकारी दिदै अर्थमन्त्रीले विवादित विषयहरुलाई समाधान गरिने बताए।
कार्यक्रममा बोल्दै एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले संबिधान निर्माणका साथै विकास निर्माणलाई पनि सँगै अगाडि लैजानुपर्ने बताए। सात दिनसम्म सञ्चालन हुने सो महोत्सवमा आयोजक युवा समाजका अध्यक्ष असिम भट्टराई, माओवादीका अध्यक्ष घनश्याम दाहाल, लगायतका वक्ताहरुले शुभकामना दिएका थिए।

भरतपुर भ्रमणका अवसरमा अर्थमन्त्री डा महतले आन्तरिक राजस्व कार्यालय र गोदामघरको अवलोकन गरे।