सांग्रिला भिलेज रिसोर्टलाई वर्ल्ड ट्राभल अवार्ड २०१४, नेपालका ५ होटललाई उछिन्दै अवार्ड जित्यो

बिजमाण्डू
२०७१ असोज २८ गते ००:०० | Oct 14, 2014
सांग्रिला भिलेज रिसोर्टलाई वर्ल्ड ट्राभल अवार्ड २०१४, नेपालका ५ होटललाई उछिन्दै अवार्ड जित्यो


काठमाडौं । पोखराको सांग्रिला भिलेज रिसोर्ट वर्ल्ड ट्राभल अवार्ड २०१४ जित्न सफल भएको छ । वर्ल्ड ट्राभल अवार्डले भारतको नयाँ दिल्लीस्थित होटल ओवरायमा आयोजना गरेको कार्यक्रममा नेपालको अग्रणी होटलको क्याटागोरीमा सांग्रिला रिसोर्टलाई सो अवार्ड प्रदान गरिएको हो ।

Tata
GBIME
Nepal Life

गत असोज २४ गते २१ औं वार्षिक वर्ल्ड ट्राभल अवार्डस्को अवसर पारेर सो अवार्ड प्रदान गरिएको थियो । नेपालबाट प्रतिस्पर्धा गरेका होटलहरुमध्येबाट रिसोर्टलाई उत्कृष्ट ठहर्‍याइएको थियो । होटल तथा रिसोर्टको प्रोफाइल, त्यहाँ दिइने सेवा, सुविधा र पाहुनाले दिएका प्रतिक्रियाको आधारमा सो अवार्ड छनौट गरिन्छ ।

नेपालको तर्फ बाट छ होटलले सो अवार्डको लागि प्रतिस्पर्धा गरेका थिए । यसरी प्रतिस्पर्धामा गएका होटलहरुमा  पोखराको सांग्रिला भिलेज रिसोर्ट र काठमाडौंका गोकर्ण फरेष्ट रिसोर्ट, डेल अन्नपूर्ण, ह्यात रिजेन्सी, याक एन्ड यति र क्राउन प्लाजा सोल्टी थिए ।

प्रतिस्पर्धी पाँचवटालाई उछिनेर सांग्रिलाले सो अवार्ड जित्न सफल भएको सांग्रिला होटल एन्ड रिसोर्ट समूहका महाप्रबन्धक राजु विक्रम शाहले बताए ।

एसिया र अष्ट्रेलेसियाका २० देशका विभिन्न होटलहरुले अवार्डमा सहभागी थिए । पर्यटन क्षेत्रको ओस्कार मानिने सो पुरस्कार पाउने सांग्रिला पहिलो नेपाली होटल भएको उनले दाबी गरे । शाहले भने, 'हाम्रो लोकेसन, त्यहाँबाट देखिने ल्यान्डस्केप र विभिन्न सुविधाले हामी उत्कृष्ट हुन सफल भएका छौँ ।'

उनले अवार्ड पाएपछि आफूहरुलाई उत्कृष्ट सेवा दिन झन् हौसला मिलेको बताए । उनले भने, 'यो अवार्डले हाम्रो व्यवसायमा थप सहयोग पुग्ने विश्वास लिएका छौँ ।' यो रिसोर्टमा होटल सांग्रिलाको लगानी छ ।