ग्याँस बाहेक सबै पेट्रोलियमा नाफा, सञ्चालक समितिले मिति तय गरेपछि मात्रै मुल्य घट्ने

बिजमाण्डू
२०७१ असोज २७ गते ००:०० | Oct 13, 2014

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । नेपाल आयल निगमले (एनओसी)यो महिना नाफा कमाएको छ । सँधै नोक्सानमा गएर आपुर्तिमा समस्या देखिने निगम यस पटक भने निकै नाफा कमाउन सफल भएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घटेपछि आयल निगमलाई राहत पुगेको हो ।

Tata
GBIME
Nepal Life

अहिले कच्चा पेट्रोलियम पदार्थको मुल्य ९६ अमेरिकी डलरको हाराहारीमा छ । यही मुल्यका आधारमा भारतीय आयल निगम(आइओसी)ले एनओसीलाई अक्टोवर एक तारिक नयाँ मुल्य सुची पठाएको हो । आइओसीको नयाँ मुल्य सूची अनुसार एनओसीलाई ग्याँस बाहेक अन्य सबैमा उच्च नाफा छ ।

एनओसीले पेट्रोलियम पदार्थको मूल्य स्वचालित रुपमा घटबढ हुने गरी ‘अटोमेशन प्रणाली’ लागु गरेपनि यसपटक भने मूल्य हेरफेर गरेको छैन । एनओसीले असोज १३ गतेबाट नयाँ प्रणाली लागु गरेपनि यसपटक भने पेट्रोलियम पदार्थको मूल्य घटबढ गरेन । अन्तर्राष्ट्रिय बजारमा मुल्य परिवर्तन हुनासाथ नेपालमा पनि मुल्य घट्बढ हुनुपर्ने हो ।

एनओसीले अक्टोबर १ मा सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य यसअघि सेप्टेम्बर १६ मा तोकिएकै बराबर छ । एनओसीका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने तयारी गरेपनि यसपटक भने नगरिएको बताए ।

‘हामीले यसअघि प्रत्येक १५ दिनमा मूल्य परिवर्तन गर्ने भनेको थियौं,’ भट्टले भने, ‘यस पटक भने गरेका छैनौं र छिट्टै नै मूल्य हेरफेर हुन्छ ।’ भट्टले मूल्य हेरफेर गर्ने दिन एनओसीको सञ्चालक समितिको बैठकले तोक्ने भन्दै सञ्चालक समितिको बैठक बसेपछि मात्रै मूल्य परिवर्तनको मिति टुंगो लाग्ने जानकारी दिए ।

‘हामीले हरेक महिनाको १ र १६ तारेखमा मूल्य परिवर्तन गर्ने सोच बनाए पनि अब त्यसो हुँदैन,’ भट्टले भने, ‘महिनाको दुई पटक मूल्य परिवर्तन हुन्छ, तर त्यसको मिति भने टुंगो लाग्न बाँकी छ ।’ आइओसीले एनओसीलाई प्रत्येक महिनाको दुई पटक नयाँ मूल्य सूची पठाउने गरेको छ । एनओसीले पनि त्यसै अनुरुप अटोमेशन प्रणाली लागु गरेको थियो ।

एनओसीले यसअघि पेट्रोलियम पदार्थको परल मूल्यमा थोरै नाफा जोडेर बेच्ने तयारी स्वरुप नयाँ प्रणाली लागु गरेको थियो । अटोमेशनमा गएको पहिलो पटक नै निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको थियो ।

यस्तो छ निगमलाई नाफा
एनओसीलाई अक्टोबर महिनामा २६ करोड १४ लाख रुपैयाँ खुद मुनाफा हुने प्रक्षेपण गरेको छ । एनओसीले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार नाफा प्रक्षेपण गरेको हो । सेप्टेम्बरमा चार करोड ६७ लाख रुपैयाँ नोक्सान व्यहोरेको एनओसीले यो महिना भने नाफाको प्रक्षेपण गरेको छ ।

पेट्रोलियम पदार्थ नाफा नोक्सान रुपैयाँमा नयाँ मूल्य अनुसार नाफा नोक्सान रुपैयाँमा सेप्टेम्बर १६ को मूल्य अनुसार
पेट्रोल १२।६३ १२.०६
डिजेल ३।१९ ०।८३
मट्टितेल १६।१९ १३।९४
हवाइ इन्धन आन्तरिक ४१।५८ ३९।४१
हवाइ इन्धन अन्तर्राष्ट्रिय ५२।९६ ४६।६३
खाना पकाउने ग्यास नोक्सान ५११।२८ नोक्सान ५५३।०६

नयाँ मूल्य अनुसार पेट्रोलमा १२ रुपैयाँ ६७ पैसा नाफा छ । सेप्टेम्बरमा पेट्रोलमा १२ रुपैयाँ ६ पैसा नाफा थियो । यस्तै डिजेलमा तीन रुपैयाँ १९ पैसा नाफा छ । सेप्टेम्बरमा निगमलाई डिजेलमा प्रति लिटर ८३ पैसा मात्रै नाफा थियो ।

यस्तै निगमले खाना पकाउने ग्यासमा व्यहोर्दै आएको चर्को नोक्सान पनि केही कम भएको छ । अघिल्लो महिना प्रति सिलिण्डर पाँचसय ५३ रुपैयाँ ६ पैसा नोक्सान ब्यहोरेको निगमलाई यो महिना ग्यासमा प्रतिसिलिण्डर पाँचसय ११ रुपैयाँ २८ मात्रै नोक्सान हुनेछ ।