कच्चा तेलको मूल्य ८८ डलरमा आइपुग्यो, जुन यता २० प्रतिशतले गिरावट, डिसेम्बरसम्ममा सुध्रिने

बिजमाण्डू
२०७१ असोज २८ गते ००:०० | Oct 14, 2014
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । मंगलबार कच्चा तेल ८८ डलर प्रतिब्यारेलमा कारोबार भएको छ । बजारमा तेलको आपूर्ति उच्च भएपछि मूल्य घटेको हो ।

Tata
GBIME
Nepal Life

गएको जुनयता विश्वव्यापी रुपमै तेलको मूल्य २० प्रतिशत भन्दा धेरैले घटेको छ । जुनमा बजारमा तेलको माग भन्दा आपूर्ति उच्च थियो । उक्त समयमा अमेरिका, युरोप तथा चीनमा तेलको माग कम भएको थियो ।

लगानीकर्ताहरुले पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठनले तेलको मूल्यमा सुधार ल्याउन प्रयास गर्ने अपेक्षा गरेपनि मूल्य भने नबढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबिया र कुवेतले तेलको मूल्य बढाउनका लागि उत्पादन तथा निर्यातमा केही कम गर्न सक्ने अनुमान गरिएपनि त्यसो नभएको समाचारमा जनाइएको छ । ओपेकले संसारभर खपत हुने मध्ये ४० प्रतिशत पेट्रोलियम पदार्थ उत्पादन गर्ने गरेको छ ।

'आउँदो नोभेम्बरको ओपेक बैठकसम्मका लागि साउदी अरेबियाले उत्पादनमा कटौती गर्ने हल्लाले पनि काम गरेको हुनसक्छ,' मेलवर्नका कमोडिटी बजार विश्लेषक अंकित पहुजाले भनेका छन्, 'यो सिजन कम हुने बेला नै, आउने नोभेम्बर र डिसेम्बरसम्ममा सुधारको संकेत देखिन सक्छ ।'

सोमबार कच्चा तेलको मूल्य २०१० को डिसेम्बर यताकै न्यून भएको थियो । २०१० को नोभेम्बरमा तेलको मूल्य ८७.७४ डलरमा झरेको थियो ।

मंगलबार भने ८८.१९ डलर प्रति ब्यारेलमा कारोबार भएका समाचारमा जनाइएको छ । यता अमेरिका भने कच्चा तेलको मूल्य ६५ सेन्टले घटेर ८५.०९ डलरमा आइपुगेको छ ।

'चीनको हिजोको तथ्याकंबाट केही सकारात्मक हुने ठाउँ पाउन सकिन्छ,' उनले भनेका छन्, 'अब संसारभर तेलको माग बढ्न सक्ने देखिन्छ, यसले बजारलाई केही राहत दिने छ ।' चीनमा सेप्टेम्बरमा कमोडोटीतर्फ आयात उच्च भएको थियो । अगस्टको तुलनामा सेप्टेम्बरमा कच्चा तेलको आयात १३ प्रतिशतले बढेको थियो ।

तेलको मूल्य कम भएपनि केही विश्लेषकले भने बजारमा केही सुधारको संकेत दखापर्ने दाबी गरेका छन् । उनीहरुले हिउँदमा उत्तरी गोलार्द्धमा पेट्रोलियमको माग उच्च हुने पनि बताएका छन् । 'वर्षको अन्त्यसम्ममा हामी बजारमा केही सुधारको संकेत देख्न सक्छौं,' मोर्गन स्टेन्लेका विश्लेषकले भनेका छन्, 'अहिलेको घट्दो ट्रेन्डलाई त्यतिबेलाको बजारले केही सुधार गर्न सक्छ ।'

'ओपेक अहिलेदेखि नै जिम्मेवार नहुने हो भने यसले वर्षको अन्त्यमा पनि केही समस्या निम्त्याउन सक्छ,' उनले भने, 'केही आधारभूत पक्षमा परिवर्तन भएमात्रै कच्चा तेलको मूल्यमा सुधार गर्न सकिन्छ ।'

लगानीकर्ताहरु भने अमेरिकामा पेट्रोलियम पदार्थमा भएको साप्ताहिक लगानीको तथ्यांक कुरेर बसेका समाचारमा जनाइएको छ । अक्टोबर १० को सप्ताहन्तमा अमेरिकामी पूँजीबजारमा कच्चा तेलसँग सम्बन्धित सूचकमा केही सुधार आउने अपेक्षा पनि गरिएको भएपनि त्यसको असर देखा नपरेको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकामा अमेरिकन पेट्रोलियम इन्टिच्यूटले बुधबार यसको प्रतिवेदन सार्वजनिक गर्दैछ । यस्तै अमेरिकी ऊर्जा सूचना प्रशासनले पनि बिहीबार यससम्बन्धि छुट्टै प्रतिवेदन ल्याउने छ । कोलम्बस डे का कारण यी प्रतिवेदन आउन ढिलाइ भएका हुन् ।