पर्यटन बोर्डका निरौलाले मदिरा खरिदमा समेत आर्थिक अनियमितता, पत्रकार भ्रमणमा पनि हिनामिना

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
काठमाडौं । नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले विभिन्न समयमा अनाधिकृत रुपमा  ह्विस्की तथा वाइन जस्ता मादक पदार्थ खरिद गरेर बोर्डमा आर्थिक अनियमितता गरेको पाइएको छ ।
 
बोर्डको आर्थिक आम्दानी, खर्च तथा उजुरी, पदयात्रा सूचना प्रणाली (टिम्स) को व्यवस्थापन तथा नेपाल पर्वतारोहण संघको रोयल्टी समेतका सम्बन्धमा छानविन तथा सुझाव दिन गठित नेपाल पर्यटन बोर्ड छानविन समितिले दिएको प्रतिवेदनमा विभिन्न मितिमा ह्विस्की, वाईन जस्ता मादक पदार्थ खरिद गरिएको पाइएको उल्लेख गरेको  छ ।
 

Tata
GBIME
Nepal Life
गोल्डेन ह्यान्डसेक गरदिनुस् म छाडिदिन्छु: निरौला

बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) सुवास निरौलाले भ्रष्टाचारीको आरोपमा हुने कारबाहीबाट बच्न गोल्डेन ह्याण्डसेकको माग गरेका छन्। पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष उनले आफ्नो कार्याकाल सकिन लागेको समयमा आर्थिक अनियमितताको आरोप लागेका कारण यसबाट हुने कारबाही अगाडि नै गोल्डेन ह्याण्डसेक मागेका हुन्।
 

संसदको सार्वजनिक लेखा समितिमा बुधबार बोल्दै निरौलाले आफ्नो कार्याकाल सकिन दुई वर्ष बाँकी रहेकोले आफू विवादित रहेर पदमा बस्न नचाहेकोले गोल्डेन ह्यान्डसेकको बाटो रोजेको उनले बताए। निरौलाले यस अवधिमा आफैं सीईओको प्रतिस्पर्धीसमेत भएकोले गोल्डेन ह्याण्डसेक दिएर विदा गरेमा आफू खुशीसाथ बोर्ड छोड्न तयार रहेको बताए ।

समिति बैठकमा निरौलाले पर्यटन बोर्डमा भएको आर्थिक अनियमितताका विषयमा परेको कुनै पनि उजुरीको बारेमा आफूलाई थाहा नभएको जवाफ दिए।

सभसद् धनराज गुरुङले पर्यटन बोर्ड छानविन समितिले औंल्याएको विषयमाथि प्रश्न गर्दा निरौलाले गोटमटोल जवाफ दिएका छन्। उनले सोधिएका प्रश्नको सोझो उत्तर नदिएर नुबुझिने हिसाबले घुमाउरो पारामा उत्तर दिएका थिए ।

पर्यटन बोर्ड सञ्चालक समितका तत्कालिन अध्यक्ष तथा पूर्व पर्यटन सचिव शुशील घिमिरेसहितका ११ जनाको सञ्चालक समितिबाट थप जवाफ लिएर मात्रै बोर्डको आर्थिक अनियमिताको विषयमा कारावहीको लागि निर्देशन दिन सकिने सार्वजनिक लेखा समितिका अध्यक्ष जनार्दन शर्माले बताए।

बोर्डमा आर्थिक अनियमिता गरेका निरौलाले भने सबैतिरबाट आफूलाई एकतर्फी रुपमा खेदेको आरोप लगाएका छन्।  

प्रतिवेदनको खण्ड ३.२.२ को खर्च कारोबार शीर्षकको बाह्रौं बुँदामा मादक पदार्थ के कुन प्रयोजन तथा उपभोगको लागि हो? आवश्यकता तथा औचित्य खुल्ने कुनै कागजात प्रमाण संलग्न नराखी पटक पटक खरीद गर्ने गरेका, जसको औचित्य पुष्टि हुन नसकेको उल्लेख छ ।
 
