एनएसबीले स्थानीय युवालाई सहयाेग गर्ने, पाँच हजार व्यवसाय वृद्धि गर्ने महत्वकांक्षी योजना

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
एनएसबीले स्थानीय युवालाई सहयाेग गर्ने, पाँच हजार व्यवसाय वृद्धि गर्ने महत्वकांक्षी योजना

काठमाडौं। नेपाल सोसल विजनेश (एनएसबी)ले ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार तथा उद्यमशिलता विकासका लागि सोसल विजनेश सुरु गरेको छ। ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास गरी मानिसहरुलाई स्वरोजगार बनाउने उद्देश्यले नयाँ कार्यक्रम सुरु गर्न लागिएको एनएसबीले जनाएको छ। प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप र लायन्स क्लव अफ इन्टरनेशलनले संयुक्त रुपमा सोसल विजनेशको अवधारणा नेपालमा लागु गरेका हुन्।

सोसल विजनेशका बारेमा जानकारी दिन राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सोसल विजनेश र च्यारिटी फरक भएको भन्दै यसको कामको प्रकृति दातृ निकायको सहयोगमा सञ्चालित एनजिओ भन्दा फरक हुने पनि बताए।

Tata
GBIME
Nepal Life

ग्रामीण क्षेत्रमा साना साना विजनेश प्लानको पहिचान गरी तिनलाई अघि बढाउन यो योजनाले सहयोग गर्ने जानकारी उनले दिए। यस्तो सहयोग च्यारिटी जस्तो नभएर अर्को परियोजनामा लगानी गर्नुपर्ने हुनेछ। समाजमा उद्यमशीलता विकास गरी मानिसहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमको उद्देश्य रहेको चौधरीले जानकारी दिए।

आफूले नोबेल पुरस्कार विजेता मोहम्मद युनुससँगको भेटमा यस सम्बन्धि विस्तृत कुरा गरेको भन्दै चौधरीले सोसल विजनेशका लागि मात्रै १० लाख डलरको प्रतिबद्धता गरेको पनि बताए। युनुसले लघुवित्तलाई समाजसँग जोडेर कार्यत्रम अघि सारेको भन्दै चौधरीले आम नागरिकका लागि यसले ठूलो सहयोग गर्ने बताए।
'सोसल विजनेशका लागि इक्विटी एनएसबीले गर्छ, मानिसलाई उद्यमी बन्न आवश्यक सहयोग गर्ने काम हाम्रो भयो,' उनले भने, 'हामीले नाफाको उद्देश्य नराखी मानिसहरुलाई सहयोग गर्छौं र त्यसको नाफा पनि लिदैनौं।तर एउटा उद्यमी सफल भएपछि उसले अर्कोलाई सहयोग गर्नुपर्छ।'
चौधरीले नयाँ योजनामार्फत पाँच वर्षमा पाँचहजार व्यवसाय विस्तार गर्ने योजना पनि रहेको बताए। 'हामीले आउँदो पाँच वर्षमा पाँच हजार व्यवसाय सुरु गर्ने योजना अघि सारेका छौं,' उनले भने, 'यो लक्ष्य निकै चुनौतिपूर्ण छ तर असम्भव भने होइन।'

अहिलेसम्म सोसल विजनेशमा ९ जना व्यवसायीले इच्छा देखाएका र त्यसको विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए। चौधरीले आउँदो नोभेम्बरसम्ममा ती सबैको प्रक्रिया पुरा गरेर कार्यक्रम अगाडि बढाइने जानकारी दिए। संभाव्य देखिएका परियोजनामा सोसल विजनेशल इक्विटी हालिदिने छ। यस्तै चौधरीले व्यवसायीले राज्यका लागि गरेको योगदान बिर्सेर नाफा मात्रै कमाउन बसेको भन्ने सोच त्याग्न पनि आग्रह गरे।

यस्तै लाएन्स क्लव अफ इन्टरनेशनलका अध्यक्ष जोए प्रिस्टनले समाजको विकासका लागि आफूहरुले जहिले पनि सोचिरहेको भन्दै समाजप्रति जिम्मेवार भएर अघि बढ्ने बताए। उनले पाँच हजार व्यवसायको सिर्जना गर्नु आफैंमा चुनौतिपूर्ण भए पनि त्यो लक्ष्य पुरा गर्नेमा आफू विश्वस्त रहेको बताए।

एनएसबीका सिइओ निर्वाण चौधरीले सोसल विजनेशले समाजमा उद्यमशीलता विकास गर्ने र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्दै जानेमा जोड दिए। उनले यसले नेपालको ग्रामीण क्षेत्रको विकासमासमेत सहयोग गर्ने दावी गरे। उनले च्यारिटी एक पटकका लागि हुने तर सोसल विजेनेश सयौं पटकका लागि हुने बताए।

एनएसबीले पाइलट प्रोजेक्टका रुपमा जुम्लाबाट यो कार्यक्रम सुरु गर्दैछ। जुम्लाका चारवटा परियाेजनामा एनएसबीले लगानी गर्ने जानकारी दिइएको छ । कार्यक्रम नेपालका गरिबीको रेखामुनी रहेका सबै मानिसहरुमा पुर्‍याउने लक्ष्य एनएसबीको छ।