राष्ट्र बैंकको निर्देशनः संस्थापक सेयर अब एउटै समूहमा, गाविसमा कर्जा सीमा पाँच लाख

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
काठमाडौं। अबदेखि बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक सेयरधनी एउटै समूहमा रहने भएका छन्।

Tata
GBIME
Nepal Life

अहिले क, ख, ग वर्गमा वर्गीकरण गरिएको सेयरधनी संरचनालाई नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन दिँदै एउटैमा राख्ने व्यवस्था गरेको हो।
 

'अबदेखि संस्थापक सेयरधनीहरुको एउटै संस्थापक समूह हुने छ,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, 'अब संस्थापक सेयरधनीभित्र वर्गीकरण हुँदैन।'
 
नेपाल राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमा संस्थापक सेयरधनीको समूह एउटै बनाउने जनाएको थियो। नीतिमा भएको कुरालाई निर्देशन दिएर राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो।
 
बैंक तथा वित्तीय संस्थाहरुले आगामी बार्षिक साधारणसभाबाटै एउटै समूह बनाउनु पर्ने हुन्छ। 'बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा यसै अनुसारको व्यवस्था नभएको भए आगामी साधारणसभाले यस सम्बन्धि प्रस्ताव पारित गरि संशोधन गर्नु पर्ने हुन्छ,' श्रेष्ठले भने।
 
बैंक नभएका गाविसमा कर्जा सीमा पाँच लाख
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु नपुगेका गाविसहरुमा लघुवित्त विकास बैंकहरुले लगानी गर्ने कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले यसरी कर्जा दिने सीमा पाँच लाख रुपैयाँ पुर्‍याएको हो। यसअघि तीन लाख रुपैयाँसम्म कर्जा दिन पाइन्थ्यो।
 
यस्तो कर्जा व्यक्ति वा समूह दुवैलाई दिन सकिन्छ। कर्जा दिँदा भने अनिवार्य धितो लिनु पर्ने हुन्छ।
 
युनाइटेड विकास बैंकको इजाजतपत्र खारेज
नेपाल राष्ट्र बैंकले युनाइटेड विकास बैंकको इजाजतपत्र रद्द गरिदिएको छ। बैंक खारेजीको प्रकृयामा गइसकेको छ।
 
युनाइटेड विकास बैंक लिमिटेडको कृुल सम्पत्तिले कुल दायित्वलाई धान्न सक्ने अवस्था नरहेको, संस्थागत सुशासन अत्यन्तै कमजोर रहेको, संस्थाको घाटा निरन्तर रुपमा बढ्दै गएको तथा अविच्छिन्न निकाय अवधारणा बमोजिम संस्थाले आफ्नो वित्तीय कारोवार संचालन गर्न सक्ने न्यूनतम आधारसमेत नदेखिएपछि राष्ट्र बैंकले यसअघि नै बैंकलाई खारेजीमा लगेको थियो। 
 
राष्ट्र बैंकको निवेदन अनुसार पुनरावेदन अदालत हेटौंडाले अघिल्लो असोज १६ गते खारेजी सम्बन्धी कारवाहीको लागि लिक्वीडेटरसमेत नियुक्त गरिसकेको थियो। राष्ट्र बैंकले २०५७ चैत ३१ गते वित्तीय कारोवार गर्ने इजाजतपत्र दिएको थियो।