कहिलेसम्म घट्ला सेयर बजार? अब लगानीकर्ताले किन्ने कि बेच्ने? घटेको समयमा किन्दा नोक्सान हुदैन

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
कहिलेसम्म घट्ला सेयर बजार? अब लगानीकर्ताले किन्ने कि बेच्ने? घटेको समयमा किन्दा नोक्सान हुदैन


काठमाडौं। दुई महिनायता छिटपुट हरियो रंगले पोतिएपनि अधिकांस दिन सेयर बजार ओरालो लागिरहेको छ। राम्ररी विकास नभइसकेको हाम्रो सेयर बजार छोटो समयमै दुई सय अंकभन्दा वढीले आरोलो लागेपछि लगानीकर्ताहरु निरास देखिएका छन्, जुन स्वभाविक पनि हो।

Tata
GBIME
Nepal Life

बजारको घट्दो क्रमलाई हेरेर केही विश्लेषकहरुले नेपाल स्टक एक्सेचेन्ज (नेप्से) परिसुचक साढे सात सयको तहमा आउने भविश्यवाणी नै गरिसकेका छन्। केहीले भने बजार दसैंतिहार लगत्तै बढ्न थाल्ने विश्लेषण सञ्चार माध्यममार्फत बाहिर ल्याइरहेका छन्।

बजार कहिले पनि स्थिर हुँदैन। बजार सिद्धान्तले उकालो लागेपछि ओरालो झर्नै पर्छ वा ओरालो लागेपछि उकालो लाग्नै पर्छ भन्छ। अहिले हाम्रो सेयर बजार पनि सिद्धान्त अनुसारनै वढ्ने घट्ने गरिरहेको छ।

बजार अस्वभाविक रुपमा उकालो लाग्यो भने त्यसैगरी आरोलो लाग्छ। उकालो लाग्दा लगानीकर्ताहरु उत्साही भएका थिए, उनीहरुलाई लाग्थ्यो अब बजार बढिरहन्छ। आमलगानीकर्ताको त्यस्तो अपेक्षाभन्दा फरक ढंगबाट बजार ओरालो लागेको छ। बजार जसरी बढेको थियो त्यो भन्दा पनि तीब्रगतिमा घट्दा लगानीकर्ता निरास भएका हुन्। अस्वभाविक बृद्धि र अस्वभाविक ओरालो लाग्ने गति दुबै सेयर बजार र लगानीकर्ताका लागि राम्रो होइन।

किन घट्यो बजार?
बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक लाभांस दिइरहेका छन्। ऋणको ब्याज दर पनि सस्तो छ। निक्षेपको ब्याज सस्तो भएकाले बैंकमा बचत गर्दाभन्दा सेयरमा लगानी गर्दा पाइने प्रतिफल आकर्षक छ। बैंकहरुले बोलाइ बोलाइ ऋण दिइरहेका छन्। त्यही पनि बजार किन घट्यो त?

नेप्सेले कारोबार राफसाफ गर्न ढिलाइ गर्ने सेयर ब्रोकरहरुलाई आउट गर्न थालेपछि बजार घट्न थालेको हो। १०८४ अंकको उचाइमा पुगेपछि बजारमा केही ब्रोकरहरु नियमितजसो नै आउट हुन थाले। ग्राहक आइडीका आधारमा मात्र सजिलै कारोबार गर्न पाइने व्यवस्थाले बजार निरन्तर बढिरहेको थियो।

लगानीकर्ताहरुले सेयर बिक्री गरेपछि पाउने रकम फिर्तामा ढिलाइ हुन थालेको गुनासो बढ्दै गएपछि नेप्सेले राफसाफ गर्न कडाइ गर्‍यो। नेप्सेको कडाइपछि सेयर बजार क्रमिक रुपमा ओर्लिन थालेको थियो।

यसैबीचमा नेपाल राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाहरुको जोखिम न्यूनीकरणका लागि सेयर बजारमा लगानी गर्ने सीमा तोक्यो। अस्पष्ट रुपमा आएको निर्देशनपछि बजार तिब्र रुपमा घट्यो। नियामक निकायले निर्देशनलाई केही दिनभित्रै स्पष्ट पार्ने कोशिस गर्‍यो, तर त्यतिन्जेल ढिलाइ भइसकेको थियो। नयाँ र साना लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्नतिर लागे। उनीहरुले सेयर धमाधम बेच्न थालेपछि आपुर्ति बढेर बजार घट्न थाल्यो।

यही सेरोफेरोमा केही विश्लेषकहरु (जसलाई साना लगानीकर्ताहरुले विश्वास गर्छन) ले बजार घट्ने धारणा सार्वजनिक गरे। उनीहरुको यस्तो विश्लेषणको प्रभाव आम लगानीकर्तामा पर्‍यो र बजार अझ घट्न थाल्यो। उनीहरुको वोलीको प्रभावका कारण आकर्षक लाभांस दिने घोषणा गरिरहेका संस्थाहरुको पनि सेयर मूल्यले ओरोलो गति समात्यो, अझै समातिरहेको छ।