बुधबार व्यवस्थापिक संसदको सार्वजनिक लेखा समितिलाई छानविन समितिका संयोजक पूर्णचन्द्र भट्टराईले दिएको बयानमा भने, 'बोर्डले मदिरा खरिद गर्न हुन्न नै भन्ने हैन । विभिन्न पाहुनाको लागि किन्नुपर्छ । तर कुन मितिमा के प्रयोजनको लागि किनिएको हो उल्लेख नगरिएकोले समितिले आर्थिक अनियमितता भएको औँल्याएका छौँ ।'
 
तर प्रतिवेदनमा कति रकम हिनामिना भएको हो भनेर उल्लेख छैन ।
यसैगरी बोर्डमा नीतिगत भ्रष्टाचार भन्दा पनि आर्थिक विचलन भएको छानविन प्रतिवेदनले देखाएको छ । 'विनियम बनाउँदा नीतिगत विचलन भएको देखिन्छ,' संयोजक पूर्णचन्द्र भट्टराईले भने, 'संशोधित विनियम आर्थिक अनियमितताको प्रमुख कारक बनेको देखिन्छ।'
 
उनले बोर्डमा भएको स्रोत साधनको दुरुपयोगमा संलग्नहरुलाई तत्काल कानुनअनुसार कारबाही गर्न पनि सार्वजनिक लेखा समितिलाई आग्रह गरेका छन्।
 
निरौलालेले केकेमा गरे भ्रष्टाचार ?
(१)    कारोवारको लेखाङ्कनः

·         खर्च कारोवारको जनरल भौचर, खरीद भौचर र भुक्तानी भौचर गरी ३ प्रकृतिको भौचरहरुबाट कारोवार हुने गरेकोमा भुक्तानी भौचरहरु कारोवार भएकै मितिमा लेखाको काम गर्ने कर्मचारी र आर्थिक कारोवार गर्न अख्तियार प्राप्त अधिकारीले प्रमाणित गर्नु पर्नेमा भुक्तानी भौचर केहीमा पेश गर्ने एक जनाको दस्तखत भएको, केहीमा स्वीकृत गर्ने एकजनाको मात्र दस्तखत देखिएको, प्रायशः खरीद भौचर तथा जरनल भौचरमा पेश गर्ने र प्रमाणित गर्नेको दस्तखत नै नभएकोले आर्थिक कारोवार अप्रमाणित एवं अविश्वसनीय रहेको देखिन्छ ।

•   कारोबारको स्रेस्ता परिक्षण गर्दा भौचर राखिएको फायलमा क्रमागत भौचरहरु नरही विच विचमा १–२ वटा देखि ३९ वटा सम्म लगातार भौचरहरु नरहेकोले कारोवार अव्यवस्थित रुपमा राख्ने गरेको देखिँदा आर्थिक अपचलन हुने सम्भावना व्यापक रुपमा देखिन्छ भने यी भौचर नभएका कारोवारको परीक्षण र पुष्ट्याई गर्न   सकिएन ।

•      खर्च कारोवारको भौचरहरुको लेखा ट्याली अकान्टिङ सफ्टवेयरमा राख्ने गरेकोमा कतिपय कारोवार तथा भुक्तानी भएका भौचरहरु प्रविष्टि नै नदेखिएको, क्यान्सिल देखाईएको तर सो भौचरको कारोवार बैंकबाट भुक्तानी भएको तथा प्रायः आव २०७०/७१ का प्रिन्ट भौचरमा देखिएको नम्बर र ट्यालीमा प्रविष्टि भएको नम्बर फरक फरक रहेकोले स्रेस्ता तथा ट्यालीमा देखाएको प्रविष्टि विश्वसनीय नरहेको ।

•      खर्च कारोवारको भुक्तानी भौचरको रकम ५,००,०००।– भएकोमा भुक्तानी सिफारीश र बैंकबाट भुक्तानी रकम ५००० तर ट्याली अकान्टिङ सफ्टवेयरमा प्रविष्टि ५,००,०००।– नै भएको देखिँदा कारोवारको लेखांकनलाई विश्वासनीय मान्न  सकिएन ।

