एचएन्डबी बैंककी पुर्वसिइओ जसोदा सैंजु प्रहरी नियन्त्रणमा, करिव पाँच करोड रुपैयाँ ठगीको उजुरी

बिजमाण्डू
२०७१ असोज २३ गते ००:०० | Oct 9, 2014
काठमाडौं। एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई ठगी आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको छ।


 
महानगरीय प्रहरी अपराध महाशाखाले सैंजु र पूर्वसञ्चालक पुष्पज्योति ढुङगानालाई पनि नियन्त्रणमा लिएको छ । दुबै जनालाई ग्राहकको चार करोड ७७ लाख रुपैयाँ गठी गरेको उजुरीको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। पुर्वसञ्चालक कास्कीका हुन् ।
 
ग्राहकले आफ्नो खातामा रकम राखेपनि जम्मा नभएको भन्दै भौचरसहित प्रहरीमा उजुरी परेकाले उनीहरु दुवैलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्राेतले जनाएको छ ।  बैंकमा निक्षेप जम्मा गरेकाे दावी गर्दै प्रशान्त अग्रवाल नामका व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए । तर, उनले दावी गरे अनुसारकाे रकम बैं‌कमा जम्मा भएकाे देखिदैन । अग्रवालले प्रहरीमा भाैचर पनि पेश गरेका छन् ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकको टोलिले सैंजुलाई बुुधबार मात्रै अवकास दिएको थियाे । गुडफर पेमेन्ट काण्डमा संलग्नता नदेखिएको तर नियन्त्रण प्रणाली बलियाे बनाउन नसकेकाे भन्दै उनलाई अवकास दिएकाे हाे । करिब ८३ करोड रुपैयाँ हिनामिनाकाे काण्ड बै‌कले नै र प्रहरीले पनि अनुसन्धान जारी राखेका छन् । राष्ट्र बै‌कले पनि याे काण्डमा छानविन गरेको थियाे । यी अनुसन्धानमा सैंजु दाेषी देखिएकी थिइनन् ।

राष्ट्र बैंकले गत जेठ १४ गते बैंकको व्यवस्थापन निलम्बन गरेर आफूले जिम्मा लिएको थियो। त्यही बेला सैंजुलाई राष्ट्र बैंकले निलम्बन गरेको थियो । निलम्वनपछि बैंकको व्यवस्थापन संयोजकमा राष्ट्र बैंकबाट उप–निर्देशक ज्ञानुकृष्ण अधिकारीलाई पठाएको थियो । अधिकारी अवकास भएका छन् । उनको स्थानमा विष्णुमणि गाैतमलाई पठाइएको जानकारी राष्ट्र बैंकले विहीबार नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । सहायक निर्देशक हेमराज अधिकारी सदस्य छन् । 
 
गतवर्ष बैंककै एक कर्मचारीले गुड फर पेमेण्ट चेकबाट करोडौं रुपैयाँ भुक्तानी गरेपछि बैंक समस्यामा पर्दै आएको थियो । 

बैंकमा गुड फर पेमेन्ट चेक मार्फत ८२ करोड रुपैयाँ भन्दा बढि घोटाला भएको थियो । घोटाला प्रकरणमा संलग्नहरुलाई तत्काल कारबाही सञ्चालक समितिलाई पटक पटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरे पछि टेकओभर गरेको राष्ट्र बैंकको भनाइ छ ।
 
 

के हो काण्ड ?
एचएण्डबी बैंकका कुलेश्वर शाखाका प्रमुख निरज नेपालले बैंककै ग्राहक मनोजकुमार चौरासियासँग मिलेर ८३ करोड रुपैयाँभन्दा बढीको घोटला गरेका थिए । काण्ड सार्वजनिक हुनासाथ नेपाल पक्राउ परेका थिए । झण्डै दश महिना अघि  गुड फर पेमेन्ट काण्डका मुख्य अभियुक्त चौरासिया पनि पक्राउ परेका हुन् । 

