प्राधिकरणमा जागिरका लागि आवेदन दिनेको घुँइचो, बेरोजगारलाई सास्तीमाथि सास्ती, तस्बिर समाचार

बिजमाण्डू
२०७१ असोज २४ गते ००:०० | Oct 10, 2014
प्राधिकरणमा जागिरका लागि आवेदन दिनेको घुँइचो, बेरोजगारलाई सास्तीमाथि सास्ती, तस्बिर समाचार
अंगद ढकाल
काठमाडौँ । नेपालमा शिक्षित बेरोजगारको समस्या कति भयावह छ, विद्युत प्राधिकरणमा जागिरका लागि आवेदन दिन लागेको भिडबाट प्रष्ट हुन्छ। प्राधिकरणले १ हजार ६ सय ९९ वटा पदको लागि आठ कक्षादेखि एमएसम्म पढेकाहरुबाट जागिरका लागि आवेदन माग गरेको हो। तर आवेदन दिनेको संख्या एउटा केन्द्रमा मात्रै दुई लाख नाघिसक्यो। 

यसमा विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरिया केन्द्रको संख्या जोडिएको छैन। जागिरको आवेदन फारम जुन स्थानको पदका लागि खोलिएको हो, त्यहीँको प्राधिकरणको क्षेत्रीय कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ। 

प्राधिकरणले भदौ २२ गते सूचना प्रकाशित गर्दै तीनदेखि १० तहसम्मका लागि शुक्रबारसम्म आवेदन दर्ता गर्न भनेको थियो। दोब्बर परीक्षा दस्तुर तिरी भने असोज ३१ गतेसम्म आवेदन दिन पाइन्छ। म्याद सकिनै लाग्दा भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा हजारौँको भिड लाग्न थालेको छ। 



सास्तीमाथि सास्ती
जागिरको आवेदन दिन आउनेहरु बेरोजगारहरु हुन्, समय प्रशस्त हुन्छ भन्ने मनोवृत्तिबाट त्यहाँ व्यवस्था मिलाइएको देखिन्छ। किनभने एउटा सामान्य फाराम बुझाउन एक जनालाई छदेखि आठ घण्टासम्म लाग्ने गरेको छ।  

एक जना आवेदकले त्यहाँ पुगेपछि सबैभन्दा पहिला फाराम हात पार्नुपर्छ। अनलाइनबाट डाउनलोड गरी प्रिन्ट गरे हुनेमा यहाँ ३० रुपियाँसम्ममा फाराम बेच्नेहरु छन्।




फाराम भरेपछि परिसरभित्रै रहेको ज्योति विकास बैँकमा आवेदन शुल्क वापतको रकम बुझाउन भौचर भर्नुपर्छ। आवेदन दिनेहरुको चापका कारण भौचर फारामसमेत अपुग हुँदा हारालुछ हुने गरेको छ। 

भौचर पाउनु भयो भने ठान्नुस् तपाईँले एउटा ठूलै युद्ध जित्नुभयो। अबको काम त्यो भौचर भरेर रकम बुझाउन बैँकमा लामो लाइन बस्ने पालो।

रकम बुझिलिएको छाप बैँकले भौचरमा लगाइदिएपछि फेरि सुरु हुन्छ अर्को लाइन। यस पटक भने भौचरसहितको फाराम बुझाउने लाइन।

जुन ठाउँमा फाराम बुझाउने हो, त्यही ठाउँमा रकम बुझाउने व्यवस्था गरे पनि हुने हो। तर त्यसो गर्दा प्राधिकरणका कर्मचारीले त्यो रकम फेरि बैँकमा जम्मा गराउन जानु पर्ने हुन्छ। प्राधिकरणका जागिरे कर्मचारीको सजिलोका लागि बेरोजगार आवेदकहरुलाई नै त्यो काम लगाइएको देखिन्छ।
 
चर्को घाम र लामो लाइनका कारण कति जना त बेहोस समेत हुन्छन्। 


























ती लाखौँ आवेदकले जागिर पाउँछन् कि पाउँदैनन्, निश्चित छैन। तर उनीहरुको लागि लेखिएका गाइड बुकहरुका प्रकाशक र लेखकले भने निकै कमाइसकेका छन्। 

Tata
GBIME
Nepal Life