•      ट्याली अकान्टिङ सफ्टवेयरमा प्रविष्ट गरिएका डाटा र लेखापरिक्षण भई सकेको वित्तिय प्रतिवेदन विच तूलना गर्दा भिन्नता देखिएका । (अनुसूची–१० मा संलग्न चार्टर्ड एकाउन्टेन्टको प्रतिवेदनको अनुसूची–२)
•      ट्याली अकान्टिङ सफ्टवेयरबाट जेनेरेट भएको वित्तिय विवरण एवं लेखापरिक्षण भइ सकेको वित्तिय प्रतिवेदन भिडान गर्दा देखिएका फरक अनुसूची–१० मा संलग्न चार्टर्ड एकाउन्टेन्टको प्रतिवेदनको अनुसूची–२) मा दिइएको ।
 
(२)    खर्च पुष्ट्याई हुने पर्याप्त प्रमाण नराखिएको
•      खर्च भौचरसाथ सो खर्च पुष्ट्याई हुने रीतपूर्वकका विल भरपाई, खरिद आदेश, दाखिला प्रतिवेदन,भुक्तानी सिफारीश मेमो लगायतका कागजात संलग्न नगरी भुक्तानी दिने गरेको देखिएको ।

•      खर्च भौचरसाथ विभिन्न विक्रेताको विल भरपाई, खाजा, खानाका होटल तथा रेष्टुरेण्टका विल,टेलिफोनको विल, ट्याक्सी चढेको भनी राखेको स्लिप आदिबाट एउटै चेक नम्बर बाट रकम भुक्तानी भएको तर त्यस्तो रकम भुक्तानी सोधभर्ना माँग गरेको निवेदन समेत नराखी सीमित कर्मचारीहरुको नाममा चेक काटी भुक्तानी गरेको ।

•      होटल, रेष्टुरेण्ट, रिसोर्टको विलहरुबाट ककसले खाएको भन्ने प्रमाण नराखी, लाखौ रुपैयाँका पटके विल राखी, प्रयोजन, आवश्यकता तथा औचित्य पुष्ट्याई नहुने र खर्च गरिएको कार्यक्रमसँग सम्बन्धित खर्च भएको पुष्ट्याँई हुने प्रमाण समेत नराखी खर्च गर्ने गरिएको ।

•      बोर्डमा चियापान गराउने प्रयोजनका लागि दुधका पाकेट, चिनी, चियापत्ति, कफि आदि खरिद गरिएको भनी विक्रेताको नाम समेत नभएको विल राखी पटक पटक ६०–७० हजार प्रत्येक पटक र यस्ता खर्च पटक पटक गरिएको छ । यस्ता खरिद सामानको परिमाण खपतको तुलनामा अविश्वसनीय र शंकास्पद देखिन्छ ।

•      श्रेस्ताको फाईलमा भौचर संलग्न नभएको तर ट्याली सफ्टवेयर अनुसार आ.व. २०६८।६९ को जनरल भौचर ४८६ बाट पोखरा कार्यालयको नाममा विभिन्न खर्च शीर्षकमा खर्च जनाएको लगायतका कारोवारहरु देखिएकोमा सोसँग सम्बद्ध कुनै प्रमाणहरु पेश नभएको तथा मौखिक रुपमा जानकारी गराउँदा समेत उपलब्ध नगराएकोले थप परीक्षण हुनुपर्ने । उक्त भौचरको कारोवारको रकम रु.५९,०७,५३,१६२।९६ रहेको देखिन्छ । (अनुसूची–११ मा छ ।) 
 
(३)    स्वीकृत बजेट तथा कार्यक्रमको र खर्चको पकृति नमिलेको
•      खर्च भौचरमा संलग्न भएको कार्य र विल भरपाईहरु स्विकृत बजेट तथा कार्यक्रमसंग नमिलाई खर्च लेख्ने गरेको । कतिपय एकै प्रकृतिका तथा एकै कार्यक्रममा भएको खर्च एक पटक एक कार्यक्रममा तथा अर्कोपटक अर्कै कार्यक्रममा तथा मेमोमा सिफारीश भएको भन्दा फरक कार्यक्रमबाट खर्च गर्ने गरेको ।
 
 
(४)    सवारी साधन भाडामा लिएको
•      बोर्डमा प्रसस्त सवारी साधन रही रहेको अवस्थामा कार्यालय प्रयोजनकै लागि महँगो भाडा दरमा विना प्रतिष्पर्धा सीमित संस्थाबाट गाडी भाडामा लिई अनुचित खर्च गर्ने गरेको । यस्तो गाडी भाडामा लिने कारण तथा औचित्य नखुलाई सोझै विल भुक्तानी गर्ने गरेकोले यस्तो कारोवारमा आर्थिक अनियमितताको सम्भावना तथा आशंका रहेको देखिन्छ ।

