तिहारमा उपभोक्तालाई आयल निगमको उपहार, फेरि घट्दै पेट्रोलियम पदार्थको मूल्य, शुक्रबारबाट लागू

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014
तिहारमा उपभोक्तालाई आयल निगमको उपहार, फेरि घट्दै पेट्रोलियम पदार्थको मूल्य,  शुक्रबारबाट लागू
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति वा शुक्रबार विहानबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । आयल निगमले बिहीबार भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाउन लागेको हो ।

Tata
GBIME
Nepal Life

भारतले मंगलबार रातिबाट नै लागु हुनेगरी पेट्रोलको मूल्य १ रुपैयाँ भारुले घटाएको थियो । भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागु हुनेगरी थप एक रुपैयाँ घटाएको छ । भारतमा दुई पटक गरी पेट्रोलमा झण्डै साढे दुई नेपाली रुपैयाँ मूल्य घटाइएको छ ।

यस्तै तिहारअघि नै डिजेलमा पनि मूल्य घट्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतले पाँच वर्षपछि डिजेलको मूल्य समायोजन गर्न लागेको हो ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालमा पनि मूल्य घट्ने निश्चित भएपनि यसको औपचारिक निर्णय हुन भने बाँकी नै छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले विहीबार दिउँसो भारतबाट नयाँ मूल्य प्राप्त हुने र विहीबार राति वा शुक्रबारबाट लागु हुनेगरी नयाँ मूल्य तोकिने जानकारी दिए ।

'हामीलाई आज (विहीबार) दिउँसो नयाँ मूल्य प्राप्त हुन्छ विहीबार राति वा शुक्रबारबाट नयाँ मूल्य कार्यान्वयन हुन्छ,' आयल निगमका प्रवक्ता घिमिरेले भने, 'आयल निगम सञ्चालक समितिको बैठकले मूल्य के कति घटबढ गर्ने भन्ने निर्णय गर्छ, त्यसपछि मात्रै नयाँ मूल्य कार्यान्वयन हुन्छ ।'

घिमिरेले विहीबार सञ्चालक समिति बैठक बसे विहीबारबाटै र नभ्याए शुक्रबार बैठक बसेर शुक्रबारबाट नै नयाँ मूल्य कार्यान्वयन गर्ने जानकारी दिए ।

निगमले अघिल्लो पटक अर्थात अक्टोबर १ मा नयाँ मूल्य प्राप्त भएपनि मूल्य हेरफेर गरेको थिएन ।

'अघिल्लो पटक नयाँ मूल्य आउँदा लामो बिदा परेको थियो,' घिमिरेले भने,'एक हप्तामा नयाँ मूल्य आइहाल्छ भनेर परिवर्तन गरिएन, यो पटक भने परिवर्तन हुन्छ ।'

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४७ महिनाकै न्यून भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८४ डलर प्रति ब्यारेल थियो ।

आयलन निगमले अटोमेशनमा जाने निर्णय गरेसँगै हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर गर्ने निर्णय यस अघि नै गरेको थियो । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा घट्ने र बढ्दा बढ्ने गरी अटोमेशन प्रणाली कार्यान्वयन गरेको थियो ।

आयल निगमलाई अहिले मासिक २६ करोड १४ लाख रुपैयाँ खुद नाफा छ । निगमले अहिले पेट्रोल एकसय ३३ रुपैयाँ ६ पैसा प्रतिलिटरमा बेचिरहेको छ । यस्तै डिजेल र मट्टितेल एकसय पाँच रुपैयाँ २३ पैसामा बेचिरहेको छ ।

यस्तै हवाइ इन्धन आन्तरिकतर्फको मूल्य एकसय ४३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ एकसय ३५ रुपैयाँ ७७ पैसा छ । निगमले खाना पकाउने ग्यास प्रति सिलिन्डर १४ सय ७० रुपैयाँमा बेच्दै आएको छ ।

निगमलाई अहिले ग्यासमा बाहेक अरु सबै वस्तुमा नाफा छ । निगमले ग्यासमा प्रति सिलिन्डर पाँचयस ११ रुपैयाँ २८ पैसा नोक्सान ब्यहोर्दै आएको छ ।

निगमलाई पेट्रोलमा १२ रुपैयाँ, डिजेलमा तीनरुपैयाँ १९ पैसा, मट्टितेलमा १६ रुपैयाँ १९ पैसा, हवाइन्धन आन्तरिकमा ४१ रुपैयाँ ५८ पैसा र अन्तर्राष्ट्रितर्फ ५२ रुपैयाँ ९६ पैसा प्रति लिटर नाफा छ ।