.jpg)
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भैरहवामा निर्माधीन रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण जिम्मा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई नै दिन स्वीकृत दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नर्थ वेस्ट कम्पनीलाई छनोट गरी स्वीकृतका लागि गत भदौ तेस्रो साता एडीबीको केन्द्रीय कार्यालय मनिला पठाएको थियो ।
एडीबीले झण्डै तीन साता लगाएर प्राधिकरणले पठाएको विभिन्न कागजात र कम्पनीबारे अध्ययन गरेपछि गत मंगलबार मात्रै प्राधिकरणलाई नर्थवेष्टलाई नै निर्माण जिम्मा दिन स्वीकृत गरिएको पत्र पठाएको थियो ।

एडिबीले सो कम्पनीलाई स्वीकृत दिएसँगै गौतम बुद्ध विमानस्थलको निर्माण कार्य पक्कापक्की भएको गौतम बुद्ध स्तरोन्नती आयोजनाका निर्देशक मुरारी भण्डारीले बताए । उनले भने, 'अहिलेसम्म विमानस्थल बन्ने कि नबन्ने भन्ने सबैलाई शंका थियो । अब शंका दूर भएको छ ।'
भण्डारीका अनुसार अब ठेकदार कम्पनी र प्राधिकरणबीच निर्माण सम्झौता हुने छ । सम्झौता भएको करिव दुई महिनापछि काम सुरु हुने भण्डारीले बताए । उनले भने, 'अब दुईमहिनापछि विमानस्थल निर्माण कार्य सुरु हुनेछ । तीन वर्ष भित्र तयारी हुन्छ ।'
प्राधिकरणले एकहप्ताको म्याद राखेर दाबी विरोध गर्न सूचना निकाल्ने, छनौट भएको कम्पनीले २७ दिन भित्र बैंक ग्यारेन्टी गर्नु पर्ने र ३० दिन भित्र आफ्ना सामानहरु मोबिलाइज गर्ने म्याद पाउने हुँदा दुई महिनापछि मात्रै आयोजना सुरु हुने भण्डारीको भनाइ छ ।
प्राविधिक रूपमा छनोट भएका ६ कम्पनीमध्येबाट नर्थ वेस्ट कम्पनीले सबैभन्दा सस्तोमा विमानस्थल निर्माण गर्ने गरी प्रस्ताव गरेकाले छनोट गरिएको भण्डारीले बताए । नर्थवेष्टले छ कम्पनीमध्ये सबैभन्दा सस्तो छ अर्ब २२ करोड ५१ लाख २० हजार दुईसय २७ रुपैयाँ ९१ पैसामा बनाउने गरि प्रस्ताव पेश गरेको थियो ।
प्राविधिक रूपमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप, चाइना हार्भर इन्जनियरिङ कम्पनी, सिनो हाइड्रो, नर्थ वेस्ट सिभिल एभिएसन कम्पनी लिमिटेड, स्पेनिस कम्पनी सान्जोसे कालिका र आइसोलस कार्सन चयन भएका थिए ।
'अरु कम्पनीले भन्दा सस्तोमा नर्थवेष्टले प्रस्ताव पेश गरेको थियो । त्यसैले उसैले बनाउने ठेक्का पायो,' भण्डारीले भने ।
विमानस्थल निर्माण गर्न ३७ वटा कम्पनीले प्रस्ताव फारम खरिद गरेको भए पनि ७ वटाले मात्रै बुझाएका थिए । चाइना भोलेन्ट इन्डस्ट्री कम्पनी भने प्राविधिक रूपमै अस्वीकृत भएको थियो ।
एडीबीले १० देखि १२ दिनमा स्वीकृत गर्ने र उक्त कार्यपछि असोजको दोस्रो सातादेखि काम सुरु गराउने प्राधिकरणले तयारी गरिरहेको छ । विमानस्थल निर्माणका लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । हाल ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ (६३ मिलियन डलर) रकमबराबरको काम गर्न टेन्डर आह्वान गरिएको हो ।
पहिलो चरणमा एक हजार पाँचसय मिटर धावनमार्गलार्इ विस्तार गरेर तीन हजार मिटर बनाइनेछ । पहिलो चरणको कामपछि विमानस्थलको पाकिर्ङ वे (एप्रोन) समेत ६ वटा हुनेछ । भण्डारीले भने, 'पहिलो चरणमा धावनमार्ग र अरु भौतिक संरचनाहरु बन्नेछन् । त्यसपछि दोस्रो चरणको काम हुन्छ ।'
टर्मिनल भवन, पार्किङ लगायतका भौतिक संरचनाको साथै वरपर बाटो, ट्याक्सी–वे, रेस्क्यु एन्ड फयर फाइटिङ युनिटका लागि भवन, इलेक्ट्रिकल खानेपानीलगायत भौतिक निर्माणतर्फका सबै निर्माण हुने दोस्रो चरणमा हुनेछ । बाँकी झन्डै दुर्इ अर्ब रकम भने विमानस्थल निर्माणपछि आवश्यक पर्ने उपकरण खरिदका लागि उपयोग गरिने भण्डारीले जानकारी दिए ।
विमानस्थल निर्माणकार्य सुरु हुनेबित्तिकै अर्को टेन्डर गरी इक्युपमेन्ट खरिद गरिने भण्डारीले जानकारी दिए । निर्माण कम्पनीसँग टेन्डर सम्झौता भएको मितिले तीन वर्षमा निर्माण गरिसक्नुपर्ने भएकाले सन् २०१७ को सेप्टेम्बरसम्ममा विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ ।
विमानस्थलमा छ वटा अन्तर्राष्ट्रिय र चार वटा आन्तरिक उडान भर्ने जहाज पाकिर्ङ गर्न मिल्नेछ ।
स्तरोन्नतीपछि भैरहवामा 'वाइड बडी' जहाज अवरण गर्न सक्नेछन्। गौतम बुद्ध विमानस्थलको स्तरोन्नति भएपछि त्रिभुवन विमानस्थल व्यस्त भएको समयमा अन्तर्राष्ट्रिय विमान भारतमा लगेर अवतरण गर्नुपर्ने बाध्यता पनि हट्नेछ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा हाल अवतरण भइरहेका जहाजमध्ये १० प्रतिशत लुम्विनीमा अवतरण गर्ने प्रक्षेपण प्राधिकरणाको छ । यो विमानस्थललाई त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थल बनाउन सकिनेछ।










