हिमालय एयरलाइन्सले क्याप्टेन र कोपाइलट माग्यो, आवेदन दिने अन्तिम मिति असोज २१ गतेसम्म

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
हिमालय एयरलाइन्सले क्याप्टेन र कोपाइलट माग्यो, आवेदन दिने अन्तिम मिति असोज २१ गतेसम्म


काठमाडौं । हिमालय एयरलाइन्सले क्याप्टेन र कोपाइलट मागेको छ । आज सार्वजनिक सूचना जारी गर्दै हिमालय एयरलाइन्स प्रालिले २५/२५ जना क्याप्टेन र कोपाइलट मागेको हो ।

Tata
GBIME
Nepal Life

एचआइएफ एभिएसन इन्भेष्टमेन्ट, यति वर्ल्ड इन्भेष्टमेन्ट र तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय हवाइ सेवा सञ्चालन गर्न लागेको प्रालिले चाँडै नै एयरलाइन्स सञ्चालन गर्ने जनाउँदै ती जनशक्ति माग गरेको जनाएको हो ।

प्रालिले इच्छुक क्याप्टेन र कोपाइलटले यही असोज २१ गते भित्र आफ्नो व्यक्तिगत विवरण प्रालिको कार्यालयको पोष्ट बक्स नं २००११ वा इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ ।

प्रालिले नेपाली क्याप्टेन र कोपाइलटलाई विशेष प्राथमिकता दिइने जनाउँदै न्युनतम आवश्यक योग्यता (तलको तस्बिरमा हेर्नुस्) तोकेको छ । दुबै पदको लागि हालसालैको मेडिकल रिपोर्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको न्युनतम भाषा ज्ञान आवश्यक रहेको जनाएको छ । क्यानले क्याप्टेनको लागि चौथो तहको अंग्रेजी जानेको हुनुपर्ने अनिवार्य गरेको छ। भाषाको लेभल छ तहसम्म तोकिएको छ ।

प्रालिका अनुसार आउँदो अक्टोबर २८(कात्तिक ११ गते)बाट नयाँ अन्तर्राष्ट्रिय वायुसेवा ‘हिमालय एयरलाइन्स' ले नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ।

यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको फ्लाई यतीको नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएको थियो ।

एचआइएफ एभिएसनका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, यती इन्भेस्टमेन्टका अध्यक्ष आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सका अध्यक्ष छेङ यीरु छन्। अन्तर्राष्ट्रिय उडानका लागि कम्पनी साढे दुई अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको छ ।

हिमालय एयरलाइन्स कम्पनीमा चुक्ता पूँजीको ५१ प्रतिशत सेयर नेपाली कम्पनी यती वर्ल्ड र एचआइएफसँग हुनेछ भने ४९ प्रतिशत सेयर तिब्बत एयरलाइन्ससँग हुनेछ । हिमालय एयरलाइन्सले आगामी कात्तिक ११ गते काठमाडौं-ल्हासाबाट पहिलो उडान सुरु जनाएको छ । 

यसले एक वर्ष भित्रमा तीन र दोस्रो वर्ष जहाजको संख्या पाँच वटा जहाज पुर्‍याउने लक्ष्य रहेको छ ।

हिमालयले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको ए–३१९ सिरिजको एयरक्राफ्ट मार्फत उडान सुरु गर्न लागेको छ ।