•      विभिन्न प्रयोजनको लागि सवारी साधन भाडामा लिई कार्य गराउने गरेकोमा यस्तो भाडामा लिन प्रतिष्पर्धात्मक प्रक्रियाद्वारा एक आर्थिक वर्ष भरीका लागि नलिई पटके रुपमा लिने गरेको ।
 

 
(५)    ईन्धन खर्च
•      विभिन्न सवारी साधनका लागि गरिएको ईन्धन खर्चमा सवारी साधनमा प्रयोग गरिएको खर्चको लगबुक राख्ने नगरेकोले ईन्धन खरिदको खर्च पुष्ट्याई हुन नसकेको ।
 
(६)    मर्मत सम्भार खर्च
•      सवारी साधन, कम्प्युटर तथा प्रिन्टर, भवन आदि मर्मत गरेको भनी भुक्तानी गर्दा मर्मत गर्नु पर्ने आवश्यकता, कुन सामान मर्मत गर्ने हो सो नखुलाई, मर्मतको लागत अनुमान नबनाई, सवारी साधनको मर्मतमा मर्मत गरेको लगत समेत नराखी, कतिपय सामान खरिद तथा दाखिला हुनु पर्नेमा सो समेत नगरी  विक्रेता वा मर्मतकर्ता फर्मको ठाडो विल राखी भुक्तानी गर्ने गरेको ।

•      मर्मत सम्भारको खर्चको विलमा खरिद गरिएका पोर्टेबल हार्ड ड्राइभ, प्रिन्टर पंखा, टेलिफोन सेट जस्ता जिन्सी दाखिला गर्नु पर्ने सामान समेत मर्मतबाट सोझै खरिद भएकोले खर्च दुरुपयोग तथा हिनामिना भएको देखिएको ।
 
(७)    पुस्तक खरिद
•      विभिन्न फरक फरक विक्रेताबाट लगातार ६ भौचरबाट करीब रु १,८२,३८६।– को विभिन्न पुस्तक खरिद गरेको तर त्यस्ता पुस्तक खरिद गर्ने आदेश तथा बोर्डमा दाखिला भएको प्रमाण नरहेको, ती खरिद पुस्तक कार्यलय प्रयोजनमा रहे नरहेको यकीन हुन नसकेको ।
 
(८)    खर्च आदेश तथा भुक्तानी सिफारीश भन्दा पहिले नै खर्च लेखेको     
•      भुक्तानी गर्ने आदेशको भौचर मिति भन्दा अगाडी (अनुसूची–२५) नै, कतिपय त ३ ४ महिना अघिनै चेक काटि भुक्तानी भैसकेको चेकको फोटोकपी राखी भुक्तानी भौचर बनाएकोले आर्थिक कारोवार संस्थागत विधि र प्रक्रिया विपरीत आफुखुशी गर्ने गरेको ।

•      भुक्तानी सिफारीश गरी सम्बन्धित महाशाखाबाट प्राप्त भएको पेमेन्ट मेमोको मिति भन्दा पहिले नै भुक्तानी गरिएको देखिएकोले कारोवारमा अनियमितता देखिन आएको ।
 
(९)    तलब भत्ता भुक्तानीका भौचर एवं तलवी भरपाई नपाईएको
•      तीनवटै आर्थिक वर्षको भौचर परीक्षण गर्दा अपवाद वाहेक कुनै पनि तलव भत्ता खर्चको भौचर तथा तलबी भरपाई फायलमा संलग्न नपाईएको ।
 
(१०)   आर्थिक सहायता वितरण 
•      विभिन्न संघसस्था तथा राजनीतिक पार्टीका भातृसंगठनलाई पर्यटकीय तथा गैर पर्यटकीय समेतका कृयाकलाप/कार्यक्रममा सहभागिताका नाममा सोझै, कतिपयमा निर्णय समेत नगरी निवेदन अनुसार नै आर्थिक सहायता वितरण गर्ने गरेको पाइएको, यस्तो आर्थिक सहायता रु ५ लाख सम्म देखिन्छ । यसरी आर्थिक सहायता वितरण गर्दा कुनै मापदण्ड र आधार नबनाई कार्यकारी प्रमुखको स्वेच्छाचारितापूर्वक वितरण गरेको पाईएको,