कतिसम्म भने राष्ट्र बैंकका डेपुटी गभर्नर, प्रवक्ता, अर्थमन्त्री, प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसम्मले सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको सार्वजनिक वक्तव्य दिँदा पनि बजारमा त्यसको झिनो प्रभावसम्म पर्न सकने।

कहिलेसम्म घट्छ?
हाम्रो सेयर बजारमा दुई खाले विश्लेषकहरु छन्, एकथरी जो लगानी पनि गर्छन। अर्कोथरी जो लगानी गर्ने कम्पनीहरुलाई सुझाव दिने जागिर खान्छन्। सुझाव दिएर जागिर खाने विश्लेषकहरु निकै कम छन्, जसको आवाज बलियो पनि छैन।

आफै लगानी गर्ने विश्लेषकहरुको वोलवाला बजारमा बलियो भएकाले स्वभाविक रुपमा उनीहरुको भनाइका पछाडि साना र नयाँ लगानीकर्ताहरु पर्ने गरेका छन्। सेयर ब्रोकरहरुका अनुसार यस्ता विश्लेषकले नेप्से १०५० को अंकबाट उक्लिन थालेपछि नै आफ्नो सेयर बिक्री गर्न थालिसकेका थिए। आफूले सेयर बिक्री गरिसकेकाले उनीहरु बडो आनन्दका साथ बजार थप घट्ने विश्लेषण सुनाउनमा व्यस्त देखिन थालेका छन्।

उनीहरुको विश्लेषणलाई नै आधार मान्ने हो भने बजार ८५० अंकसम्म ओर्लन्छ। अब त्यो अंकलाई छुन केही अंक मात्र बाँकी छ।

ठूला लगानीकर्ताले नाफा सुरक्षित गरेका छन्। बजार १०८४ पुग्दा निकै ठूलो कारोबार भयो। त्यसबेला सेयर बेच्नेले नाफा सुरक्षित गरेर राखेका हुन्। बजार अलिकति तल ओर्लिएपछि त्यही नाफा कुम्ल्याएर राख्ने समूह फेरी बजारमा सलबलाउँछ, सेयर किन्न थाल्छन्। यस अघि २०६५ सालमा भएको बुममा पनि यही अवस्था देखिएको थियो। नाफा कमाएर बस्नेहरुले लगानी बढाएपछि बजार फेरी उकालो लाग्छ।

बैंकहरुसँग अहिले अधिक तरलता छ। अन्यत्र लगानी गर्ने ठाउँ नभएकाले बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थुप्रिरहेको छ। अधिक तरलता भएकै कारण राष्ट्र बैंकले दुई पटक निक्षेप खरीद गरिसकेको छ भने थप खरीदको प्रक्रियामा छ।

राजनीतिमा अलिकति सुधार आउला र लगानी गरौंला भनेर सबै बसेका छन्। संविधान माघ आठमा ल्याउन सके लगानीको वातावरण पनि बन्ने छ। त्यसअघि ठूला आयोजना वा औद्योगिक क्षेत्रमा ऋण लगानी बढ्ने अवस्था देखिँदैन। लगानी बढ्ने अवस्था नरहेकाले बैंकहरुले तरलता व्यवस्थापन गर्न अल्पकालिन कर्जा ६/७ प्रतिशतमै दिइरहेका छन्। कम्तिमा त्यतिन्जेलसम्म बैंकहरुसँग प्रशस्त तरलता हुने छ। रेमिटेन्सको बढ्दो गति र लगानीका अन्य क्षेत्र नखुल्दा अधिक तरलता हुने स्पष्टै छ।

संविधान जारी भएर लगानी वातावरण बनेमा सबै क्षेत्रको समुचित विकास हुनेछ। लगानीको आकर्षण सुरुमै सेयर बजारमा नै देखिने हो।

के गर्ने अब?
बजार सँधै वढ्ने वा सँधै घट्ने हुँदैन। लगानीसँग जोखिम जोडिएको हुन्छ। जोखिम बहन गर्नेहरुले नै लगानी गर्ने हो।

बजार ओरालो लागेका बेलामा सस्तोमा सेयरहरु पाइन्छ। यस्तो बेलामा सेयर किन्नेले भोली वढ्दा राम्रो प्रतिफल पाउँछन्। अहिलेको मूल्यमा राम्रो प्रतिफल दिइरहेका र दिने सम्भावना भएका कम्पनीहरुको सेयर किनेमा नोक्सान कहिले पनि हुँदैन।

अघिल्लो पटक आठ हजार रुपैयाँमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर किन्नेहरुले मूल्य घटेर दुई हजार नजिक आइपुग्दा पनि गुमाउनु परेको थिएन, किनभने बैंकले उनीहरुलाई राम्रो प्रतिफल दिएको थियो।

सेयर बजारमा लगानी गर्ने सोचाइ भएकाहरुले अहिले सेयर किन्ने समय हो। सेयर बजारको सिद्धान्त नै हो मूल्य घट्दा किन्ने र बढ्दा बिक्री गर्ने।