चौरासियले नेपालसँग मिलेर सुरुमा सर्वसाधरणसँग एचएण्डबी बैंकको कुलेश्वर शाखामा निक्षेप गर्न लगाउँथे, त्यो निक्षेप बराबर उनीहरुले निक्षेपकर्ताकै नाममा गुड फर पेमेन्ट चेक जारी गर्दथे, यसरी जारी गरेको चेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखेर उनीहरु रकम लिन्थे ।

निक्षेपकर्ताहरु निक्षेप राखेको आफ्ना रकम लिन बैंक जाँदा धितोमा राखिएको हुन्थ्यो ।

ऋण लिएर चौरासिया लगायतको टोलीले भुक्तानी नगरेपछि समस्या सिर्जना भएको थियो । एचएण्डबीमाथि एकतर्फ धितोमा राखेको रकम फिर्ता गर्नुपर्दथ्यो भने दोस्रोतर्फ गुड फर पेमेन्टको ऋण चुक्ता गर्नुपर्दथ्यो । यसरी बैंकको ८३ करोड रुपैयाँ हिनामिना भएको थियो । 

चौरासिया पक्राउ
एचएण्डबी बैंकको गुड फर पेमेन्ट काण्डका मुख्य अभियुक्त मनोजकुमार चौरासियालाई प्रहरीले १४ महिना अघि पक्राउ गरेको थियो । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । एचएण्डबी काण्डमा प्रहरीले चौरासियाविरुद्ध पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरिसकेको छ । 

चौरासियाले एचएण्डबी बैंकको कुलेश्वर शाखाका प्रमुख निरज नेपालसँग लिमेर बैंकलाई करोडौं रुपैयाँ ठगी गरेको प्रारमिभक अनुसन्धानमा फेला परेको छ । चौरासियासँगै उनका साझेदार प्रमिल यादव पनि फरार थिए । उनीहरु दुई जना मिलेर एचएण्डबीलाई ८३ करोड रुपैयाँभन्दा बढी चुना लगाएका थिए ।

वीरगञ्जका चौरासिया र यादव म्याक्स मोवाइलको अधिकृत विक्रेता थिए । उनका काठमाडौंमा चारवटा साडी पसल समेत छन् । चौरासियाले नेपालमा रासायनिक मल ल्याउने तयारी समेत गर्दै थिए । केही समयपछि नेपालले कुलेश्वर शाखा भित्रै क्यास सर्टेज सुरु गरेका थिए ।

चौरासियाले विभिन्न वित्तीय संस्थाबाट करोडौ ऋण लिएका छन् । रोयल सारी इन्टरप्राइजेजका नाममा सनराइज बैंक र सिद्धार्थ बैंकबाट चौरासियाले ऋण लिएका छन् ।

दुवै बैंकले धितोमा रहेको सारी तथा कुर्ता सलवार लिलामीको सात दिने सूचना समेत जारी गरेका थिए । यो वाहेक सुनसरी जिल्लाको हाँसपोसा गाविसको धितोमा राखेको जग्गा समेत लिलामीको सूचना जारी भएको थियो ।

 
कहाँसम्म जोडिएको छ तार
निरज र चौरासिया दुई जनाको प्रयासमा मात्रै यति ठूलो काण्ड नभएको जिकिर ठगिएका निक्षेपकर्ताको छ । प्रहरीले निरज नेपालसहित बैंकका नौ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । यही काण्डका कारण एचएण्डबी बैंकको साख गिरेको छ भने बैंकको सेयर भाउ तल झरेको छ । 

यस्तो थियो निक्षेप फिर्ता गर्ने योजना

बैंकले ठगिएका निक्षेपकर्तालाई रकम फिर्ताको नयाँ बाटो तयार गरेको थियो तर त्यो योजनाले पूर्णता पाएको छैन् । योजनाअनुसार एचएण्डबीको गुड फर पेमेन्ट काण्डका निक्षेपकर्ताले बैंकमा फसेको रकमको ४० प्रतिशत प्रवद्र्धक सेयरमा परिवर्तन गर्ने, ३० प्रतिशत रकम तत्काल भुक्तानी गर्ने र थप ३० प्रतिशत रकम ऋणपत्रमा परिवर्तन गर्ने सहमति गरिएको थियो ।