•      आर्थिक सहायता वितरणमा माँग गर्ने संस्थाले माँग गरेको भन्दा बढी रकम समेत सहायता वितरण गरेको समेत देखिन्छ । उदाहरणका लागि आ.व. २०६९।०७० को भुक्तानी भौचर १२३ बाट रु ९०००।– माग गरेकोमा रु १००००।– आर्थिक सहायता दिएको ।
 
(११)   शंकास्पद विलको भुक्तानी
•      भुक्तानी भौचरमा संलग्न विलहरु रंगिन प्रिन्ट कागजमा कम्प्युटरबाट प्रिन्ट गरी दुईवटा टुक्रामा च्याति वेसाईजमा राखिएको, (जस्तै भुक्तानी भौचर २०३ मिति २०१२।१०।८, १०४१ मिति २०१३१।२७। १०६७ मिति २०१३।१।२८, ११३० मिति २०१३।२।३ मा माहुरी नेपाल जनरल सप्लायर्स को भुक्तानी) तथा फोटोकपी विलबाट समेत भुक्तानी गरिएकोले यस्ता विलहरुको भुक्तानी शंकास्पद देखिन्छ ।

•      ४०–५० हजार सम्मका विभिन्न खरिद विलहरु विक्रेताको नाम नभएका, विलमा विक्रेताको नाम रहने माथिल्लो भाग च्याति राखिएका विलहरुको निरन्तर भुक्तानी दिने गरेको कारोवार तथा भुक्तानी वास्तविक मान्न सकिने नदेखिएको । (उदाहरणका लागि आ.व. २०७०।७१ को भुक्तानी भौचर नं. ८५९)
 
(१२)   मादक पदार्थ खरीद
•      विभिन्न मितिमा ह्विस्की, वाईन जस्ता मादक पदार्थ खरिद गरिएको तर ती मादक पदार्थ के कुन प्रयोजन तथा उपभोगको लागि हो? आवश्यकता तथा औचित्य खुल्ने कुनै कागजात प्रमाण संलग्न नराखी पटक पटक खरीद गर्ने गरेका, जसको औचित्य पुष्टि हुन नसकेको ।
 
(१३)   गुणस्तर नभएको खरिदको भुक्तानी
•      सम्झौता अनुसारको गुणस्तर नभएको भनी बोर्डकै पत्र संलग्न राखीएको र घटी रकमको भुक्तानी सिफारीश मेमो भए पनि पुरै रकम भुक्तानी दिने गरेको देखिएकोले भुक्तानी दिने जिम्मेवारी भएका पदाधिकारी आर्थिक कारोवारमा हदैसम्मको गैरजिम्मेवार देखिएको ।(आ.व. २०६८।०६९ खरिद भौचर नं. ९९)
 
(१४)   फरक फरक दरमा खरिद गरेको
•      एउटै भौचरबाट एउटै कम्पनीको विलमा प्रतिजार खानेपानी खरिदमा ८२।३०, ९२।९२ र  ११२।६२ सम्मको दर देखिएको र अन्य कम्पनीबाट खरिद दर प्रति जार रु ६५।– सम्म रहेको यस्तो खरिदमा आर्थिक हिनामिना भएको देखिन्छ ।
 
(१५)   वेबपेज डिजाइनको नाममा खर्च
•      वेबपेज डिजाइनको नाममा पटक पटक विना प्रतिष्पर्धा प्रचलित बजार दरभन्दा बढी दरमा सीमित फर्महरुलाई मात्र काम गराएकोले यस्तो कारोवारमा आर्थिक अनियमितता तथा मिलेमतो भएको अवस्था देखिन्छ । (२०६८।०६९ खरिद भौचर १२१, ४२४)
 
(१६)   अस्वभाविक दरमा काम गराएको
•      विना प्रतिष्पर्धा रु.५०० प्रति पाना एडिटिङ खर्च, पेज डिजाईन प्रतिपेज ४००।–, मेला स्टलको कम्प्युटर डिजाईन प्रतिगोटा रु ४०००।– दरले अस्वभाविक देखिएको । (आ.व. २०६८।०६९ खरिद भौचर १४४,२०६९।०७० भुक्तानी भौचर नं.२४६९)
 
(१७)   फाम टुरको नाममा खर्च
•      फाम टुर कार्यक्रम अन्र्तगत विभिन्न विदेशी पाहुनाहरु तथा स्वदेशका पत्रकार लगायतका व्यक्तिलाई भ्रमण गराएको भनी गरिएको खर्चमा कस कसलाई बोर्डले भ्रमण खर्च व्यहोर्ने गरी भ्रमण गराउनु पर्ने हो आवश्यकता, औचित्य समेत नखुलाई को कसलाई भ्रमण गराएको विवरण समेत संलग्न नरहेको,

•      पर्यटनसँग असम्बन्धित कार्य (वैदेशिक रोजगार सम्बन्धी अध्ययन आ.व.२०६९।०७० भुक्तानी भौचर नं.२३२३) समेत देखाई होटल तथा गाडी भाडा भुक्तानी गरेकोले यस्तो खर्च अनियमित,अव्यवस्थित तथा पुष्ट्याई हुन नसक्ने देखिन्छ ।
 
(१८)   चेक काटी रकम झिकिएको
नेपाल पर्यटन बोर्ड आर्थिक विनियम तथा कार्यविधि २०७० को परिच्छेद ४ विनियम ८ मा बोर्डबाट हुने २५ हजार भन्दा बढीको कुनै पनि भुक्तानी एकाउट पेयी चेकबाट गरिने उल्लेख छ । तर बोर्डको कार्यालय सहयोगी कर्मचारी झमक (राजेन्द्र) घिमिरे लगायतका बोर्डका कर्मचारीको नाममा ठूलो रकमको चेक काटी रकम झिकिएको देखिन्छ ।

 
(१९)   पेश्की दिने तथा फछ्यौट गर्ने पद्धति
 
•      रु ५ लाख सम्मको सामान खरिद गर्ने कार्यका लागि कार्यालय सहयोगी तहको कर्मचारीलाई  पेश्कि दिने गरेको, जस्तो राजेन्द्र घिमिरेको माँग निवेदन तर झमक नारायण घिमिरेको नाममा गार्डेन हिटर खरिद गर्न एक पटक ३,२०,०००।– र अर्को पटक ५,००,०००।– दिएको देखिएको,

•      बोर्डको आर्थिक विनियमावली २०५५ को विनियम ६.२.२ अनुसार पेटी क्यासका लागि रु २०,०००।– को सीमा रहेकोमा एकैदिनको मितिमा ४ वटा सम्म निवेदन तथा दैनिक निवेदनबाट पटक पटक पेश्कि झिक्ने गरेको (प्रायशः कुन्दन शर्माको नाममा) ले यस्तो पेश्किबाट भएको कारोवार विश्वसनीय नरहेको,

•      विभिन्न कर्मचारीहरुले तलब पेश्की, कर्मचारी सापटी, कार्यक्रम पेश्की लगायतका विभिन्न शीर्षकमा पेश्कि लिने गरेको तर आ.व. को अन्त्यसम्ममा पनि ठूलो रकम निज कर्मचारीहरुको पेश्कि खातामा रही रहेकोले आर्थिक कारोवार अनियमित तथा विचलनपूर्ण रहेको  देखिन्छ । यस्तो पेश्की वक्यौता हिसाबमा आ.व.२०६९।०७० को अन्त्यमा बाँकी देखिएको रकमको विवरण अनुसूचीमा राखिएको छ । त्यस मध्ये रु २५ लाख भन्दा बढी पेश्की बाँकी देखिएको रकमको विवरण अनुसूची–१३ मा संलग्न रहेको ।
 
(२०)   भ्रमण खर्च सम्बन्धि कारोवारः
•      आन्तरिक भ्रमण तथा प्रत्येक कर्मचारीलाई भ्रमण पेश्कि दिँदा तथा फाम टुरको लागि छानिएका व्यक्तिहरुलाई समेत विविध खर्चका नाममा एकमुष्ट तथा विल पेश गर्नु नपर्ने गरी ७५ हजार सम्म थप रकम दिने गरेको, यस्तो रकमबाट दैनिक सवारी साधन भाडामा लिएको विल राखी वा नराखी तथा विभिन्न होटल तथा रेष्टुरेण्टकको विल राखी भुक्तानी लिएको तर यस्तो अतिरिक्त रकम लिन पाउने आधार तथा औचित्य नदेखिएकोले यस्ता अनियमित भुक्तानीहरु असुल गर्नु पर्ने । उदाहरणका लागि आ.व. २०६८।०६९ को भुक्तानी भौचर १०७ बाट दिपकराज जोशीलाई ७५ हजार विविध खर्च स्विकृत भएको देखिएको ।

•      बोर्डका कर्मचारीहरुलाई प्रत्येक वर्ष एक पटक १० दिन सम्मको आन्तरिक पर्यटन भ्रमणमा जान पाउने सुविधा दिएकोमा यस्तो भ्रमणमा समेत विविध खर्चका नाममा दैनिक रुपमा जीप भाडामा लिई भ्रमण गरेको भनी दैनिक रु ५,०००।– का दरले ३५,०००।– सम्म भुक्तानी लिएको तर यस्तो सुविधा पाउने व्यवस्था नदेखिएको ।

•      वाह्य भ्रमणमा जाने पदाधिकारी तथा कर्मचारीहरुले प्रायशः भ्रमणमा विविध खर्चका लागि स्थानीय यातायातका लागि १५०।– र भैपरी खर्चका लागि २००।– देखि ५०००।– अमेरीकी डलरसम्म लिने गरेको तर यति ठूलो रकम विना विल भरपाई दिने व्यवस्था आर्थिक विनियम तथा कार्यविधिहरु २०५५ मा नदेखिएको, प्रशासन जसमेत नदेखिएको तथा औचित्यपूण समेत नरहेको । यस्तो विविध खर्च प्राय सबै पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणमा दिने गरेको पाईन्छ । सामान्यतया समूह भ्रमणमा विविध खर्च टोली नेता एक लाई दिनु पर्नेमा प्रयोजन नखुलाई एकैपटकको भ्रमणमा एक भन्दा बढी पदाधिकारी अध्यक्षलाई ३५००।– र कार्यकारी निर्देशकलाई ४५००।– अमेरीकी डलर भुक्तानी भएको उदाहरण समेत देखिन्छ ।
 
(२१)   मुल्य अभिबृद्धि कर
•      कतिपय विक्रेताहरुको कर विजक हेर्दा अधिकांश कारोवार बोर्डसंगमात्र हुने गरेको क्रमागत विलबाट देखिन्छ । कर विजकमा क्रेताको दर्ता नं. उल्लेख नहुने, एक आर्थिक वर्षमा क्रमागत विल विजक जारी हुनेमा उही फर्मको विल नं. पुनः १२ नं. बाट सोही आर्थिक वर्षको अन्त्य (२०६९।३।२८)मा प्राप्त हुने (खरिद भौचर नं.५९६), तथा एकै फर्मको फरक फरक प्रकृति तथा ढाँचाको विजक समेत पाईएको, आर्थिक वर्षको १० औ महिनामा ११ नं. को कर विजक जारी भएको (आ.व. २०६८।०६९ खरिद भौचर ४२५), विक्रेताको कर दर्ता नं केरमेट गरेको (आ.व. २०६९।०७० को भुक्तानी भौचर नं.२३१९) लगायतका शंकास्पद विल देखिएकोले विक्रेताको कारोवार समेत परीक्षण गरी यकिन गर्नु पर्ने देखिन आएको ।

(२२)   बोर्डको श्रेस्ताको वैक खाता (लेजर) र बैङ्क स्टेटमेन्ट नभिडेकोः
•      नेपाल पर्यटन बोर्डको श्रेस्ताको वैक खाता (लेजर) र बैङ्क स्टेटमेन्ट अनुसार एकै चेकबाट  भएको भुक्तानी रकम फरक परेको पाइयो । प्रारम्भिक भिडानमा यस्तो चेक संख्या २३४ भन्दा बढी देखिएको छ (अनुसूची–४) । कुनै भौचरमा उल्लेख भएको भन्दा बढी र कुनै भौचरमा उल्लेख भएको भन्दा बढी रकम र चेकबाट भुक्तानी भएको देखिएको छ ।